२७ कृषि सडक बन्दै

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — चालु आर्थिक वर्षमा जिल्लामा २७ कृषि सडक बन्ने भएका छन् । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यहाँका ६ स्थानीय तहमा २७ वटा कृषि सडक बनाउने भएको हो ।

कृषि उपजको बजारीकरण तथा गाउँलाई बजारसँग जोड्ने उद्देश्यले कृषि सडक निर्माण योजना अघि सारिएको हो । चालु आर्थिक वर्षमा आठबीसकोटमा पाँच, मुसीकोटमा एक, चौरजहारीमा पाँच, सानीभेरीमा ११, त्रिवेणीमा तीन र बाँफिकोट गाउँपालिकामा दुई कृषि सडकका योजना छन् । ग्रामीण कृषि सडक निर्माण तथा मर्मत सम्भारको लागि कृषि विकास कार्यालयले सूचना प्रकाशित गरिसकेको छ । कृषि सडक निर्माणको लागि ४ करोड ४५ लाख बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।


सडकका लागि आठबीसकोटमा १ करोड १५ लाख, मुसीकोटमा १० लाख, चौरजहारीमा ७० लाख, सानीभेरीमा एक करोड ८० लाख तथा त्रिवेणी र बाँफिकोटमा ३५/३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि विकास कार्यालयका निमित्त प्रमुख राजेश साहका अनुसार ग्रामीण कृषि सडक निर्माणपश्चात् दर्जनौं कृषि गाउँ बजारसँग जोडिनेछन् । सडक निर्माणको जिम्मा श्रम सहकारी र कृषि समूहलाई दिइने छ । सडक निर्माणमा सम्बन्धित क्षेत्रका लाभग्राहीले १० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान राखिएको जानकारी उनले दिए । ‘यो योजनाअनुसार सडक निर्माण हुँदै गएपछि किसानका उत्पादन बजारसँग जोड्न सजिलो हुन्छ,’ उनले भने, ‘एकैपटक सबै योजना पुरा हुन सजिलो छैन तर सुरुवात भएको मान्न सकिन्छ ।’


कर्णाली प्रदेश सरकार गठन भएपछि कृषि सडक निर्माणको अवधारणा ल्याइएको थियो । गत आर्थिक वर्ष पनि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत २९ कृषि सडक निर्माणको योजना अघि बढाइएको थियो । गत वर्ष सडक निर्माणमा ४ करोड ८० लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अधिकांश सडक निर्माण सम्पन्न भइसके पनि केही योजना क्रमागत हुन् । कृषि र किसानलाई बजारसँग जोड्नका लागि सडक निर्माणको अवधारणा आएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।


प्रकाशित : कार्तिक २४, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?