जग्गादाता सम्मानित

कान्तिपुर संवाददाता

कालीकोट — प्रहरी चौकीलाई भवन बनाउन नि:शुल्क जग्गादान गर्ने जग्गादातालाई जिल्ला प्रहरी कार्यालयले सम्मान गरेको छ  । विभिन्न इकाईलाई जग्गा दिने ९ स्थानीयलाई प्रहरीले सम्मान गरेको हो  ।

६४ औं प्रहरी दिवसका अवसरमा जग्गादातालाई सम्मानित गरिएको प्रहरीले जनाएको छ । प्रहरीले तिलागुफा–५, स्थित खल्लागाड प्रहरी चौकीलाई जग्गा दिने कर्णशिला शाही, अस्थायी प्रहरी चौकी हुल्मका जग्गादाता नरजंग मल्ल र अर्जुन शाहीलाई सम्मान गरेको हो । त्यस्तै इलाका प्रहरी कार्यालय थिर्पूका जग्गादाता ज्वारीलाल बम, शेरसिंह बम, धर्मवहादुर बम, जनकवहादुर बम, कर्णध्वज बम र रणवहादुर बम पनि प्रहरीबाट सम्मानित भएका छन् ।

बालविवाह, बहुविवाह, जूवातास, महिला हिंसा, वालश्रम अन्त्य, लैगिंक विभेद, अबैध मदिरालगायत सामाजिक विकृति रोक्न प्रहरीले चलाएको अभियान सफल हुने खाडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डेको अपेक्षा छ ।

समाजमा मदिरा पिएर झैगडा गर्ने, महिलामाथि हिंसा गर्ने, जुवातास खेल्ने, लागूऔषधको कारोवार गर्नेविरुद्ध प्रहरीले सक्रियता देखाएको नेकपा कालीकोटका अध्यक्ष धनजीत शाहीले बताए । जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाका अनुसार डेढ महिनाको अवधिमा विभिन्न घटनामा संलग्न २३ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।

जुवा खेलेको आरोपमा १२ पक्राउ
प्रहरीले खाडाचक्र २, जितेबाट जुवा खेलिरहेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । स्थानीय मदन न्यौपानेको घरमा चलेको जुवाको खालबाट एक लाख १७ हजार तीन सय ५७ रुपैयाँसहित ९ थान मोवाइल, पाँच थान तासलगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी ओलियाले शनिबार राति छापा मारेर जुवाडेलाई पक्राउ गरिएको जनाए । पक्राउ पर्नेहरूमा घरधनी न्यौपाने, खाडाचक्र २, का प्रकाश शाही, सुर्खेतको वीरेन्द्रनगर १, का हेम सिजापति र रास्कोट ८ का वेदराज न्यौपाने, नरहरिनाथ ३ का अम्मर बुढा, रास्कोट १ का तपेन्द्रबहादुर शाही, रास्कोट २ का उदयराम जैसी र सान्नीत्रिवेणी ८ का अम्मरे केसी छन् ।

त्यस्तै, रास्कोट २ का हर्षवहादुर बम, रास्कोट १ का प्रकाश तिरुवा, रास्कोट ४ का जगत टमटा र दिपेन्द्रवहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत असोज पहिलो साता पनि मान्ममा जुवा खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित : कार्तिक ४, २०७६ १३:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सिँचाइले रोक्यो बसाइँसराइ

०५२ सालमा बुटवल पावर कम्पनीमार्फत आँधीखोला सिँचाइ उपभोक्ता संस्था खुल्यो । कम्पनीले उत्पादन गरेको बिजुली उपभोग गर्ने र पानीलाई सिँचाइमा उपयोग गर्ने योजना बनेपछि गाउँको मुहार फेरिएको हो ।
माधव अर्याल

