कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पुल निर्माण अलपत्र 

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — मुसीकोट नगरपालिका ४ र १२ वडा जोड्ने गरी साँख खोलामा सुरु गरिएको मोटरेबल पुल निर्माणको अवधि ९ महिना मात्र बाँकी छ । तर काम थालिएको केही महिनामै निर्माणको काम रोकिएपछि यात्रुले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । 

दुई वर्षमा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले पुल निर्माणको जिम्मा लिएको थियो । पुल निर्माणको आधाभन्दा बढी समयसमेत घर्किएको छ । तर कम्पनीको लापरबाहीले यात्रुले ठूलो जोखिम मोलिरहेका छन् । पुल निर्माणका लागि सडक विभागको वैदेशिक महाशाखाअन्तर्गतको आरएसडीपी परियोजनासँग सूर्यलाइट जेभीले सम्झौता गरेको छ । सम्झौताअनुसार २०७७ साउनभित्र पुल निर्माणको काम सम्पन्न हुने भनिएको थियो ।


राप्ती लोकमार्गमा पर्ने साँख खोलामा पक्की पुल निर्माणस्थलनजिकै बेलीब्रिज छ । २०६२ सालमा बनाइएको बेलीब्रिज जीर्ण बनेपछि त्यसको विकल्पमा पुल निर्माण गर्न लागिएको हो । तर पुल निर्माणको काम नहुँदा जोखिमयुक्त बेलीब्रिजबाटै यात्रा गर्नुपर्ने बाध्यता भएको छ । बेलीब्रिज बिस्थापन गरी यात्रा सहज बनाउने भनिए पनि कम्पनीको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भइरहेको छ ।


स्थानीय पवनकुमार शेर्पालीले पुल निर्माणको काम लामो समयदेखि रोकिएको बताए । ‘ठेकेदार कम्पनीले काम छाडेको लामो समय भइसक्यो, नियामक निकायले पनि काम भए/नभएको अनुगमन गरेको छैन, उनले भने, ‘जीर्ण बेलीब्रिजका कारण सबै सवारी साधनले जोखिमपूर्ण तरिकारले खोला वारपार गरिरहेका छन् ।’ बेलीब्रिज जीर्ण बनेर सवारी साधन आवतजावतमा जोखिम बढेपछि स्थानीयबाट मर्मत वा विस्थापन गर्नुपर्ने माग उठेको थियो । स्थानीयको मागपछि मर्मत गरिएको बेलीब्रिज १ वर्ष पनि नटिकेपछि सरोकारवालाको दबाबका कारण खोलामाथि पुल निर्माणको काम थालिएको थियो ।


बेलीब्रिज जीर्ण बन्दा दैनिक सयौं सवारी साधन जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य छन् । पुलमा राखिएका फलामका पाता टुक्रिएर झरेका छन् भने केही उप्किएका छन् । जिल्ला भित्रिने र बाहिरिने गाडी जीर्ण पुल भएरै आउजाउ गर्छन् । विश्व बैंकको ८ करोड रुपैयाँ सहयोगमा साँख खोलासहित सल्यानको पटारेमा पुल निर्माण थालिएको हो । साँख खोलामा ३५ मिटर र पटारेमा १५ मिटर लामो पुल निर्माणको लागि ठेकेदार कम्पनीलाई जिम्मा दिइएको छ । बेलीब्रिज राप्ती लोकमार्गको ट्र्याक खोल्ने क्रममा बनाइएको थियो ।


पुल निर्माणमा ढिलाइ भएको र बेलिब्रिज मर्मत नभएको गुनासो बढिरहेको मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले बताए । उनले यस विषयमा थप छलफल गरी आवश्यक निर्णय लिइने जानकारी दिए ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?