२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रैथाने बालीको उत्पादन घट्दै, माग बढ्दै

कान्तिपुर संवाददाता

जुम्ला — रैथाने बालीको माग बढ्दै गए पनि उत्पादन र खेती गर्ने क्रम घट्दै गएको छ । जिल्लामा भित्रने पर्यटकले नासोको रुपमा जुम्लाको रैथाने बालीका परिकार लैजान खोजे पनि खेती घटेपछि बजारमा पाउनै मुस्किल छ ।

जिल्लामा पुग्ने अधिकांश पाहुनाले जुम्लाको चिनोका रुपमा विभिन्न रैथाने बाली कोसेलीका रुपमा लैजान खोज्छन् । जिल्लालाई अर्गानिक तथा विसादीमुक्त घोषणा गरेसँगै रैथाने बालीको माग बढेको हो । जुम्लामा दुई हजार आठ सय ५० मिटरको उचाइमा कालोमार्सीको खेती हुने गरेको छ । अहिले चामलको माग बढेसँगै किसानलाई आपूर्ति गर्न धौधौ भइरहेको छ । मार्सीसँगै चिनो र कागुनोको चामल तथा फापर र कोदोको पिठोको माग बढी छ ।


खलंगास्थित कोशेली घरका सञ्चालक गोविन्द आचार्यले मार्सी, ओखर, स्याउ र तिलको उत्पादन राम्रै भए पनि अन्य रैथाने बाली पाउन मुस्किल हुन छाडेको बताए । ‘कागुनो र चिनोको माग धेरै छ,’ उनले भने, ‘तर गाउँमा समेत यसको खेती हुन छाडेपछि बाहिर पठाउन समस्या भइरहेको छ ।’ चिनो र कागुनो खोज्न पटकपटक विभिन्न गाउँमा गए पनि पाउन नसकेको उनको गुनासो छ । उनका अनुसार दु:ख धेरै हुने भए पनि उत्पादन कम भएको भन्दै किसानले यी बाली लगाउन छोडेका हुन् । उनले स्थानीय सरकारले रैथानेबालीको संरक्षणका लागि ठोस कदम चाल्न नसकेको आरोप लगाए ।


जिल्लामा जीवनशैली र खानपानमा परिवर्तन आएसँगै रैथाने बाली हराउन थालेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले वताए । ‘जुम्ला आउने आन्तरिक तथा बाह्य पर्यटकको राजोइमा जुम्लामा उत्पादित अर्गानिक बाली र परिकार पर्ने गरेका छन्,’ उनले भने, ‘जिल्लामा उत्पादन हुने बालीमा कुनै पनि रासायनिक विसादीको प्रयोग नभएकैले माग बढेको छ, तर अधिकांश किसानले पुराना बाली लगाउन छोडिसकेका छन् ।’ उनका अनुसार लिल्लाका केही रैथाने बाली सुर्खेत, नेपालगन्ज, दाङ, बुटबल, नारायणघाट, पोखरा र काठामाडौंसम्म पुग्ने गरेका छन् । रैथाने बालीको संरक्षणका लागि तीनवटै तहका सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । देवकोटाका अनुसार सिमी, आलु र जौको माग बढ्दै गएको छ ।


प्रकाशित : कार्तिक १९, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?