पाल्पा — रम्भा गाउँपालिका–१, हुँगी असेर्दीका थानेश्वर जीटीको परिवार दुई वर्षअघिसम्म सुकुम्वासी जग्गामा बस्दै आएको थियो । बस्ने सानो छाप्रो थियो । खाने सामल जुटाउन दैनिक ज्यालादारी र अर्काको मजदुरी गर्थे । अहिले आफु बसेको जग्गाबाट घरखर्चको जोहो गर्न सकेका छन् । घर निर्माण गरेका छन् ।

यहाँ विभिन्न जातजातिका २ सय ५० घरपरिवारको बस्ती छ । पहिला कालीगण्डकीले बनाएको टार हो । यहाँ गरिबी, विपन्नता, बसाइँसराइ २० वर्षअघिसम्म थियो ।

खेतबारीमा मकै, कोदो, सिल्टुङ, भट्ट लगाउने चलन थियो । खेत निकै कम थियो । यही दु:ख गर्दा कतिपय मधेसतिर झरे । तर, अहिले त्यस्तो छैन । त्यसपछि बसाइँसराइ नै रोकिएको छ।

‘पहिले थोरै व्यक्तिको मात्र यो असेर्दी गाउँमा खेत थियो,’ स्थानीय कुलराज पौडेलले भने, ‘सबै पाखो बारी नै हो ।’ ०५२ सालमा बुटवल पावर कम्पनीमार्फत आँधीखोला सिँचाइ उपभोक्ता संस्था (आक्वा) स्याङ्जा गल्याङमा खुल्यो । उत्पादन भएको बिजुली उपभोग गर्ने र बिजुली निकालेर खेर गएको पानीलाई सदुपयोग गर्ने योजना बनेपछि गाउँको मुहार फेरिन थालेको उनले बताए ।

असेर्दीको माथिल्लो क्षेत्रमा पानी फाल्ने योजना बन्यो । ‘गाउँको माथिल्लो भेगमा आएको पानी रोपनीअनुसार बाँडफाँट गरेर वितरण हुन्छ,’ स्थानीय ईश्वरी अर्यालले भने, ‘जसले गर्दा कसलाई कति पानी आवश्यक पर्छ, सोहीअनुसारको साँचो निर्माण भएको छ ।’

गाउँमा पाखो खेत, बारी, खर्‍यान थिए । अहिले सबै खेत बनेको छ । बारी देख्न पाइँदैन । सबैले तीन खेती गर्छन् । सोही जग्गा त्यतिबेला मूल्य पनि नपर्ने भएकाले विपन्न परिवारलाई दिन कुनै समस्या भएन । त्यसैले आक्वा र बुटवल पावर कम्पनीका विदेशीको आग्रहमा प्रतिव्यक्ति दुई रोपनीले खान पुग्ने भन्दै विपन्नलाई समेत जग्गा वितरण गरेका हुन् । पानीको वार्षिक कर तिर्छन् । उपभोक्ताले वार्षिक ६ सयदेखि १ हजार ५ सयसम्म पानीको पैसा तिर्ने गर्छन् ।

अहिले गाउँबाट कालीगण्डकी करिडोरको सडक खनिएको छ । सडकछेउको जग्गा आनाको कम्तीमा पाँच लाख रुपैयाँमा बिक्छ । भित्री र खेतीयोग्य जमिन रोपनीको कम्तीमा ५ लाख पर्छ ।

स्थानीयले आफ्नो गाउँ असेर्दीलाई ‘सुकुम्वासी र गरिब नभएको गाउँ’ भन्न रुचाउँछन् । यो गाउँ बसाइँसराइ पनि कम हुने स्थानको रूपमा चिनिएको छ । यहाँका सबै घरपरिवारले तीन खेती गर्छन् । विपन्न र अति गरिब कोही छैनन् । तरकारी खेती व्यावसायिक हुन नसके पनि घरमा किनेर खानु पर्दैन ।

‘गाउँका कसैले तरकारी किनेर खाँदैनन्,’ स्थानीय व्यवसायी विनोद अर्यालले भने, ‘अन्य सामग्री किनेर ल्याइन्छ तर तरकारी किनिँदैन ।’

प्रकाशित : कार्तिक ४, २०७६ १३:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT