१७ विद्यालयमा छैनन् शिक्षक 

‘कि शिक्षकको व्यवस्था गरे हुन्थ्यो, कि मर्ज गरे हुन्थ्यो, विषयगत शिक्षकले धमाधम जागिर छाडेपछि विद्यालय चलाउनै मुस्किल भएको छ’ 
विप्लव महर्जन, तुलाराम पाण्डे

(सल्यान) र (कालीकोट) — बन्गाडकुपिण्डे नगरपालिका ४, देउलीस्थित बाललीला प्राथमिक विद्यालयमा दरबन्दीका शिक्षक संख्या शून्य छ । ६० विद्यार्थी अध्ययनरत विद्यालय ३ कार्यालय सहयोगीले धान्दै आएका छन् । ९ वर्षअघि बाँमेमा स्थापना गरिएको भगवति प्राविको अवस्था पनि उस्तै छ । 

दरबन्दीका शिक्षक नहुँदा बामेमा निजी स्रोतबाट भर्ना गरिएकी गंगा शर्माले विद्यालय धानिरहेकी छिन् । कक्षा ५ सम्म सञ्चालित विद्यालयमा ६५ विद्यार्थी छन्, तर शिक्षक अभावले पठनपाठन गुणस्तरीय बन्न सकेको छैन । यी दुई उदाहरण हुन् । बन्गाडकुपिण्डे नगरपालिकाका १७ विद्यालय दरबन्दीका शिक्षकविहीन हुँदा पठनपाठनमा असर परिरहेको छ । सरकारले पीसीएफ रकम कटौती गरेपछि निजी स्रोतका शिक्षकले विद्यालय छाड्दा सबै पढाइ प्रभावित बनेको हो । नगरपालिकामा ५५ विद्यालय छन् । सबैले दरबन्दी अभावकै समस्या झेलिरहेका छन् । नगरभित्र २ मावि, १० निमावि र ५ प्रावि दरबन्दीविहीन बनेका हुन् ।

नगरपालिकाकै ध्रुवतारा प्राविमा पनि १० वर्षदेखि दरबन्दीका शिक्षक छैनन् । १ सय ५० विद्यार्थी अध्ययनरत विद्यालयमा एकमात्र शिक्षक कार्यरत छन् । प्रतिभा मावि जयतपानी र नवज्योति मावि अधेरी सरकारी बेवास्ताले निजी स्रोतका शिक्षकको भरमा चलिरहेको छ । विद्यालयको आयस्रोत नहुँदा निजी स्रोतका शिक्षकले जागिर छोड्ने क्रम बढेपछि पठनपाठन अस्तव्यस्त बनेको अभिभावकको गुनासो छ । शारदा, सरस्वती, भेरी, भगवति, जनकल्याण, भैरवी र भगवती निमावि शिक्षक अभावमा बन्द हुने अवस्थामा छन् । २०६६ पछि सञ्चालनमा आएका विद्यालयमा साबिक जिल्ला शिक्षा कार्यालयले दरबन्दीका शिक्षक पठाएको थिएन । अनुमति पाएको ८ वर्ष बित्दासमेत दरबन्दीका शिक्षक नहुँदा आफैंले विद्यालयको सबै काम गर्नुपरेको सरस्वती प्रावि, सुनौलीका प्रधानाध्यापक सुरेन्द्र खड्काले बताए । ‘एक्लै छु, विद्यालय र व्यक्तिगत कामले बाहिर जाँदा स्कुल बन्द गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अधिकांश दिन सबै कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर सामूहिक रुपमा पढाउने गरेको छु ।’

