१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

३ सडकले जोडियो स्यार्पु

हरि गौतम

(रुकुम पश्चिम) — पर्यटकीय गन्तव्य स्यार्पु ताल ३ सडक सञ्जालमा जोडिएको छ । बाँफिकोट गाउँपालिका ३ र वडा ५ मा फैलिएको ताल पुग्न सोही गाउँपालिकाको छिप्राखोलाबाट सडक जोडिएको हो । यसअघि सदरमुकाम खलंगा–राउखेत–गाराघाट र नदुवा–राडी सडकले ताललाई जोडेका थिए । 

३ सडकले जोडियो स्यार्पु

तीन स्थानबाट सडक जोडिएपछि स्यार्पु पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा छ । झन्डै ४ वर्षअघि निर्माण थालिएको छिप्राखोला–स्यार्पु सडकमा दसैंलगत्तै गाडी गुड्न थालेका छन् । पछिल्लो सडक निर्माणपछि बाँफिकोट १,२,३ वडा र रुकुम पूर्वको सिस्ने गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् । सडक नबन्दा स्थानीयलाई छिन्खेत–सालघारी–कोट हुँदै स्यार्पु ताल जानुपर्ने बाध्यता थियो । नदुवा–राडी सडकअन्तर्गत सेराखेतबाट सिम्तारु हुँदै कोट पुगेर पनि स्यार्पु पुगिन्छ । स्यार्पु पुग्न ३ रुट निर्माण भएपछि वर्षामा भने एउटा मात्रै रुटमार्फत पुग्न सकिन्छ । सबैभन्दा पहिला बनेको खलंगाबाट बालुचौर–छिन्खेत–सालघारी– कोट हुँदै स्यार्पु पुग्ने रुटमा वर्षभरि सवारी साधन सञ्चालन हुन्छ ।


‘लामो प्रयास र मिहिनेतपछि स्यार्पु ताल ३ सडकमा जोडिएको छ,’ बाँफिकोट गाउँपालिका ३ का अध्यक्ष चन्द्रबहादुर केसीले भने, ‘अब यी रुटलाई दिगो बनाउन हाम्रो पहल हुनेछ ।’ पहिलो चरणमा स्यार्पुमा आवश्यक रुटको ट्र्याक खुलिसकेको भन्दै उनले यसबाट पर्यटकसँगै स्थानीयलाई समेत सजिलो भएको बताए । पछिल्लोपटक स्यार्पु जोडिएको गाउँपालिकाको चक्रपथअन्तर्गतको सडक हो । गाउँपालिकाका १० वटै वडा जोड्न चक्रपथ निर्माणको काम तीव्र बनाइएको छ ।


प्रकाशित : कार्तिक १६, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?