ग्रामीण उद्यम : भैंसीपालनसँगै तरकारी र घाँस खेती, सिस्नो बेचेर आम्दानी

‘आम्दानी बढ्दै गएपछि द्वन्द्वको दु:ख बिर्संदै गएका छौं, आफ्नै व्यवसायले आत्मसन्तुष्टि दिएको छ’
विप्लव महर्जन, हरि गौतम

(सल्यान) र (रुकुम पश्चिम) — कुमाख गाउँपालिका २, खारखोलाका यमबहादुर बुढा र पत्नी सुनीताको दैनिकी भैंसीको स्याहारमै बित्छ । बन्गाडकुपिण्डे नगरपालिका १, सल्लीबजारमा भैंसीपालन गर्दै आएका उनीहरू पूर्वलडाकु पनि हुन् । सेना समायोजनाका क्रममा अयोग्य घोषित भएका उनीहरू २ वर्षदेखि व्यावसायिक भैंसीपालनमा रमाइरहेका छन् ।

उनीहरू बिहान सबेरैदेखि राति अबेरसम्म गोठमा व्यस्त हुन्छन् । भैंसीलाई घाँस तथा दानापानी खुवाउने, गोठ सफा गर्ने, दूध दुहुनेलगायत कामले बुढा दम्पतीलाई एकछिन् पनि फुर्सद हुँदैन । उनीहरूको गोठमा साना ठूला ६ भैंसी छन् । यही व्यवसायबाटै उनीहरूको घर र छोराछोरीको पढाइ खर्च चलिरहेको छ । भैंसीपालनबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको
बुढाले बताए ।

भैसीपालनसँगै बुढा दम्पतीले ३ रोपनी भाडामा लिएर तरकारी तथा घाँसखेती गरिरहेका छन् । तरकारीबाट न्यूनतम मासिक ८ हजार रुपैयाँ कमाइ भइरहेको बुढाको भनाइ छ । बजारमा दूधको माग र भाउ बढ्दै गएपछि उनीहरू भैंसीपालन गर्ने निर्णयमा पुगेका हुन् । स्थानीय बजारमा ८० रुपैयाँ प्रतिलिटर दूध बिक्री भइरहेको छ । बुढाले दैनिक १२ लिटर दूध बिक्री गर्दै आइरहेको जानकारी दिए । ‘बजारको माग पुर्‍याउनै गाह्रो छ,’ उनले भने, ‘क्रमश: व्यवयाय विस्तार गरिरहेका छौं, सबै भैंसीले दूध दिन थालेपछि आम्दानी दोब्बर हुने अपेक्षा छ ।’

बुढाले केही समय सार्वजनिक गाडीमा सह–चालकको कामसमेत गरे । दुर्घटनामा खुट्टा भाँचिएपछि भैंसीपालनमा लागेका बुढाको भनाइ छ । ‘यही आम्दानीले ५ जनाको परिवार सहजै पाल्न सकिएको छ,’ उनले भने, ‘आम्दानी बढ्दै गएपछि द्वन्द्वको दु:ख बिर्संदै गएका छौं, आफ्नै व्यवसायले आत्मसन्तुष्टि दिएको छ ।’ दूधको माग बढेपछि छिट्टै उन्नत जातका दुई भैंसी थप्ने निर्णयमा पुगेको बुढा बताउँछन् ।

२०५४ मा तत्कालीन माओवादीमा आबद्ध भएका बुढा ०५७ मा अखिल क्रान्तिकारीको जिल्ला सहसचिव बने । २०५७ मा माओवादी सैन्य विभागमा छिरेकी सुनीतासँग उनको पार्टी कामकाजकै सिलसिलामा चिनजान भयो । द्वन्द्वकै समयमा प्रेम बस्यो र उनीहरूले पार्टीकै स्वीकृतिमा विवाह गरे । खारा आक्रमणका क्रममा बुढा घाइते भइन् । उनको शरीरमा अहिले पनि गोलीको छर्रा बाँकी छ । ‘छर्राकै कारण बेला–बेला विभिन्न स्वास्थ्य समस्या देखिने गरेका छन्,’ बुढाले गुनासो गरिन्, ‘आर्थिक समस्याका कारण अझै छर्रा फाल्न सकिएको छैन ।’

भैंसीपालन गरेको छोटो समयमै आर्थिक अवस्थामा सुधार आएको बुढाले बताइन् । ‘ज्यानकै बाजी लगाएर युद्ध लडियो, पछि न सरकारले हेर्‍यो न पार्टीले,’ उनले भनिन्, ‘सानो भए पनि आफ्नै व्यवसाय गर्नुपर्छ भनेर भैंसीपालनमा लागेका हौं ।’ उनले क्रमश: कृषि फार्मलाई वृद्धि गर्दै लैजाने योजना रहेको सुनाइन् । फेरिएको जीवनशैली देखेर आसपासका युवासमेत कृषि व्यवसायमा संलग्न हुन थालेको उनी बताउँछिन् ।

