सौर्य ऊर्जाबाट खानेपानी

‘खानेपानी समस्याकै कारण बिहानको खाना कहिल्यै समयमा पाकेन, बालबालिका बासी खाएर विद्यालय जान बाध्य थिए’
विप्लव महर्जन

(सल्यान) — बन्गाडकुपिण्डे नगरपालिका १२, निगालचुलास्थित चौरकी ४५ वर्षीया विमला पुनलाई यसअघि डेढ घण्टा तलको खानेपानी मुहानमा गइ पानी ल्याउनुपर्ने बाध्यता थियो । गाउँ नजिकैको मुहान सुकेपछि डेढ दशकदेखि उनले सास्ती भोग्दै आइरहेकी थिइन् । पानीको दु:खका कारण उनकै छिमेकी निर्मला घर्तीको घरायसी कामकाज सधैं प्रभावित हुन्थ्यो । 

तर अहिले उनीहरूको समस्या समाधान भएको छ । सौर्य ऊर्जामार्फत लिफ्ट प्रविधिबाट गाउँमा खानेपानी पुर्‍याइएपछि स्थानीयले घर नजिकै खानेपानी सुविधा पाएका छन् । विद्युत् नपुगेकाले गाउँमा सौर्यऊर्जा जडान गरी खानेपानी सुविधा पुर्‍याइएको हो । योजना सम्पन्न भएपछि चौर गाउँका ७० परिवारको सास्ती हटेको हो ।

आठ वर्षअघि गाउँमा खानेपानी पुर्‍याउन सौर्यऊर्जा कार्यक्रमअन्तर्गत लिफ्ट खानेपानी योजना निर्माण थालिएको थियो । उक्त क्रमागत योजनामा रकम विनियोजन गर्न छोडिएपछि बीचैमा अलपत्र परेको थियो । बस्ती माथि र मुहान तल हुँदा अन्य प्रविधिमार्फत गाउँमा खानेपानी योजना निर्माण गर्न सकिएको थिएन । नगरपालिकाले १२ लाख रुपैयाँ खर्चिएको योजना बीचैमा अलपत्र परेपछि स्थानीयबासी निराश बनेका थिए । खानेपानी समस्याकै कारण गाउँका एक दर्जन बढी परिवार बसाइ सरेर बेसींका बस्तीमा झरेका थिए । स्थानीय आइती रोकाले वर्षौपछि गाउँमा खानेपानी समस्या समाधान भएको बताइन् । ‘खानेपानी समस्याकै कारण बिहानको खाना कहिल्यै समयमा पाकेन, बालबालिका बासी खाना खाएर विद्यालय जान बाध्य थिए,’ उनले भनिन्, ‘खानेपानी समस्याका कारण महिला र बालबालिकाको अधिकांश समय पानी ओसार्नमै बित्थ्यो ।’ पानीकै कारण बालबालिकाको पढाइ प्रभावित हुँदै आएकोमा अहिले नियमित बनेको उनले सुनाइन् । उनका अनुसार पानीको लागि रातविरात उठेर खोला जानुपर्दा अधिकांश जोखिम मोल्नुपर्ने सास्ती थियो ।

गाउँमा खानेपानी सुविधा पुगेपछि विकास भित्रिएको अनुभव भएको उनको भनाइ छ । उपभोग गरेर बचेको पानी करेसाबारीमा प्रयोग गर्दै आइरहेको उनको भनाइ छ । गाउँमै धारा बनेपछि पशुचौपायालाई पानी खुवाउन र सरसफाइ गर्न सजिलो बनेको जानकारी दिइन् ।

अलपत्र परेको योजनामा नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष गोविन्द डाँगीले बताए । उनका अनुसार निर्माणाधीन योजना अलपत्र परेपछि निराश बनेका स्थानीयमा अहिले ख्सुीयाली छाएको छ । योजनामा एक सय ८० मिटर तलको मुहानबाट गाउँमा पानी ल्याइएको उनले सुनाए । तल मुहान र माथि बस्ती हुँदा जिल्लाकै विकट मानिने निगालचुलाका धेरै टोलमा खानेपानी अभाव रहेको उनको भनाइ छ । उनले वडाबासीलाई स्वच्छ खानेपानी सुविधा पुर्‍याउन योजना निर्माणको काम भइरहेको जनाए ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

२ वर्षदेखि विद्यालय भवन अलपत्र

राजबहादुर शाही

(मुगु) — सरकारी बेवास्ताका कारण छायानाथरारा नगरपालिका १३, लापु गाउँस्थित नमुना आधारभूत विद्यालयको भवन निर्माण अलपत्र परेको छ । योजना अलपत्र पर्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ भने भवन पशुचौपायाको विश्रामस्थलमा परिणत भएको छ । 

साबिक जिल्ला शिक्षा कार्यालयले दुई वर्षअघि १६ लाख रुपैयाँको लागतमा भवन निर्माणको काम सुरु गरेको थियो । संघीय संरचना कार्यान्वयनका क्रममा कार्यालय नै खारेजीमा परेपछि भवन निर्माणको काम पूरा हुन नसकेको हो । क्रमागत योजना भन्दै भवन निर्माणको काम सुरु गरिएको थियो । भवन निर्माणका अन्य काम सकिए पनि छाना नछाउँदा निर्माण भएको संरचनासमेत जीर्ण बनेको छ ।

भवनको छाना हाल्न पाए मात्रै पनि पठनपाठन सहज बन्ने विद्यालय प्रशासनले जनाएको छ । भवन निर्माण सम्पन्न नहुँदा कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई सामूहिक रुपमा पठनपाठन गराउनुपर्ने बाध्यता छ ।

भौगोलिक कठिनाइ र रकम अभावका कारण भवन अलपत्र परेको प्रधानाध्यापक कैलाश बडुवालले बताए । उनका अनुसार बाहिरबाट जस्तापाता ल्याउन खोजिएको भए पनि साबिक शिक्षा कार्यालयले समयमै रकम निकासा नदिँदा भवनको काम अलपत्र परेको थियो । विद्यालयमा अन्य पूर्वाधारको समेत अभाव रहेको उनले गुनासो गरे । उनी विद्यालयमा कार्यरत एक मात्र शिक्षक हुन् । विद्यालयमा शैक्षिक सामग्री, शौचालय, खानेपानी, फर्निचरलगायतको अभाव रहेको उनले सुनाए । शिक्षक र पूर्वाधार अभावमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको गुनासो पोखे ।

शिक्षक काम विशेषले बाहिर जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको व्यवस्थापन समिति अध्यक्ष रुपसिंह कामीले बताए । उनका अनुसार अहिले विद्यार्थी जीर्ण र पुरानो भवनमा अध्ययन गर्न बाध्य छन् । विद्यालयको भरपर्दो आर्थिक अवस्था नहुँदा थप सास्ती भएको उनले गुनासो गरे । विद्यालयको पूर्वाधार विकास र शिक्षक व्यवस्थापनमा स्थानीय सरकारले समेत बेवास्ता गरेको उनको आरोप छ ।

२०६१ मा स्थापना भएको विद्यालयमा पूर्वाधारको अभाव हुँदा विद्यार्थीसमेत घट्दै गएका छन् ।

‘न शिक्षक छन्, न आवश्यक सामग्री नै,’ उनले भने, ‘एक शिक्षकको पारिश्रमिक जुटाउन धौधौ छ, सरकारी बेवास्ताले गाउँका अधिकांश विद्यार्थी अर्को गाउँको विद्यालयमा जान बाध्य छन् ।’ कक्षा १ देखि ३ सम्म सञ्चालित विद्यालयमा यस वर्ष ३५ विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT