१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कारागारमा सधैं कोचाकोच

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — २५ जना क्षमताको जिल्ला कारागारमा अहिले १ सय १३ जना कैदीबन्दी छन् । पूर्वाधार नथपिए पनि कैदीको संख्या बढ्दै गएपछि कैदीबन्दीले वर्षौदेखि सास्ती भोग्दै आएका छन् । 

भौतिक संरचना अभावमा कैदीबन्दीले असजिलो भोगेका छन् नै व्यवस्थापनले पनि विभिन्न चुनौती मोल्दै आएको छ । कैदीबन्दीका लागि बस्ने र सुत्ने ठाउँका साथै शौचालय र खानेपानीको समस्या चुलिएको कारागार प्रशासनले जनाएको छ । कारागारसम्मको सडक विग्रिँदा कैदीबन्दीलाई अदालत ल्याउन र लैजान पनि समस्या भइरहेको छ । रुकुम पूर्वमा कारागार नभएपछि उताका कैदीबन्दी पनि यही कारागारमा राख्ने गरिएको छ । दशकयता कारागारमा सयभन्दा कम कैदीबन्दी भएको रेकर्ड छैन ।


एक नाबालकसहित १ सय ६ पुरुष र ६ महिला कैदीबन्दीले कैद भुक्तान गरिरहेको कारागार व्यवस्थापनले जनाएको छ । ‘प्राय: यहाँ सयदेखि माथि नै कैदीबन्दी हुन्छन्, यहाँको भौतिक संरचनालगायत कारणले साह्रै अप्ठ्यरो छ,’ जेलर गौमता पुनले भनिन्, ‘२० जनाको ठाउँमा सय बढी मान्छेलाई खान, बस्न र सुत्न त्यसै पनि मुस्किल परिहाल्छ नि ।’ कारागारको यो समस्या सधैको भएको उनको भनाइ छ । पुरानो भवन र अन्य संरचना पनि पुरानै हुँदा सबैले समस्या भोग्दै आएको उनको भनाइ छ ।


२०४१ सालमा निर्माण गरिएको कारागार ‘घ’ बर्गको हो । उक्त समस्यामा घट्ने अपराधको घटनालाई आधार मानेर बनाइएको कारागारको संरचना हालसम्म पनि उस्तै छ । धेरै संख्या हुँदा खान, बस्न र सुत्नसमेत पालो कुनुपर्ने अवस्था रहेको कैदीबन्दीको गुनासो छ । कारागारमा रहेकाहरू अधिकांश जिल्लाभित्रैका भएकाले अन्यत्र जान पनि मान्दैनन् ।


कारागार पुरानो र सानो भएर समस्या हुँदाहुँदै पनि अघिल्लो आवको बजेट कार्यान्वन हुन सकेन । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भवन निर्माणका लागि गत आवमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । मन्त्रालय र मन्त्रालय मातहतका कार्यालय स्थापना भई नसकेको भन्दै अघिल्लो आवमा काम हुन नसकेको हो । चालु आवमा कारागार भवन बनाउने भनिए पनि त्यसको कुनै सुरसार छैन । ‘गत वर्षकै बजेटबाट चालु आवमा कारागारको भवन बनाउन टेन्डर गरिने कुरा सुनिएको छ,’ जेलर पुनले भनिन्, ‘तर सबै प्रक्रिया पूरा गरी कहिलेबाट भवन निर्माण थालिने हो त्यस विषयमा भने केही जानकारी आएको छैन ।’ उनका अनुसार अघिल्लो वर्ष प्राविधिकै नभएका कारण भवन निर्माणको प्रक्रिया समेत सुरु भएको थिएन ।


प्रकाशित : कार्तिक ६, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?