कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पातलिँदै लेकाली बस्ती

कान्तिपुर संवाददाता

मुगु — सुकवीर कामीको परिवारले पुर्ख्यौली थलो सोरु गाउँपालिका–६ सीप छाडेको दुई वर्ष भयो । गमगढी–रारा गिलाहा–तारापानी सडक खुलेपछि उनको परिवार बेसी झरेको हो । कच्चेचौरमा उनले चियानास्ता पसल सञ्चालन गरेका छन् । सीपकै कन्नवीर विष्टको परिवारले पनि गाउँ छाडेको पनि वर्षदिन भयो । उनको पनि सडक नजिकै किराना पसल छ ।

सडक खुलेपछि उनीहरू मात्र होइन, गाउँमा दुई दर्जन बढी परिवार कच्चेचौरमा झरिसकेका छन् । अन्य परिवारले पनि गाउँ छाड्ने क्रम बढिरहेको छ । लेकाली बस्तीका स्थानीय परिवारसहित कच्चेचौरमा झरेपछि विभिन्न व्यापार व्यवसाय गर्ने क्रम बढिरहेको हो । सडक आसपासका क्षेत्रमा पसल, होटेल, कुखुरापालन फार्म र डेरी खुल्ने क्रम बढेको छ ।


कच्चे गाउँकी हाजिरा कार्कीले अन्नबाली उत्पादन घट्दै गएपछि दुई दर्जन परिवारले सजिलो बसोबासका लागि बस्ती छाड्दै गएको बताइन् । गमगढीदेखि सोरुसम्मको सडक खुलेपछि सडक आसपासका क्षेत्रमा व्यवसाय गर्ने क्रम बढेको छ । सुविधा खोज्दै अन्य गाउँबाट बेंसी झर्ने क्रम बढिरहेको उनले सुनाइन् । ‘गाउँमा न खानेपानी न त सिंचाइको सुविधा । अभावमा मान्छे कहिलेसम्म बस्थे,’ उनले भनिन्, ‘आकासेपानीको भरमा खेती गर्दा एक बाली मात्र लाग्छ । त्यसले वर्षभरि खान नपुग्दा बेंसी नझरे बाँच्न सकिँदैन ।’ सडक नजिकै उनको पनि चियानास्ता पसल छ । एक वर्षअघि थालेको व्यवसायबाट राम्रो आम्दानी भएको उनले सुनाइन् । ‘कच्चेमा मात्रै एक दर्जन होटेल खुलिसके,’ उनी भन्छिन्, ‘धेरैजसो परिवार लेकबाट झरेकाहरू छन् ।’


सीप गाउँका कन्नवीर बिष्टले सडक नजिकै कुखुरापालन सुरु गरेका छन् । सीप, बुम्च र रुमलगायत गाउँका बासिन्दा गिलाहा र तारापानी झर्ने क्रम बढिरहेको उनले बताए । ‘सडक पुगेपछि गमगढीकै मोलमा सामान पाइन थालेको छ, स्थानीयले रोजगारी पाइरहेका छन्,’ उनले भने, ‘व्यापार र कारोबार बढ्दै गएको छ ।’ सडक सुविधा नहुँदा सामान किन्न गमगढी नै जानुपर्ने बाध्यता थियो । ‘जहाँ आम्दानी हुन्छ, खानबस्न सुबिस्ता हुन्छ मान्छे जाने त्यतै हो,’ उनले भने, ‘लेकबाट झर्नेको लर्को छ हिजोआज ।’


गिलाहाका जनकबहादुर बमले सडकका कारण टुक्रे बजार फस्टाइरहेको बताए । उनले सडकमा दैनिक दुई दर्जन सार्वजनिक र निजी सवारी साधन सञ्चालन भइरहेको जानकारी दिए । सडक किनारामा जग्गाको मूल्य अकासिएको उनी बताउँछन् । ‘लेकाली बस्तीबाट बेंसी आई जग्गा खरिद गर्ने र घरटहरा बनाउने प्रतिस्पर्धा चलिरहेको छ,’ उनी भन्छन्, ‘सबैलाई सुविधा चाहिएको छ, आफ्नै उत्पादनले तीन महिना पनि नपुग्ने लेकाली बस्तीमा को बस्ने ?’


सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले सडक पुगेपछि सडक छेउछाउमा आर्थिक कारोबार बढिरहेको बताए । उनका अनुसार गाउँपालिकाको केन्द्र सोरुकोटमा सडक सुविधा पुगेपछि चहलपहल बढ्दै गएको छ ।

प्रकाशित : कार्तिक २४, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?