२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बढ्यो सवारी चाप : ट्राफिक व्यवस्थापन अस्तव्यस्त

‘पक्की सडकमा हिँडौं भने गाडीको चापले हिँड्नै मिल्दैन, चाँडो घर पुगौँ भने अधिकांश सडक जीर्ण छन्’ 
चाँदनी कठायत

(वीरेन्द्रनगर) — वीरेन्द्रनगर नगरपालिका ८, इत्रामका विक्रम रोकाय केही महिनाअघि मोटरसाइकल दुर्घटनामा घाइते भए । जुम्लारोडमा रहेको आफ्नो पसलबाट घर फर्किने क्रममा मुख्य सडकमा गाडीको चाप बढी देखेपछि उनी भित्री कच्चीबाटो घर फर्कन खोज्दा दुर्घटनामा परे । 

बढ्यो सवारी चाप : ट्राफिक व्यवस्थापन अस्तव्यस्त

सडकमा दिनप्रतिदिन सवारी चाप बढ्दै गएपछि सवारी चालक मात्र होइन, बटुवाले समेत सास्ती भोग्नुपरेको छ । ‘पक्की सडकमा हिँडौं भने गाडीको चापले हिँड्नै मिल्दैन,’ रोकायले भने, ‘छिटो घर पुगौँ भने अधिकांश सडक जीर्ण छन् ।’ बढ्दै गएको सवारी चापलाई ध्यान दिइ सम्बन्धित निकायले सडक मर्मत र ट्राफिक व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ ।


प्रदेश राजधानी बनेसँगै जनघनत्व बढेपछि वीरेन्द्रनगरमा सवारी चापसमेत बढेको छ । यातायात व्यवस्था कार्यालयमा चालु आवको असोजसम्म मात्रै १ हजार ६ सय ६४ सवारीसाधन थप दर्ता भएका छन् । निजी, सार्वजनिक, सरकारी, संस्थान र पर्यटन गरी १ हजार ३ सय ६१ सवारीसाधन नामसारी भएको कार्यालय प्रमुख सुनील लिम्बूले जानकारी दिए । कार्यालयका अनुसार दिन प्रतिदिन निजी गाडी खरिद गर्नेको संख्यासमेत बढेको छ । कार्यालयमा चालु आवमा १ हजार ५ सय ८४ निजी सवारी दर्ता भएकोमा १ हजार ३ सय ३८ सवारी नामसारी भएका छन् । ७४ सार्वजनिक गाडी दर्ता भएकोमा २३ नामसारी भएको र ६ सरकारी गाडी कार्यालयमा दर्ता भएको प्रमुख लिम्बूले जनाए ।


ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवमा २० सवारी दुर्घटना भएकोमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ महिला, ९ पुरुष र १ बालिकाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी प्रमुख उदय सिँजापतिले बढ्दो सवारी साधनका कारण सडक सुरक्षामा चुनौती देखिएको बताए । ‘हामीसँग जनशक्ति र अन्य स्रोतसाधन कम छ,’ उनले भने, ‘नगरपालिकाले सडक मर्मत तथा निर्माण र पार्किङको उचित व्यवस्थापनमा ध्यान दिने हो भने सहज हुन्छ ।’ अव्यवस्थित सवारी साधन पार्किङका कारण ट्राफिक व्यवस्थापनमै समस्या भइरहेको उनको भनाइ छ ।


बसपार्क सञ्चालनमा ढिलाइ

वीरेन्द्रनगरस्थित सिटी बसपार्क निर्माण सम्पन्न भएको ५ महिना पुगिसक्दा पनि सञ्चालनमा आएको छैन । बसपार्क सञ्चालनमा ढिलाइ हुँदा सर्वसाधारण तथा यातायात व्यवसायीले सास्ती भोग्दै आएका छन्  ।


नगर विकास कोषको ऋण अनुदानमा निर्माण गरिएको बसपार्क निर्माण कम्पनीले हस्तान्तरणमा ढिलाइ गरेपछि अझै सञ्चालनमा आउन नसकेको हो । निर्माण व्यवसायीले लगानीकर्ता नगर विकास कोषलाई र नगर विकास कोषले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरेपछि नगरपालिकाले सञ्चालन गर्ने सम्झौता छ । हस्तान्तरणमै ढिलाइ भएपछि बसपार्क सञ्चालन नभएको नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले बताए । ‘निर्माण सम्पन्न भए पनि हस्तान्तरण नहुँदा सञ्चालनमा ढिलाइ भएको छ,’ उनले भने, ‘हस्तान्तरणपछि कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल चलिरहेको छ ।’


बसपार्क नगरपालिकालाई हस्तान्तरण प्रक्रियामा रहेकोले चाँडै सञ्चालन गरिने उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । ‘प्रक्रियागत ढिलाइका कारण बसपार्क सञ्चालनमा पनि ढिलाइ भएको हो,’ उनले भनिन्, ‘छिट्टै सम्झौता गरी सञ्चालनमा ल्याइनेछ ।’ १५ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी ०७३ बाट थालिएको बसपार्क निर्माणको काम दुईपटक म्याद थपेपछि सम्पन्न भएको थियो । बसपार्क निर्माणका लागि चांगमिला नरसिंह/जेभीसँग नगरपालिकाले ६ करोड ८२ लाख ७५ हजार रुपैयाँमा सम्झौता गरेको थियो । बसपार्कमा लागत अनुमानभन्दा ६२ लाख रुपैयाँ बढी खर्च भएको छ ।


७ करोड ४४ लाख रुपैयाँमा बसपार्कको निर्माण सकिएको इन्जिनियर अधिकारीले बताए । उनले नगर विकास कोषको ७ करोड ४५ लाख ऋण अनुदानमा बसपार्क निर्माण गरिएको जानकारी दिए । सिटी बसपार्क सञ्चालनमा आए पनि वीरेन्द्रनगरबाट विभिन्न स्थानका लागि छुट्ने सबै गाडी पार्किङमा समस्या हुने यातायात व्यवसायीको भनाइ छ । उनीहरूले साना ठूला सबै गाडीका लागि सिटी बसपार्क साँघुरो हुने बताउँदै आएका छन् । नगरपालिकाले वीरेन्द्रनगरमा चलिरहेका अटोरिक्सा तथा अन्य साना ठूला गाडीका लागि उचित स्थानको खोजी भइरहेको जनाएको छ ।


प्रकाशित : कार्तिक ८, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?