हेलिकप्टरबाट गर्भवतीको उद्धार

कान्तिपुर संवाददाता

मुगु — सुत्केरी हुन नसकेकी मुगुमकार्मारोङ गाउँपालिका ८, माग्रीकी एक महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथाले च्यापेर सिकिस्त बनेकी ३४ वर्षीया कार्मायाङ्जुम लामालाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको हो । 

गाउँमा सुत्केरी हुन नसकेपछि उनलाई उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ । उनलाई आइतबार बेलुकीबाट व्यथा लागेको थियो । लामाले यसअघि ४ सन्तान जन्माइसकेकी छन् । उनलाई सुत्केरी गराउन गाउँकै स्वास्थ्यचौकीमा ल्याइए पनि लामो व्यथा लागेर सुत्केरी हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयको पहलमा उद्धार गरिएको हो ।


राष्ट्रपति महिला उत्थान कार्यक्रमअर्न्तगत उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । उनका अनुसार गत वैशाखदेखि अहिलेसम्म जिल्लाका विभिन्न ठाउँबाट ५ गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । पाठेघरको वरिपरि पानीको मात्रा कम भएकाले उनलाई लामो व्यथा लागेको पुलु स्वास्थ्यचौकीका इञ्चार्ज गुरुछोर्देन लामाले बताए । उनका अनुसार जिल्ला अस्पतालका चिकित्सकको सल्लाहमा उनलाई प्रदेश अस्पताल, सुर्खेत पठाइएको हो । ‘ प्रसूतिको समयमा दुई दिनसम्मको व्यथा लामो मानिन्छ, सुत्केरी गराउन हामीले धेरै प्रयास गर्‍यौं, तर सफल भएनौं,’ उनले भने, ‘लामो व्यथाकै कारण उनको ज्यान खतरामा परेपछि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो ।’


प्रकाशित : कार्तिक २०, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?