विवाह गर्न नागरिकता अनिवार्य

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — जिल्लामा विवाहका लागि जन्म दर्ता र नागरिकताको प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ । विवाह गर्ने बर बधुको जन्मदर्ता र नागरिकताको प्रमाण पत्रको भएपछि मात्रै वैबाहिक कार्यक्रम अघि बढाइने निर्णय गरिएको हो ।

वैबाहिक बन्धनमा बाँधिने जोडीले कुनै सरकारी कार्यालय वा अन्य निकायमा जन्म दर्ताको प्रमाणपत्र र नागरिकता पेस गर्नुपर्ने भने होइन । विवाहमा संलग्न पण्डितलाई उक्त प्रमाणपत्र देखाउनुपर्ने निर्णय गरिएको छ । पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएपछि पण्डितहरू उमेर नपुगेका केटाकेटीको विवाह नगराउन सहमत भएका हुन् ।

‘बहुविवाहको समस्या विकराल बन्यो त्यसैले हामीले पनि विवाह गराउनुपूर्व केही न केही सामाजिक उत्तरदायित्व निर्वाह गरौं भनेर यस्तो निर्णय गरेका हौं,’ मुसीकोट नगरपालिका ३, का पुरोहित रामप्रसाद गौतमले भने, ‘अब हामी उमेर नपुगेका केटाकेटीको विवाह नगर्ने निर्णयमा पुगेका छौं ।’ स्थानीय सरकार, महिला समूह, बाल क्लब, विद्यार्थीका साथसाथै बाल विवाह न्यूनीकरणमा आफूहरू पनि लाग्ने गौतमको भनाइ छ । ‘बालविवाह न्यूनीकरणको अभियानमा अब हामीपनि एकबद्ध भएका छौं,’ उनले भने, ‘उमेर नपुगेको बिहेबारी हामीले पनि बहिष्कार गर्ने निर्णय गरेका हौं ।’

बालविवाहको समस्या बढ्दै गएपछि जिल्ला प्रहरीले विवाह गराउने पण्डितसाग बालविवाह न्यूनीकरणका उपायका विषयमा छलफल गरेको थियो । छलफलमा सहभागी पण्डितले उमेर नपुगेको विवाह नगराउने र उमेर पुगेकै विवाह गर्नलाई बर–बधुको जन्मदर्ता र नागरिकता हेर्ने निर्णय भएको अर्का पण्डित झक्कुप्रसाद उपाध्यायले बताए । ‘हामी यसरी पनि सहयोग गर्न सक्छौं भनेर हामीले प्रहरीलाई भन्यौं,’ उपध्यायले भने, ‘हामीहरूले यति गर्दा बालविवाह न्युनीकरण हुन्छ भने किन अभियान नथाल्ने ?’

उमेर नपुगेको विवाह गराउने पुरोहित, लमी, अभिभावकलाई तीन वर्षसम्म कैद र ३३ हजार नगद जरीवानाको व्यवस्था छ । अभिभावकपछि बाल विवाह गराउने महत्त्वपूर्ण पात्र पण्डित भएकाले बालविवाह न्यूनीकरणमा पण्डितको सहयोग लिनेगरी छलफल गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खड्काले बताए । ‘उहााहरू बालविवाह न्यूनीकरणको अभियानमा सकारात्मक हुनुहन्छ,’ डीएसपी खड्काले भने, ‘पण्डितले समेत उमेर पुगे/नपुगेको खोजेपछि बालविवाह न्यूनीकरण हुने विश्वास लिएका छौं ।’ बालविवाह न्यूनीकरण अभियान जिल्लाभर सञ्चालन गरिरहेको उनको भनाइ छ ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:४५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डायलसिस गर्न रकम जुटेन

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — वीरेन्द्रनगर नगरपालिका ८, इत्रामका पर्वत पन्तको दुबै मिर्गौला काम नगर्ने भएपछि घरमै थलिएर बसेका छन् । थप उपचारका लागि परिवारले खर्च जुटाउन नसक्दा २५ वर्षीया पन्त पीडामा छन् । 

आर्थिक स्थिति निकै कमजोर भएका कारण परिवारले उनको मिर्गौला डायलाइसिस र प्रत्यारोपणका लागि रकम जुटाउन सकेको छैन । गत भदौमा सामान्य समस्या देखिएको ठानेर वीरेन्द्रनगरस्थित देउती नर्सिङ होममा उनलाई जचाउन लगियो । तर त्यहाँ उपचार नै सम्भव नभएपछि पन्तलाई उनको परिवारले काठमाडौस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पुर्‍याए । करिब दुई हप्तापछि मात्रै उनको दुबै मिर्गौला फेल भएको थाहा पाएपछि अस्पतालले डायलासिस गर्न सुझाव दिँदै गत असोज १९ गते डिस्चार्ज गरिदियो ।

‘सबै जाँच गर्दा डेढ लाख बढी खर्च भयो,’ आमा कालिरा पन्तले भनिन्, ‘रोग पत्ता लागेपछि डिस्चार्ज गरिदिए, अब उपचार गर्ने पैसा छैन त्यही भएर घरमै ल्याएर राखेका छौँ ।’ मिर्गौलापीडित पन्तका बाबु जल तथा मौसम विज्ञान कार्यालयमा कार्यालय सहयोगीका रुपमा काम गर्छन् । परिवारमा अन्य कुनै आम्दानीको स्रोत छैन ।

‘अलि अलि भएको पैसा जति सक्किसक्यो,’ कालिसराले भनिन्, ‘अब उपचार गर्ने पैसा छैन, छोरालाई मृत्युको मुखमा पुगेको टुलुटुलु हेरेर बस्नुपरेको छ ।’ उपचार खर्चका लागि हात माग्ने ठाउँ पनि कतै नभएको भन्दै आमा कालिसराले अब मृत्यु कुर्नुको विकल्प आफ्ना छोराका लागि अरु केही नभएको गुनासो गरिन् ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT