१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मलेसियाबाट फर्किएर कुखुरापालन

‘बजारको समस्या छैन, आम्दानी बर्सेनि बढिरहेको छ, अहिले भने अर्काको देशमा गएर लामो समय पसिना बगाएकोमा दु:ख लाग्छ’

(सल्यान) र (जाजरकोट) — छत्रेश्वरी गाउँपालिका ६, लान्तीका ३२ वर्षीय लोकराज भण्डारी मजदुरीका लागि १० वर्षअघि मलेसिया गए । ७ वर्ष मलेसिया बसेर फर्किएका उनी दुई वर्षदेखि गाउँमै कुखुरापालन गरेर रमाइरहेका छन् । अहिले उनको मासिक आम्दानी कम्तिमा एक लाख रुपैयाँ छ । 

मलेसियाबाट फर्किएर कुखुरापालन

१२ रोपनी क्षेत्रफलमा फैलिएको उनको फार्ममा अहिले १० हजार ब्रोइलर कुखुरा छन् । अर्को खोरमा तीन सय स्थानीय जातका कुखुरा परीक्षणको रुपमा पालिरहेका उनले चार पोखरी बनाइ माछापालनसमेत सुरु गरेका छन् । चारवटा पोखरीमा १५ हजार माछाका भुरा छोडिएको छ । माछाले उत्पादन दिन र्भर्खरै सुरु गरेकाले यस वर्ष करिव तीन लाख रुपैयाँ आम्दानी हुने भण्डारीको अनुमान छ ।


घरको आर्थिक अवस्था कमजोर भएका उनले केही समय सार्वजनिक गाडीमा सहचालकको काम गरे । त्यसबाट घर खर्च चलाउन मुस्किल भएपछि उनी २०६८ सालमा मलेसिया हानिएका थिए । मलेसियाको एक रेष्टुरेन्टमा उनले सात वर्ष काम गरे । ‘विदेशबाट मैले आफ्नै व्यवसायबाट रमाउनुपर्छ भन्ने सिके,’ भण्डारी भन्छन्, ‘विदेशकै प्रेरणाले अहिले कुखुरापालनमा सफलता मिल्दै गएको छ ।’ उनले कुखुरापालन व्यवसायबाट वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको जनाए । उनले केही समय साथीहरूसँग मिलेर कुखुरा, बंगुर र माछापालन व्यवसाय सुरु गरेका थिए । समूहमा व्यवसाय गर्दा प्रतिफल नदेखिएपछि व्यवसायलाई एकलौटी बनाएको भण्डारीले जनाए । उनले एक हजार कुखुराबाट सुरु गरेको व्यवसाय १० हजार कुखुरामा परिणत भएको छ ।


साथीसँग मिलेर व्यवसाय गर्दा झन्डै ४० लाख रुपैयाँ घाटा व्यहोरेपछि उनले ऋण लिएरै व्यवसाय एकलौटी बनाउने निर्णयमा पुगेका हुन् । कुखुरापालनबाट जीवनस्तरमा सुधार आएपछि अहिले घरघडेरी जोड्न सफल भएको उनी बताउँछन् । लान्ती नजिकै उनले १२ रोपनी जग्गा खरिद गरिसकेका छन् । चारजनाको परिवारको सबै खर्च यही व्यवसायबाटै चलिरहेको छ भने मासिक ५० हजार बढी रुपैयाँ बचत भइरहेको छ । फार्ममा अन्य दुई युवालाई रोजगारी दिन सफल भएको भण्डारीले सुनाए । उनले उत्पादन गरेका कुखुरा स्थानीय बजारमै खपत हुन्छन् । ‘बजारको समस्या पनि छैन, आम्दानी पनि वर्सेनि बढिरहेको छ,’ उनले भने, ‘अहिले अर्काको देशमा गएर लामो समय पसिना बगाएकोमा दु:ख लाग्छ ।’


उनकै प्रेरणाले आसपासका गाउँमा व्यवसाय गर्ने युवाको संख्या बढिरहेको छ । उनले पोखरीबाटै पाँच सय रुपैयाँ प्रतिकिलोका दरले माछा बिक्री हुन थालेको जानकारी दिए । व्यवसायमा सफल बन्दै गएपछि ऋण तिर्न सकेको उनले जनाए । जिल्लाको सबैभन्दा ठूलो कुखुरापालन फार्म सञ्चालन गरेपछि गत वर्ष कृषि ज्ञान केन्द्र र पशुविज्ञ सेवा केन्द्र तथा भेटेनरी अस्पतालले आवश्यक सामग्री खरिद गर्न १५ लाख रुपैयाँ अनुदान दिएको उनी बताउँछन् । उनले अहिलेसम्म कुखुरा र माछापालन व्यवसायमा झन्डै दुई करोड रुपैयाँ लगानी गरिसकेका छन् । ‘व्यवसायलाई अझै विस्तार गर्ने धोको छ,’ उनी भन्छन्, ‘मेरै प्रेरणाले विदेशबाट फर्किएका युवाहरू मेरै सल्लाहमा विभिन्न कृषि कर्ममा लाग्न थालेका छन्, अरु युवा पनि व्यवसाय सुरु गर्नेगरी सल्लाह लिन आउने गरेका छन् ।’ सरकारले कृषकलाई सहुलियत दरमा बिनाधितो ऋण दिने व्यवस्था मिलाए कृषि क्षेत्रमा युवाको सहभागिता बढ्ने उनको बुझाइ छ ।

बोइलर कुखुराको माग बढ्दै गएपछि जिल्लामा करिव एक सय बढी व्यवसायिक कुखुरापालन फार्म सञ्चालनमा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रले जनाएको छ । केन्द्र प्रमुख रुपसिं राईले पढेलेखा युवासमेत कुखुरापालन व्यवसायमा आकर्षित बनेको बताए । उनका अनुसार बजारको समस्या नभएपछि ग्रामीण क्षेत्रमा पनि कुखुरापालनको लहर चलेको हो ।


‘कुखुरापालनलगायत व्यवसायबाट युवा आत्मनिर्भर बन्ने क्रम बढिरहेको छ, सबैभन्दा बढी आकर्षण कुखुरापालनमै भएपछि गाउँगाउँमा फार्म खुलिरहेका छन्,’ उनले भने, ‘युवालाई व्यवसायले सन्तुष्टी मात्र दिएको छैन । सबल, सक्षम र मेहनती बनाएको छ ।’ उनले कुखुरापालन व्यवसायबाटै विपन्न कृषक परिवार आत्मनिर्भर बनेको र घरघडेरी जोड्न सफल भएको जनाए ।




अन्डा बेचेर मासिक ५० हजार


भेरी नगरपालिका ४, बाहुनबाराकी ४० वर्षीया योगमाया कार्कीको दिनचर्या अहिले कुखुराको स्याहारसुसारमै बित्छ । ७ महिनादेखि महिनादेखि कुखुरापालनसँगै अन्डा उत्पादनलाई प्राथमिकता दिएकी उनको मासिक आम्दानी ५० हजार रुपैयाँसम्म छ ।


उनले ४ वर्षदेखि कुखुरापालन गर्दै आएकी छन् । उनको फार्मबाट दैनिक २ सय ५० अन्डा उत्पादन भइरहेका छन् । मासु र अन्डाका लागि ३ सय ‘हाइलाइन’ जातका कुखुरा पालिएका छन् । ‘४ वर्षअघि थालेको ब्रोलर पालन व्यवसायलाई ७ महिनाअघि अन्डा उत्पादन फार्मका रुपमा परिणत गरेकी हुँ,’ उनले भनिन्, ‘न बजारको समस्या न धेरै दु:ख, अन्डा उत्पादनमा लागेपछि सबै सन्तुष्टि यसै व्यवसायले दिएको छ ।’ मनग्गे आम्दानी हुन थालेपछि कार्कीले सञ्चालन गरेको मिलन एन्ड मेलिना कुखुरा फार्मको क्षेत्रफल पनि क्रमश: बढिरहेकै छ । कुखुरापालनकै आम्दानीले कार्कीले छोरा मिलन र छोरी मेलिनालाई स्नातक तहमा अध्ययन गराइरहेकी छिन् । गत वर्ष भेरी नगरपालिकाले दिएको १ लाख रुपैयाँ व्यवसायमा थप हौसला बढाएको उनी बताउँछिन् । ‘बिहान सबेरैदेखि साँझ अबेरसम्मै कुखुराको खोरमा व्यस्त रहन्छु,’ उनले भनिन्, ‘यसबाटै परिवार र छोराछोरीको पढाइ खर्च मजाले चलिरहेको छ, नियमित बचत पनि बढिरहेको छ ।’


३ लाख रुपैयाँ लगानी गरी अन्डा उत्पादनका लागि उन्नत जातका हाइलाइन कुखुरा पाल्न थालेको कार्कीले जानकारी दिइन् । स्थानीय बजारमा कुखुराको मासु र अन्डाको माग धेरै भएकाले व्यवसायमा हौसिएको कार्कीको भनाइ छ । उनको फार्मबाट दैनिक करिब १ दर्जन क्यारेट अन्डा स्थानीय बजारमा पुग्ने गरेका छन् । उनका अनुसार प्रतिक्यारेट अन्डा ३ सय ३० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित : कार्तिक १६, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?