कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

छात्रालाई नि:शुल्क स्यानिटरी

कान्तिपुर संवाददाता

सल्यान — सामुदायिक विद्यालयमा महिनावारीको बेला छात्रा उपस्थिति घटेको भन्दै शारदा नगरपालिकाले नि:शुल्क स्यानिटरी वितरण अभियान सुरु गरेको छ । अभियानको पहिलो चरणमा वडा २ मा रहेको शिवजन मावि शीतलपाटीबाट प्याड वितरण सुरु गरिएको हो ।

छात्रालाई नि:शुल्क स्यानिटरी

नगरपालिकाले विद्यालयका ६ सय छात्रालाई पुग्नेगरी सेनेटरी प्याड उपलब्ध गराएको जनाएको छ । नगरभित्रका ५७ विद्यालयमध्ये मावि र निमावि तहका करिब १८ सय छात्रालाई प्याड वितरण गरिने नगरपालिकाले जनाएको छ । सुरक्षित रुपमा प्याड प्रयोग गर्ने तरिकाबारे छात्राहरूलाई प्रशिक्षणसमेत दिइनेछ । नगर प्रमुख सुरेश अधिकारीले सोमबार विद्यालयका ५० बढी छात्रालाई प्याड हस्तान्तरण गरे । विद्यालयमा छात्राको उपस्थिति नियमित बनाउन र उनीहरूको पठनपाठन गुणस्तरीय बनाउन अभियान सुरु गरिएको उनको भनाइ छ । ‘महिनावारी भएको बेला लाज र स्वास्थ्यमा देखिने विभिन्न समस्याले छात्राहरू नियमित विद्यालय नआउने गरेको पाइयो,’ उनले भने, ‘असुरक्षित प्याड प्रयोग गर्दा केहीमा विभिन्न स्वास्थ्य समस्या देखिएको गुनासोसमेत आयो, हाम्रो अभियानले ती समस्या निराकरण गर्ने अपेक्षा छ ।’ उनले कालिका मावि कजेरीमा अनुगमनका क्रममा गएको बेला छात्रा उपस्थिति कम देखेपछि नि:शुल्क प्याड वितरणको योजना अगाडि सारिएको जनाए । सुरक्षित प्याड प्रयोग गर्न विद्यार्थीमार्फत समुदायमा पनि जनचेतना प्रवाह हुने भएकाले अभियानकै रुपमा कार्यक्रम सुरु गरिएको उनी बताउँछन् ।


नगरपालिकाका शिक्षा संयोजक लीलाधर बबालले यो अभियानले छात्राको प्रजनन स्वास्थ्य सुधारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको जनाए । ‘महिनावारी भएको बेला परम्परागत सामग्री प्रयोग गर्ने प्रबृत्ति कायमै छ,’ उनले भने, ‘जसले यौन स्वास्थ्यमा विभिन्न समस्या निम्त्याएको पाइएपछि अभियान सुरु गरेका हौं ।’


नगर स्वास्थ्य संयोजक वीरेन्द्रकुमार हमालका अनुसार महिनावारीको बेला महिलामा सरसफाइ महत्त्वपूर्ण हुन्छ । ‘सामाजिक सांस्कृतिक मान्यताले महिनावारीको समयमा सरसफाइमा ध्यान दिइएको पाइँदैन,’ उनले भने, ‘जसले गर्दा सामुदायिक विद्यालयका छात्रामा पनि अन्य स्वास्थ्य समस्यासमेत देखिए ।’ सुरक्षित प्याड वितरण गरिएपछि छात्राको प्रजनन स्वास्थ्यमा प्रतिकूल प्रभाव नपर्ने उनी बताउँछन् । उनका अनुसार दोस्रो चरणमा छात्राहरूलाई घरमै सुरक्षित तरिकाले प्याड बनाउन सहज हुनेगरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।


प्रकाशित : कार्तिक १९, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?