कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खलंगामा फोहोरको थुप्रो

चन्द्रनाथ नगरपालिकामा बढ्दो जनसंख्या र सहरीकरणले फोहोरमैला व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको छ 
एलपी देवकोटा

(जुम्ला) — प्रदेशको हिमाली सहर खलंगामा महिनादेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिएको छ । चन्दननाथ नगरपालिकामा बढ्दो जनसंख्या र सहरीकरणले फोहोरमैला व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको हो । नगरक्षेत्रको फोहोर व्यवस्थापन गर्नको लागि अझै डम्पिङ साइट निर्माण नगरिएकाले पनि समस्या छ । 

खलंगामा फोहोरको थुप्रो

नगरपालिकाले वडा नं. ५ स्थित रिचेगौडीका एक स्थानीयको खेतमा अस्थायी डम्पिङ साइड बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ । पाँच महिनाको लागि सम्झौता भएकोमा दुई वर्षसम्म फोहोर फालिँदै आएको नगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए । ‘केही समयसम्म फोहोर फाल्नका लागि त्यो ठाउँ लिएका थियौं, अहिले भरिएर फाल्नै नमिल्ने भएको छ,’ उनले भने, ‘यसले गर्दा बजारको फोहोर उठाएर व्यवस्थापन गर्न समस्या भइरहेको छ ।’


नगरपालिकाको वडा नं. २ भण्डारीवाडा नजिकैको दुनादुनैमा रहेको स्थायी डम्पिङ साइट भने प्रयोगमा ल्याउन सकिरहेको छैन । त्यहाँसम्म जाने सडक प्रयोगमा स्थानीयले अवरोध गरिरहेका नगरपालिकाले जनाएको छ । नगर प्रमुख कान्तिका सेजुवालले डम्पिङ साइटसम्म जाने सडक निर्माणाधीन रहेको र सडक पूर्ण रूपमा नबन्दासम्म स्थानीयले फोहोर फाल्न नदिने अडान लिएकाले समस्या भएको बताइन् । ‘सडक निर्माणको काम भइरहेको छ, स्थानीयले सडक नबन्दासम्म फोहोर फाल्न दिँदैनौं भनिरहेका छन्,’ उनले भनिन्, ‘यस्तो अवस्थामा फेरि अर्को अस्थायी ल्याण्डफिल्डको खोजि गरिरहेका छौं ।’ दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को तयारी पनि भइरहेको उनले बताइन् ।


चन्दननाथमा दैनिक करिब ४० क्विन्टल फोहोर निस्किन्छ । उक्त फोहोर रिचेगौडीका एक व्यक्तिको खेतमा व्यवस्थापन गरिँदै आएकोमा त्यहाँका स्थानीयले फोहोर फाल्न नदिएपछि बजारको फोहोर उठ्ने सकेको छैन । यस्तो अवस्थामा नगरपालिकाले जथाभावी फोहोर फाल्न भने कडाइ गरेको छ । पहिलो चरणमा सम्झाउने र नमानेको खण्डमा कानुनी कारबाहीसमेत गर्ने नीति बनाइएको छ । सबैभन्दा बढी फोहोर उत्पादन हुने वडा नं. ५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले वडाको खाली खेतबारीमै फोहोर व्यवस्थापन गरिँदै आएकामा अहिले त्यहाँ पनि रोकिएको बताए ।

प्रकाशित : कार्तिक १७, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?