शिक्षक नभएपछि आफैले विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भएको बाललीला प्राविकी कार्यालय सहयोगी राधिका विकले बताइन् । ‘तलब नपाएको भन्दै सबै शिक्षकले जागिर छाडे, अहिले कोही नभएपछि मेरै भरमा विद्यालय चलिरहेको छ,’ उनले भनिन् । हचुवाका भरमा सरकारले विद्यालय खोल्ने अनुमति दिँदा सञ्चालनमा समस्या भएको राधा निमाविका प्रधानाध्यापक टोपबहादुर बुढाले बताए । ‘कि विद्यालयमा शिक्षकको व्यवस्था गरे हुन्थ्यो, कि मर्ज गरे हुन्थ्यो,’ उनले भने, ‘विषयगत शिक्षकले धमाधम जागिर छाडेपछि विद्यालय चलाउनै मुस्किल भएको छ ।’ उनले नगरपालिकाले अनुदान रकम दिए पनि शिक्षक व्यवस्थापनमा केही सहज हुने जनाए । उनका अनुसार जागिर छाडेका शिक्षकलाई अझै पनि २ लाख रुपैयाँ दिन बाँकी छ ।

बन्गाडकुपिण्डे नगरपालिकाकास्थित शिक्षा शाखा अधिकृत चक्र रावतले २०६६ पछि सरकारी दरबन्दीका शिक्षक सरकारले नपठाएको जानकारी दिए । उनले निजी स्रोतका शिक्षकलाई नगरपालिकाले तलब खुवाउने योजना बनाए पनि विभिन्न कारणले सफल हुन नसकेको जनाए । विद्यालयलाई दामासाही तरिकाले रकम दिन खोज्दा नमानेपछि अनुदान वितरणको काम रोकिएको उनको भनाइ छ । नगर प्रमुख गोविन्दकुमार पुनले नगरभरिका सबै विद्यालयमा शिक्षक व्यवस्थापनका लागि योजना बनाइरहेको बताए । ‘शिक्षक सेवा आयोगले केही शिक्षक नगरमा उपलव्ध गराउने भनेको छ, अपुग शिक्षक नगरपालिकाबाट तलब खानेगरी भर्ना गरिनेछ,’ उनले भने, ‘विद्यार्थी संख्या कम भएका विद्यालय मर्ज गर्ने र दरबन्दी मिलान गर्ने हाम्रो योजना हो ।’

दुर्गममा कर्मचारी आउनै चाहँदैेनन्
कालीकोटको शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क उपाध्याय गत भदौमा सरुवा भएर सदरमुकामको खाडाचक्र नगरपालिका गएपछि २ महिनादेखि निमित्तका भरमा गाउँपालिका चलिरहेको छ । खाडाचक्र ६ का स्थायी बासिन्दा उपाध्यायले आफ्नै नगर रोजेपछि गाउँपालिकाका अधिकांश काम लामो समयदेखि प्रभावित भएका छन् ।

शुभकालिकामा २२ कर्मचारीको दरबन्दी भए पनि अधिकांश खाली छ । कर्मचारी समायोजनमा सब–ओभरसियर गोपीचन्द्र अधिकारी, अहेब ऐनवहादुर शाही, नासु मोहन न्यौपाने र महिला विकास निरीक्षक अमृता अधिकारीबाहेक अन्य कसैले शुभकालिका रोजेनन् । महिला शाखा प्रमुख रीता पाण्डे चौलागाई पनि सरुवा भएर तिलागुफा नगरपालिका गइसकेकी छिन् । स्थानीय कर्मचारीले समेत प्रदेश र संघ रोजेर गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो । कर्मचारी अभावको असर बजेट कार्यान्वयनमा परिरहेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले गुनासो गरे ।

लेखापाल विश्वामित्र न्यौपाने कृषि विकास कार्यालय, मान्ममा सरुवा भएपछि शुभकालिकाको काम रोकिएको छ । २२ कर्मचारीमध्ये ३ जनाले मात्र शुभकालिका रोजेको अध्यक्ष चौलागाईको भनाइ छ । साबिक भर्ता, सुकाटिया र कालिका मिलेर बनेको गाउँपालिकाको ८ मध्ये ७ वटा वडामा सचिव छैनन् । वडासचिव नहुँदा स्थानीयले लामो समयदेखि विभिन्न सास्ती भोग्दै आइरहेका छन् । नयाँ कर्मचारीलाई धेरै कुराको जानकारी नहुने र करार सेवाका कर्मचारीलाई जिम्मेवारी दिन नमिल्ने भएकाले स्थानीयले लामो समयदेखि सास्ती भोगिरहेका हुन् ।

