३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रारामा आगन्तुक चरा

कान्तिपुर संवाददाता

मुगु — चिसो कटाउन युरोप, तिब्बत र भारतका विभिन्न ठाउँबाट चरा रारा भित्रने क्रम सुरु भएको छ । आगन्तुक चरा रारा आउन थालेसँगै पर्यटकीय गतिविधि पनि बढ्दै गएका छन् ।

रारामा आगन्तुक चरा

युरोप र एसिया महादेशका विभिन्न देशबाट जाडो छल्न बर्सेनि चरा रारा आउने गरेका छन् । कात्तिक सुरु भएदेखि नै चरा आउन थालेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । सिमसार क्षेत्रमा पाइने करिब ४९ प्रजातिका चरा बर्सेनि रारा आउँछन् । सबैभन्दा बढी भारत, तिब्बत र युरोपका विभिन्न तालमा बस्दै आएका चरा यहाँ आउने गरेको उनले बताए । ‘चिसो मौसममा पनि राराको पानी तातो हुने भएकाले आगन्तुक चराको आकर्षण छ,’ उनले भने, ‘जाडो मौसम सकिएसँगै सबै चरा आफ्नै बासस्थान फर्कन्छन् ।’


पश्चिमी मुलुकबाट आएका चरा करिब पाँच महिनासम्म रारा क्षेत्रमा बस्ने गरेका छन् । अहिले रारा चरामय बनेको भण्डारीको भनाइ छ । तालदेखि जंगल क्षेत्रसम्म विदेशी चरा देख्न सकिन्छ । रारामा तीन सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् । आगन्तुक चरा रारा र आसपासका गाउँसम्म पुग्ने गरेको मुर्मा गाउँका धनसिंह रोकायाले बताए । उच्च हिमाली क्षेत्रबाट जाडो छल्न कस्तूरी, मृग, रेडपान्डा, भालु, रतुवालगायत वन्यजन्तुसमेत रारा आउने गरेका छन् । आगामी पुसदेखि चराको गणना गर्न लागिएको निकुञ्जले जानकारी दिएको छ ।


रेडपान्डाको बासस्थान बन्दै

रारा क्षेत्र रेडपान्डाको आकर्षणको केन्द्र बन्दै गएको रारा राष्ट्रिय निकुञ्जले बताएको छ । जाडो छल्न उच्च हिमाली क्षेत्रबाट रारा आएका रेडपान्डा यतै बस्ने गरेका छन् । औपचारिक गणना हुन नसके पनि रारा आसपासको क्षेत्र रेडपान्डाको बासस्थान बन्न थालेको संरक्षण अधिकृत भण्डारीले जानकारी दिए । भौगोलिक एवं वातावरणीय दृष्टिले रेडपान्डाका निम्ति रारा उपयुक्त मानिएको अनुसन्धानले देखाएको छ । मुर्माटप, चुचुमारे, रुमखोला माझघट्टलगायत निकुञ्ज क्षेत्रमा रेडपान्डा बस्ने गरेको उनी बताउँछन् ।


प्रकाशित : कार्तिक २३, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?