गाउँका युवा रोजगारीका लागि विदेश जाँदा मन कुँडिने उनको भनाइ छ । ‘गर्न सके आफ्नै गाउँमा व्यवसाय गरी राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भनिन्, ‘आफ्नै व्यवसायले छोराछोरीको पढाइ र घरखर्च मजाले टरेको छ, मासिक बचतसमेत बढिरहेको छ ।’

सिस्नो बेचेर आम्दानी
रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७, खालबोटकी मीना बुढाले कहिलेकाहीं घर वरपरको सिस्ने टिपेर तरकारी पकाएर आफू खान्थिन्, परिवारका अरू सदस्यलाई खुवाउँथिन् । सिस्नो बढ्यो भने दुहुनो भैंसीलाई पनि खुवाउँथिन् । नत्र उनको घर वरपर, काल्ना र बारीको सिस्नो खेरै जान्थ्यो ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५, डाँडाखेतमा सञ्चालित हिमालयन सिस्ने पाउडर उद्योगमा प्याकेजिङ गरिँदै । तस्बिर : हरि/कान्तिपुर

अब उनको घर वरपरको सिस्ने खेर नजाने भएको छ । यसअघि हरियो सिस्नोको तरकारी र बढेको सिस्नो भैंसीलाई घाँसका रूपमा खुवाउँदै मुसीकोट नगरपालिका ६ का प्रकाश बुढाले पनि अब सिस्नो खेर जान नदिने भएका छन् । उनीहरू मात्र होइन, मुसीकोट नगरपालिका ६, ७ र ८ वडाका बासिन्दाले हरियो सिस्नो बिक्री गर्न थालेका छन् । यसअघि खेर गइरहेको सिस्नो धमाधम बिक्री हुन थालेपछि उनीहरूले घर वरपरको सिस्नोलाई आम्दानीको स्रोत बनाउन थालेका छन् । मीनाले ४५ र प्रकाशले २४ किलो बढी हरियो सिस्नो बिक्री गरिसकेका छन् । उनीहरू थप सिस्नो बिक्रीको तयारीमा छन् । सिस्नो पाउडर बनाउने उद्योग स्थापना भएपछि स्थानीयले आम्दानी गर्न थालेका हुन् । उनीहरूले प्रतिकिलो २० रुपैयाँमा हरियो सिस्नोका मुन्टा बिक्री गरिरहेका छन् । मुसीकोट नगरपालिका ५, डाँडाखेतमा हिमालयन सिस्नो पाउडर उद्योग सञ्चालनमा आएपछि स्थानीयको आम्दानी बढेको हो । उद्योगले सिस्नोको पाउडर (धूलो) बनाउन सुरु गरेको छ । हिमालय बहुसेवा प्रालिले २२ लाख रुपैयाँमा उद्योग सञ्चालनमा गरेको हो । उद्योगका लागि डिभिजन वन कार्यालयको १० लाख रुपैयाँ अनुदान दिएको छ ।

उद्योगका अध्यक्ष सुन्दर शर्माले पहाडमा प्रशस्त पाइने र खेर गइरहेको सिस्नोको पाउडर बनाएर जिल्लाबाहिर पठाउने तयारी भइरहेको बताए । ‘सिस्नो भिटामिनयुक्त तरकारी हो, पहाडमा खेर गइरहे पनि तराईमा यसको माग बढिरहेको छ,’ उनले भने, ‘त्यसैले सिस्नो पाउडर उद्योग सञ्चालनमा ल्याएका हौं ।’ उनले अहिलेसम्म ३ सय ५० किलो हरियो सिस्नोको पाउडर तयार पारिसकेको बताए ।

वार्षिक ५ हजार किलो पाउडर उत्पादन गर्ने लक्ष्यका साथ उद्योग सञ्चालन गरिएको छ । हरियो सिस्नो खरिदका लागि उद्योगले मुसीकोट नगरपालिकाका ६, ७ र ८ वडामा आठ समूह बनाएको छ । हरेक समूह र समूहका सदस्यले सिस्नो बिक्रीका लागि ल्याउने गरेका छन् । अहिले सिस्नोको धूलो प्रतिकिलो ५ सय रुपैयाँका दरले सिस्नोको पाउडर बिक्री गर्ने तयारी भइरहेको छ । परीक्षणपछि भर्खरै पाउडर उत्पादन भएकाले प्याकेजिङ सकेपछि बिक्री गरिने शर्माले जानकारी दिए । उनका अनुसार दाङ, सुर्खेत, धनगडी, नेपालगन्ज र काठमाडौं पठाउने गरी योजना बनाइएको छ ।

प्रकाशित : कार्तिक ५, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्

आफन्तबीचमै प्रतिस्पर्धा

विप्लव महर्जन, हरि गौतम

सल्यान/रुकुम — शारदा नगरपालिका–३ गन्धर्भ बस्तीकी भूमि गन्धर्भ कसलाई मतदान गर्ने भनेर रनभुल्लमा छिन् । कारण हो, ‘आफ्नै सासू, देउरानी र फुपूसासूको एउटै पदमा उम्मेदवारी ।’

