कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अब मेसिनबाटै मादल

हरि गौतम

(रुकुम पश्चिम) — त्रिवेणी गाउँपालिका २, का मंगलबहादुर बादी एक्लै दैनिक ५ मादल बनाउँछन् । यसअघि दिनमा एउटा मादल बनाउन पनि मुस्किल हुन्थ्यो । मेसिनबाट मादल बनाउन थालेपछि उनको आम्दानी पनि बढेको छ ।

अब मेसिनबाटै मादल

उनले दैनिक ५ मादलको घार खोल्ने, सुकाउने तथा छालाले मोड्नेसम्मको काम भ्याउँछन् । सजिलैसित उनले दैनिक २० देखि २५ हजार कमाउन सक्ने भएका छन् । एउटा मादल १८ सयदेखि ७ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । बजारमा प्रतिस्पर्धा बढ्दै गएपछि उनले मेसिनमार्फत मादल निर्माण गरिरहेका हुन् । ‘हातैले मादल बनाउदा धेरै मिहिनेत लाग्ने र महंगो पर्ने भएकाले मेसिनबाट मादल बनाइरहेको छु,’ उनले भने, ‘मेसिन ल्याएपछि मुस्किलले भए पनि माग धानिएको छ ।’ उनका अनुसार स्थानीय बजारमा मादलको माग अत्यधिक छ । ४ लाख रुपैयाँ लगानी गरी मेसिन भित्र्याएपछि व्यवसाय गर्न सहज भएको उनले सुनाए ।


कच्चा पदार्थको सम्पूर्ण व्यवस्था भएपछि मादल बनाउन उनलाई खासै समस्या र मिहिनेत पनि पर्दैन । जिल्लामा हातले मादल निर्माण गर्नेको संख्या घट्दै गएका बेला बादीले मादल उद्योगै चलाएका छन् । ‘पुर्खादेखि चलिआएको पेसा भएकाले छाड्न सकिएन, बाबुबाजेको पेसा टिकाउन र आम्दानी बढाउन मेसिन खरिद गरी थप व्यावसायिक बनाएको हुँ,’ उनले भने, ‘चाडपर्व र मेलाको बेला भएकाले २ महिनायता एकछिन फुर्सद छैन ।’


५५ वर्षीय बादीले २०४० सालदेखि मादल बनाउन थालेका थिए । लामो समय हातैले मादल बनाएका उनले २ वर्षअघि मात्रै मेसिन ल्याएका हुन् । मादलबाटै एक सिजनमा ३ देखि ४ लाख रुपैयाँ आम्दानी भइरहेको उनी बताउँछन् । स्थानीय सामुदायिक वनबाट ‘चिन्नेखमारी’ र ‘उत्तिस’ जातका काठ ल्याएर मादल र डौंरी बनाउने गरेको उनी बताउँछन् । गत वर्ष वर्ष उनले सय मादल र ८० डौंरी बिक्री गरे । यस वर्ष १ सय २० मादल र ४० डौंरी बेचिसकेको उनले बताए । उनका अनुसार स्थानीय बजारका साथै रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, नेपालगन्ज, भैरहवा र काठमाडौंसम्मबाट मादल र डौंरीको माग आउने गरेको छ । साना आकारका केही मादल विदेशसम्म पठाएको उनको अनुभव छ ।


विशेषगरी भदौदेखि मंसिरसम्म मादल र डौंरी बढी बिक्री हुने उनको बुझाइ छ । पछिल्लो समय जिल्लाका अन्य ठाउँका बादी समुदायले मादल बनाउन लगभग छाडिसकेका छन् । बनाए पनि निकै नगण्य मात्रामा छन् । बजारमा बाहिरबाटै मादल आउने भएकाले हातैले मादल बनाउनेको पेसा संकटमा परेको छ । जिल्लामा एउटा मात्रै व्यावसायिक मादल उत्पादन गर्ने उद्योग रहेको निमित्त जिल्ला समन्वय अधिकारी तेजकुमार ओलीले बताए । परम्परागत रुपमा बन्ने तथा बनाइने वस्तु लोप हुन नदिन आधुनिकीकरण गर्न जरुरी भइसकेको उनको भनाइ छ ।


प्रकाशित : कार्तिक २०, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?