विकट पलाता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुश्मा कर्मचारी समायोजनमा संघमा परेपछि गत चैत १ गते रमाना लिएर गए । उनको ठाउँमा संघीय सरकारले खेमप्रसाद चौधरीलाई सरुवा गरेको जानकारी गाउँपालिकामा आयो । तर, अनिवार्य अवकाश हुन २ वर्ष मात्र बाँकी रहेका चौधरीले कालीकोटको सबैभन्दा टाढाको पालिका आउन नमानेपछि अधिकांश काम रोकिएका छन् । गाउँपालिकामा आवश्यक आर्थिक तथा प्रशासकीय अधिकार प्रयोग गर्ने गरी नासु राजबहादुर बमलाई निमित्तको जिम्मेवारी दिइएको छ ।

समायोजनपछि कर्मचारी अभाव भएपछि २ महिनाअघि रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बराल कर्मचारी माग्न संघीय मामिला मन्त्रालयमै पुगे । कालीकोटका ९ मध्ये ५ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नै छैनन् । वडामा सचिव पनि आएका छैनन् । तिलागुफा, खाडाचक्र र शुभकालिकामा मात्र प्रशासकीय अधिकृत छन् । खाडाचक्र र शुभकालिकाका प्रमुख प्रशासकीय अधिकृतको पनि सरुवा भइसकेको छ । कर्मचारी नहुँदा स्थानीयलाई सेवा दिन पनि कठिनाइ भइरहेको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए ।

प्रकाशित : कार्तिक १९, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भान्सामा बंगुरको तेल 

कान्तिपुर संवाददाता

रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिकाका प्राय: घरमा सुंगुर–बंगुर पालिएका छन् । परापूर्वकालदेखि नै यहाँको मुख्य पेसा यही हो । यहाँको १०, ११, १२, १३ र १४ वडामा परम्परादेखि सुंगुर–बंगुर पालिँदै आएको छ । 

सुंगुर–बंगुर काटेर मासु बिक्री गरिन्छ । त्यसको बोसोबाट निकालिएको तेल भान्सामा प्रयोग हुन्छ । सुंगुरको तुलनामा बंगुरको तेल धेरै आउने किसानहरूले बताए । त्यही तेलबाट तरकारी पकाउने, दाल झान्ने, रोटी/पुरी पकाउनेसम्मको काम हुन्छ । यहाँ मासु बेचेर आम्दानी गर्नेभन्दा पनि भान्सामा भुटुनको जोहो गर्न सुंगुर–बंगुर पालिने स्थानीयले बताए । ‘सुंगुर–बंगुर पालनको उद्देश्य नै यहाँ फरक छ,’ स्थानीय महेन्द्र माविका सहायक प्रधानाध्यापक एवं पुथाउत्तरगंगा गाउँपालिका १० का रासधन घर्ती मगरले भने, ‘खास गरी खाने तेल जुटाउन तिनको पालन गरिन्छ ।’ एउटा ठूलो बंगुर काटियो भने त्यसबाट ४/५ जनाको परिवारलाई वर्ष दिनसम्मै भुटुन गर्न पुग्ने तेल निस्किने उनले बताए । यस क्षेत्रका ९० प्रतिशत घरमा सुंगुर–बंगुर रहेको र ती सबैको उद्देश्य तेलको जोहो गर्नु रहेको उनले सुनाए ।

सुंगुर–बंगुरको बोसो लामो समयसम्म आगोमा पकाएर तेल निकालिन्छ । यो तेल प्रयोगबाट हुने बेफाइदाबारे अहिलेसम्म कसैले कुनै गुनासो गरेका छैनन् ।

प्रकाशित : कार्तिक १९, २०७६ १०:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT