कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाडाको जग्गामा सामूहिक खेती

कान्तिपुर संवाददाता

दैलेख — आठबिस नगरपालिका ४, राकम कर्णालीमा झन्डै १० रोपनी भाडामा लिएर सामूहिक तरकारी खेती थालिएको छ । सामूहिक तरकारी खेतीमा १२ घरधुरी सहभागी छन् ।

राकम कर्णालीस्थित बसुन्धारा कृषि सहकारीले उत्पादन र बजारीकरणमा जोड दिँदै सामूहिक तरकारी खेती सुरु गरेको हो । सहकारीले आठबीस नगरपालिका ३, जाक्सीमा जग्गा भाडामा लिएर तरकारी उत्पादन थालेको हो । ‘विशेषगरी टमाटर उत्पादनमा जोड दिइरहेका छौं,’ सहकारीका अध्यक्ष अर्जुन शाहीले भने, ‘छिट्टै थप जग्गा भाडामा लिएर आलु, काउली, बन्दाजस्ता बेमौसमी तरकारी लगाउन सुरु गरिनेछ ।’


कर्णाली नदी नजिकैका जग्गा बाँझिने क्रम बढेपछि सहकारीले तरकारी खेती थालिएको जनाएको छ । अध्यक्ष शाहीले ग्रामीण क्षेत्रमा समेत भारतीय तरकारी भित्रन थालेपछि तरकारी उत्पादनमा जोड दिइएको बताए । उनका अनुसार अहिले अर्ग्यानिक टमाटर उत्पादन भइरहेको छ । उत्पादित तरकारी अछाम, कालिकोट, जुम्ला, मुगुसम्म पुर्‍याउने लक्ष्यसहित फार्म सुरु गरिएको उनले जानकारी दिए । सहकारीले कृषि फार्मको रेखदेखका लागि तीन युवालाई रोजगारी दिएको जनाएको छ । डीसीएको सहयोगमा सोसेकद्वारा सञ्चालित साकार परियोजनाले औजार र बीउबिजन खरिदमा करिव १ लाख ८४ हजार रुपैयाँ अनुदान दिएको हो । दुई करोड ३५ लाख रुपैयाँ कारोबार गरिरहेको सहकारीले राकम कर्णालीमा कृषि संकलन केन्द्रसमेत स्थापना गरेको छ ।


सहकारीका सदस्यले उत्पादन गरेको तरकारी बाहिर जिल्लामा पठाउन कृषि संकलन केन्द्र स्थापना गरिएको हो । केन्द्र सञ्चालन भएपछि कर्णाली र मध्यपहाडी राजमार्ग हुँदै जिल्लाबाहिर तरकारी पठाउन सजिलो भएको छ । सहकारीका अनुसार तरकारी खेतीमा ८० लाख रुपैयाँ ऋण लगानी गरिएको छ । सदस्यहरूलाई कुखुरा, बाख्रा, भैसी, बंगुर पालनलगायत व्यवसाय सञ्चालन गर्न कर्जा उपलब्ध गराइएको अध्यक्ष शाहीले जनाए । ‘कृषि व्यवसायमार्फत सहकारीका सदस्यलाई आर्थिक रुपमा सक्षम बनाउने हाम्रो योजना हो, सहकारीका अधिकांश सदस्य विभिन्न व्यवसायमा संलग्न भएका छन्,’ उनले भने, ‘अन्य व्यवसायमा आबद्ध नभएका सदस्यलाई तरकारी खेतीमा संलग्न गराएका छौं, क्रमश: तरकारी खेतीलाई विस्तार गर्ने र कृषिक्षेत्रमा लगानी बढाउने हाम्रो योजना छ ।’





प्रकाशित : कार्तिक ६, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?