‘जेलमा सित्तैमा खान पाइन्छ’ भन्दै चोरी

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — मुसीकोट नगरपालिका २, का २० वर्षीय राजु परियारले जेलमा सित्तैमा खान पाइन्छ भन्दै चोरीमा संलग्न भएको पाइएको छ । प्रहरी अनुसन्धानबाट यो तथ्य खुलेको हो । अहिले उनी प्रहरी हिरासतमै छन् । उनीविरुद्ध प्रहरीले चोरी डाँका मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ । 

कात्तिक १८ गते पक्राउ गरेका उनीमाथि पसल फोडेर नगद तथा मोबाइल र त्यससम्बन्धी सामग्री चोरीको आरोप छ । उनलाई कात्तिक १६ गते राति मुसीकोट नगरपालिका १, त्रिवेणी चोकमा रहेको एक मोबाइल पसल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि उनले यही मुद्दामा जेल सजाय भुक्तान गरिसकेका थिए । २०७३ कात्तिक २३ गते खलंगाको एउटा कोठामा चोरी गरेको आरोपमा पक्राउ परेका उनी अभियोग पुष्टि भई ३ वर्ष जेल सजाय भुक्तान गरी भर्खरै बाहिर निस्किएका हुन् । जेल सजाय भुक्तान गरी निस्कनेबित्तिकै उनी फेरि उही मुद्दामा समातिएका छन् । एउटै मुद्दामा दुईपटक समातिएपछि उनी नि:शुल्क खान र बस्नकै लागि चोरी गरेको तथ्य प्रहरीले फेला पारेको हो ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सौर्य ऊर्जाबाट खानेपानी

‘खानेपानी समस्याकै कारण बिहानको खाना कहिल्यै समयमा पाकेन, बालबालिका बासी खाएर विद्यालय जान बाध्य थिए’
विप्लव महर्जन

(सल्यान) — बन्गाडकुपिण्डे नगरपालिका १२, निगालचुलास्थित चौरकी ४५ वर्षीया विमला पुनलाई यसअघि डेढ घण्टा तलको खानेपानी मुहानमा गइ पानी ल्याउनुपर्ने बाध्यता थियो । गाउँ नजिकैको मुहान सुकेपछि डेढ दशकदेखि उनले सास्ती भोग्दै आइरहेकी थिइन् । पानीको दु:खका कारण उनकै छिमेकी निर्मला घर्तीको घरायसी कामकाज सधैं प्रभावित हुन्थ्यो । 

तर अहिले उनीहरूको समस्या समाधान भएको छ । सौर्य ऊर्जामार्फत लिफ्ट प्रविधिबाट गाउँमा खानेपानी पुर्‍याइएपछि स्थानीयले घर नजिकै खानेपानी सुविधा पाएका छन् । विद्युत् नपुगेकाले गाउँमा सौर्यऊर्जा जडान गरी खानेपानी सुविधा पुर्‍याइएको हो । योजना सम्पन्न भएपछि चौर गाउँका ७० परिवारको सास्ती हटेको हो ।

आठ वर्षअघि गाउँमा खानेपानी पुर्‍याउन सौर्यऊर्जा कार्यक्रमअन्तर्गत लिफ्ट खानेपानी योजना निर्माण थालिएको थियो । उक्त क्रमागत योजनामा रकम विनियोजन गर्न छोडिएपछि बीचैमा अलपत्र परेको थियो । बस्ती माथि र मुहान तल हुँदा अन्य प्रविधिमार्फत गाउँमा खानेपानी योजना निर्माण गर्न सकिएको थिएन । नगरपालिकाले १२ लाख रुपैयाँ खर्चिएको योजना बीचैमा अलपत्र परेपछि स्थानीयबासी निराश बनेका थिए । खानेपानी समस्याकै कारण गाउँका एक दर्जन बढी परिवार बसाइ सरेर बेसींका बस्तीमा झरेका थिए । स्थानीय आइती रोकाले वर्षौपछि गाउँमा खानेपानी समस्या समाधान भएको बताइन् । ‘खानेपानी समस्याकै कारण बिहानको खाना कहिल्यै समयमा पाकेन, बालबालिका बासी खाना खाएर विद्यालय जान बाध्य थिए,’ उनले भनिन्, ‘खानेपानी समस्याका कारण महिला र बालबालिकाको अधिकांश समय पानी ओसार्नमै बित्थ्यो ।’ पानीकै कारण बालबालिकाको पढाइ प्रभावित हुँदै आएकोमा अहिले नियमित बनेको उनले सुनाइन् । उनका अनुसार पानीको लागि रातविरात उठेर खोला जानुपर्दा अधिकांश जोखिम मोल्नुपर्ने सास्ती थियो ।

गाउँमा खानेपानी सुविधा पुगेपछि विकास भित्रिएको अनुभव भएको उनको भनाइ छ । उपभोग गरेर बचेको पानी करेसाबारीमा प्रयोग गर्दै आइरहेको उनको भनाइ छ । गाउँमै धारा बनेपछि पशुचौपायालाई पानी खुवाउन र सरसफाइ गर्न सजिलो बनेको जानकारी दिइन् ।

अलपत्र परेको योजनामा नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष गोविन्द डाँगीले बताए । उनका अनुसार निर्माणाधीन योजना अलपत्र परेपछि निराश बनेका स्थानीयमा अहिले ख्सुीयाली छाएको छ । योजनामा एक सय ८० मिटर तलको मुहानबाट गाउँमा पानी ल्याइएको उनले सुनाए । तल मुहान र माथि बस्ती हुँदा जिल्लाकै विकट मानिने निगालचुलाका धेरै टोलमा खानेपानी अभाव रहेको उनको भनाइ छ । उनले वडाबासीलाई स्वच्छ खानेपानी सुविधा पुर्‍याउन योजना निर्माणको काम भइरहेको जनाए ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT