सामुदायिकमा बस

कान्तिपुर संवाददाता

सल्यान — कपुरकोट गाउँपालिका ४, किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले बस सञ्चालनको तयारी थालेको छ । टाढाका गाउँबाट आउने विद्यार्थीको सुविधाका लागि बस सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ । 

बस सञ्चालनका लागि विद्यालयले कोष खडा गरिसकेको छ । तिहारमा देउसीभैलो खेलेर जम्मा भएको १ लाख रुपैयाँ कोषमा जम्मा गरिसकिएको छ । विद्यालयको आन्तरिक आम्दानीलाई पनि कोषमा जम्मा गरेपछि तीन लाख रुपैयाँ संकलन भइसकेको प्रधानाध्यापक सिट्टीसाप विष्टले बताए । उनका अनुसार टाढाबाट आउने विद्यार्थी समयमै विद्यालयमा नपुग्ने समस्या बढ्दै गएपछि स्कुल बस सञ्चालन गर्न लागिएको हो । ‘विद्यालयमा टाढाका गाउँबाट समेत विद्यार्थी पठनपाठनका लागि आउने गरेका छन्, नजिकै माध्यमिक विद्यालय नहुँदा तीन घण्टा हिडेर आसपासका गाउँबाट विद्यार्थी यहाँ आउन बाध्य छन्,’ उनले भने, ‘टाढाबाट हिडेर आउँदा उनीहरूको पठनपाठन बेलाबेला अवरुद्ध हुने गरेकोले बस सञ्चालनको तयारी थालिएको हो ।’ टाढाबाट हिडेर आउने विद्यार्थीले थकानका कारण पढाइमा मन नलगाउने समस्या रहेको उनले सुनाए । उनका अनुसार लामो समय हिड्नुपर्दा अधिकांश विद्यार्थीको गृहकार्यसमेत छुट्ने गरेको छ ।

बसले गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुर्‍याउने उनको भनाइ छ । प्रधानाध्यापक विष्टका अनुसार अभिभावकै सक्रियतामा कोषमा रकम जम्मा गर्ने कामलाई तीव्रता दिइएको छ । यसै शैक्षिक सत्रमा सञ्चालन गर्न प्रयास गर्ने र नसकिए आगामी शैक्षिक सत्रमा बस सञ्चालन गरिने उनले जनाए । उनले टाढाका विद्यार्थीको सुविधाका लागि छात्रावास निर्माणको योजनासमेत बनाएको जानकारी दिए । गाउँपालिकाले आर्थिक सहयोगको बचन दिएकाले जतिसक्दो छिटो बस सञ्चालन गरिने उनी बताउँछन् । उनले विद्यालयमा अध्ययन गरी वैदेशिक रोजगारीमा गएका पूर्व विद्यार्थीको पहलमा रकम संकलन अभियान थालिएको सुनाए ।

बाल शिक्षादेखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पढाइ भइरहेको छ । वर्सेनि पठनपाठन गुणस्तरीय बन्दै गएपछि विद्यालयमा विद्यार्थीको चाप बढिरहेको छ । अहिले एक हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । कपुरकोटसहित त्रिवेणी गाउँपालिका र छिमेकी जिल्ला रोल्पाका विद्यार्थीसमेत विद्यालयमा अध्ययनका लागि आउने गरेको व्यवस्थापन समिति अध्यक्ष हरिलाल पुनले बताए ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

निजीमा पाइँदैन छात्रवृत्ति

जिल्लामा ४ दर्जन निजी विद्यालय सञ्चालनमा रहे पनि शिक्षा विकास तथा समन्वय एकाइमा जम्मा २० विद्यालय मात्र दर्ता
भीमबहादुर सिंह

(जाजरकोट) — संस्थागत (निजी) विद्यालयले विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने प्रावधान छ । तर जिल्लाका निजी विद्यालयले अहिलेसम्म छात्रवृत्ति वितरण गरेका छैनन् । 

शैक्षिक सत्र सुरु भएको ७ महिना बितिसक्दा पनि जिल्लाका निजी विद्यालयले छात्रवृत्ति वितरण नगरेका हुन् । शिक्षा ऐन र नियमावलीअनुसार संस्थागत विद्यालयले शैक्षिक सत्र सुरु भएको डेढ महिनाभित्र विभिन्न समूहले पाउने छात्रवृत्तिको निर्णय गरी सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेस गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थालाई कुनै पनि निजी विद्यालयले कार्यान्वयन गरेका छैनन् । त्यस्तै माध्यमिक तहले पनि छात्रवृत्ति प्रावधानलाई कार्यान्वयन गराउन कुनै पहल भएको छैन ।

शिक्षा ऐनमा संस्थागत विद्यालयले जेहेनदार, विपन्न, अपांग, महिला, दलित, जनजाति, जनआन्दोलनका घाइते र बेपत्ता तथा सहिद परिवारका सन्तानले छात्रवृत्ति पाउने व्यवस्था छ । कार्यविधिअनुसार छात्रवृत्ति वितरण गर्न विद्यालय र स्थानीय तहमा व्यवस्थापन समिति गठन गर्ने प्रावधान छ । निजी विद्यालय र स्थानीय तहले समिति नै गठन गरेका छैनन् । जिल्लामा ४ दर्जन निजी विद्यालय सञ्चालनमा छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाभरि २० निजी विद्यालय मात्र दर्ता भएका छन् । सदरमुकाम खलंगाभित्रै दर्ता नभएका निजी विद्यालय सञ्चालनमा आएको एकाइले जनाएको छ । भेरी नगरपालिकाअर्न्तगत सञ्चालित कुनै पनि संस्थागत विद्यालयले छात्रवृत्ति वितरणको विवरण पेस नगरेको शिक्षा शाखा प्रमुख कृति थापाले बताए । ऐनमा स्थानीय तहका शिक्षा समितिका संयोजकको नेतृत्वमा छात्रवृत्ति व्यवस्थापन समिति गठन हुने उनले जनाए । शिक्षा समिति गठन नभएको अवस्थामा स्थानीय तहको प्रमुखले तोकेको प्रतिनिधि छात्रवृत्ति व्यवस्थापन समितिको संयोजक रहने व्यवस्था रहेको उनको भनाइ छ ।

सरोकारवाला निकायले निजी विद्यालयले लक्षित वर्गलाई छात्रवृत्ति दिए/नदिएकोबारे अनुगमनसमेत गर्ने गरेका छैनन् । निजी विद्यालयले कानुनी रुपमा छात्रवृत्ति नदिए पनि व्यवहारिक रुपमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने गरेको निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल कर्णाली प्रदेशका सचिव झलक बुढा बताउँछन् । उनले ऐनको परिधिमा रही विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन पहल गरिने जनाए । शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी तिलक भट्टराईले निजी विद्यालय स्थानीय तह मातहत सञ्चालन हुने व्यवस्था भएकाले गाउँ/नगरबाटै छात्रवृत्तिबारे नियमन हुने बताए ।

ऐनले तोकेको कार्यविधिअनुसार छात्रवृत्ति पाउने विषयबारे अधिकांश अभिभावक र विद्यार्थी बेखबर छन् । शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार सम्पूर्ण निजी विद्यालयले छात्रवृत्ति उपलब्ध वितरणलाई तत्काल कार्यान्वयन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । कुनै विद्यालयले अटेर गरे कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT