२ वर्षदेखि विद्यालय भवन अलपत्र

राजबहादुर शाही

(मुगु) — सरकारी बेवास्ताका कारण छायानाथरारा नगरपालिका १३, लापु गाउँस्थित नमुना आधारभूत विद्यालयको भवन निर्माण अलपत्र परेको छ । योजना अलपत्र पर्दा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ भने भवन पशुचौपायाको विश्रामस्थलमा परिणत भएको छ । 

२ वर्षदेखि विद्यालय भवन अलपत्र

साबिक जिल्ला शिक्षा कार्यालयले दुई वर्षअघि १६ लाख रुपैयाँको लागतमा भवन निर्माणको काम सुरु गरेको थियो । संघीय संरचना कार्यान्वयनका क्रममा कार्यालय नै खारेजीमा परेपछि भवन निर्माणको काम पूरा हुन नसकेको हो । क्रमागत योजना भन्दै भवन निर्माणको काम सुरु गरिएको थियो । भवन निर्माणका अन्य काम सकिए पनि छाना नछाउँदा निर्माण भएको संरचनासमेत जीर्ण बनेको छ ।


भवनको छाना हाल्न पाए मात्रै पनि पठनपाठन सहज बन्ने विद्यालय प्रशासनले जनाएको छ । भवन निर्माण सम्पन्न नहुँदा कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई सामूहिक रुपमा पठनपाठन गराउनुपर्ने बाध्यता छ ।


भौगोलिक कठिनाइ र रकम अभावका कारण भवन अलपत्र परेको प्रधानाध्यापक कैलाश बडुवालले बताए । उनका अनुसार बाहिरबाट जस्तापाता ल्याउन खोजिएको भए पनि साबिक शिक्षा कार्यालयले समयमै रकम निकासा नदिँदा भवनको काम अलपत्र परेको थियो । विद्यालयमा अन्य पूर्वाधारको समेत अभाव रहेको उनले गुनासो गरे । उनी विद्यालयमा कार्यरत एक मात्र शिक्षक हुन् । विद्यालयमा शैक्षिक सामग्री, शौचालय, खानेपानी, फर्निचरलगायतको अभाव रहेको उनले सुनाए । शिक्षक र पूर्वाधार अभावमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको गुनासो पोखे ।


शिक्षक काम विशेषले बाहिर जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको व्यवस्थापन समिति अध्यक्ष रुपसिंह कामीले बताए । उनका अनुसार अहिले विद्यार्थी जीर्ण र पुरानो भवनमा अध्ययन गर्न बाध्य छन् । विद्यालयको भरपर्दो आर्थिक अवस्था नहुँदा थप सास्ती भएको उनले गुनासो गरे । विद्यालयको पूर्वाधार विकास र शिक्षक व्यवस्थापनमा स्थानीय सरकारले समेत बेवास्ता गरेको उनको आरोप छ ।


२०६१ मा स्थापना भएको विद्यालयमा पूर्वाधारको अभाव हुँदा विद्यार्थीसमेत घट्दै गएका छन् ।


‘न शिक्षक छन्, न आवश्यक सामग्री नै,’ उनले भने, ‘एक शिक्षकको पारिश्रमिक जुटाउन धौधौ छ, सरकारी बेवास्ताले गाउँका अधिकांश विद्यार्थी अर्को गाउँको विद्यालयमा जान बाध्य छन् ।’ कक्षा १ देखि ३ सम्म सञ्चालित विद्यालयमा यस वर्ष ३५ विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?