१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वन जोगाउन सिलिन्डर र चुलो

कान्तिपुर संवाददाता

सल्यान — शारदा नगरपालिका १३, स्यानीखालस्थित जामुने बिसौनी, फूलबारी र साल्नेटा सामुदायिक वन उपभोक्ता समूहले एक सय घरधुरीलाई सिलिण्डरसहित ग्यास चुलो वितरण गरेका छन्  । दाउराको निहुँमा सामुदायिक वनको विनाश बढेको भन्दै उपभोक्तलाई सिलिन्डरसहित चुलो वितरण गरिएको हो  ।

वन जोगाउन सिलिन्डर र चुलो

तीन सामुदायिक वनले प्रतिघरधुरी करिव ५ हजार रुपैयाँको सिलिण्डर र चुलो वितरण गरेका हुन् । सामुदायिक वनकै आम्दानीबाट सामग्री खरिद गरिएको हो ।

झन्डै ५ लाख रुपैयाँको सामग्री उपभोक्तालाई वितरण गरिएको सामुदायिक वन उपभोक्ता समूहले जनाएका छन् । उपभोक्तालाई शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले चुलो र सिलिन्डर हस्तान्तरण गरिन् । सामुदायिक वनबाट संकलन गरेको रकम सदुपयोग भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले आग्रह गरिन् ।

खाना पकाउन परम्परागत विधिबाट दाउरा बाल्दा वन विनाश बढ्दै गएको वन उपभोक्ता समिति सदस्य निमबहादुर बुढाथोकीले बताए । ‘दाउरा बाल्दा वन मासिकएको छ नै, उपभोक्ताको स्वास्थ्यमा पनि असर परिरहेको छ,’ उनले भने, ‘दुबै समस्या समाधान गर्न सिलिन्डर र चुलो वितरण गरिएको हो ।’ उनले दाउरा बाल्दा उपभोक्तामा स्वासप्रस्वासजन्य समस्या बढ्दै गएको उनको भनाइ छ ।


दाउराको प्रयोगका कारण वार्षिक १ घरले एक रुख काट्नुपर्ने अवस्था रहेको उपभोक्ता समितिले जनाएको छ । कार्यक्रमका अध्यक्ष सीपबहादुर बुढाथोकीले विनाश रोक्न एक सामुदायिक वनले करिव ३० उपभोक्तालाई सिलिण्डर र चुलो वितरण गरेको जनाए । वातावरणीय प्रदुषण कम गर्नसमेत ग्याँस प्रयोग जरुरी रहेको उनी बताउँछन् ।

‘धुँवाका कारण उपभोक्तामा दम, खोकीसँगै फोक्सोमा संक्रमण हुने समस्या देखियो,’ उनले भने, ‘आगामी दिनमा उपभोक्ताको स्वास्थ्यमा सुधार आउने र वन जोगिने हाम्रो अपेक्षा छ ।’ उनले विपन्न परिवारलाई पहिलो चरणमा सामग्री वितरण गरिएको जानकारी दिए ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?