दलित सदस्यमा एमालेबाट सासू पार्वती, माओवादीबाट देउरानी पद्मा र राप्रपाबाट फुपूसासू जानकी उम्मेदवार भएका छन् ।

उनीहरूलाई उम्मेदवार बनाएपछि भूमि मात्र होइन्, १९ घरधुरी रहेको गन्धर्भ बस्तीका सबैलाई समस्या भएको छ । एउटाको प्रचारमा गए अर्को रिसाउने भन्दै अधिकांशले सक्रियता देखाएका छैनन् । सानो बस्तीबाट पनि तीन जना फरक–फरक पार्टीबाट उम्मेदवार हुँदा समस्या परेको अनिता गन्धर्भले बताइन् । उनका अनुसार १९ घरधुरीमा १ सय २० जनाको बसोबास छ । ती मध्ये ३० जनामात्र मतदाता छन् ।

गाउँबाट तीन जना दलित सदस्य उठाउँदा बस्तीका सबै मतदाता समस्यामा परेको मर्दी गन्धर्भले बताइन् । तीनमध्ये एकले जिते गाउँको विकासमा सहयोग पुग्ने भए पनि भोट कसलाई दिने भन्ने बारेमा एकमत हुन नसकेको अर्का स्थानीय विश्वराम गन्धर्भले बताए ।

दौडमा नन्द–भाउजू
रुकुमको मुसिकोट नगरपालिका–१ छिङकी सरिता मल्ल र पविता मल्ल शाही सहोदर नन्द–भाउजू हुन् । अब उनीहरू नन्द–भाउजू मात्रै रहेनन् । वैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा एक–अर्काका प्रतिस्पर्धीसमेत भएका छन् ।

मुसिकोट वडा नम्बर १ को महिला सदस्यमा दुवै जनाको उम्मेदवारी परेको छ । सरिताले कांग्रेसका तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी छन् । पविताको उम्मेदवारी पनि सोही वडाको सोही पदमा परेको छ । जित आफ्नो पक्षमा बनाउन नन्द–भाउजू प्रचारमा व्यस्त छन् । मुसिकोट नगरपालिकाकै–७ नम्बर वडाध्यक्षका उम्मेदवार पनि नजिकका जेठान–ज्वाइँ छन् । कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार लालबहादुर महत जेठान हुन् । माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका हिमबहादुर पाण्डे बहिनीज्वाइँ हुन् । उनीहरूले घरदैलो र प्रचारप्रसार कार्यक्रम पनि जारी राखेको बताए ।

सानीभेरी गाउँपालिका–९ को वडाध्यक्षमा नाताले नजिकका काका–भतिजा चुनावी मैदानमा छन् । कांग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका शेरबहादुर खडका काका पर्छन् । शेरबहादुर खड्काले माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् । दुवैजना आफूलाई जिताउन आग्रह गर्दै घरदैलोलगायतका चुनावी कार्यक्रममा व्यस्त छन् ।

राजनीतिक दल नै फरक–फरक भएपछि आफन्त नै उम्मेदवार बन्नु अस्वाभाविक नभएको उनीहरू बताउँछन् । मुसिकोट नगरपालिका–१ को वडा सदस्यकी उम्मेदवार पविता मल्ल शाहीले भाउजूसँग प्रतिस्पर्धा हुनुलाई स्वाभाविक मानेको बताइन् । ‘बाहिरबाट हेर्दा अलि अस्वाभाविक लागे पनि यसलाई मैले धेरै अÏठ्यारो विषय मानेकी छैन,’ उनले भनिन्, ‘उहाँको र मेरो पार्टी फरक परेपछि प्रतिस्पर्धा त हुने नै भयो नि ।’ स्थानीय तहको निर्वाचन भएकाले पनि एउटा पार्टीका उम्मेदवारको अर्को पार्टीका उम्मेदरवासँग कुनै न कुनै नाता जोडिएकै हुन्छ । पहिलो चरणमा निर्वाचन हुन लागेका ३ नगर र ३ गाउँपालिकाका अधिकांश वडा स्तरमा आफन्तबीच नै प्रतिस्पर्धा हुँदैछ ।

वडाध्यक्षमा बाबुछोरा
डोल्पा– ठूलीभेरी नगरपालिका–२ को वडाध्यक्ष पदका लागि बाबुछोरा नै प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेबाट देवी रोकाया र माओवादी केन्द्रका तर्फबाट उनका जेठा छोरा मानबहादुर आफ्ना पक्षमा भोट माग्न व्यस्त छन् ।उक्त वडामा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको छ । दुवै उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । एकै घरका बाबुछोरा उम्मेदवार भएपछि आफन्त र छरछिमेकीलाई कसलाई भोट दिने भन्नेमा अन्योल छ ।

प्रकाशित : वैशाख २८, २०७४ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्