२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आधै घट्यो बीउ उत्पादन

हरि गौतम

(रुकुम पश्चिम) — तरकारी बीउ उत्पादन केन्द्र चाँपामा तरकारीको बीउ उत्पादन घटेको छ । गत आर्थिक वर्षमा केन्द्रले लक्ष्यको आधा पनि उत्पादन गर्न सकेन ।

आधै घट्यो बीउ उत्पादन

गत आर्थिक वर्षमा केन्द्रले मुल बीउ १ हजार ४ सय ५० केजी र उन्नत बीउ ६ सय ५० केजी उत्पादनको लक्ष्य राखेको थियो । उत्पादन भने आधाभन्दा कम भएको केन्द्रका प्रमुख किशोरमान श्रेष्ठले बताए । मुल बीउ ६ सय १४ केजी र उन्नततर्फ आधाभन्दा कम मात्रै उत्पादन भएको छ ।


केन्द्रले मुल बीउतर्फ काउलीको काठमाडौं स्थानीय, रायोको खुमल चौडापात, मूलाको मिनोअर्ली, प्याजको रेड क्रियोल, सलगमको पर्पल टप, केराउको सिक्किम लोक र आर्केल जातको बीउ उत्पादन गर्दै आएको छ । उन्नततर्फ बोडीको मालेपाटन, घीउ सिमी चौमासे र त्रिशुली, झ्याङे सिमीको कन्टेन्डर, भिण्डीको पार्वती, स्वीसचार्डको फोर्डहुक जायन्ट र धनियाँको स्थानीय चम्चुरको स्थानीय जातको बीउ उत्पादन गर्ने गरेको छ । ‘गत आर्थिक वर्षमा लक्ष्य राखिएको भन्दा आधाभन्दा कम नै बीउ उत्पादन गर्न सकियो,’ केन्द्र प्रमुख श्रेष्ठले भने, ‘बीउ उत्पादन गर्ने कुरामा मौसमी जोखिम हुन्छ । त्यसैले एकदम कमै बीउ उत्पादन हुन सक्यो ।’ असिनाका कारण पनि उत्पादन घटेको उनले बताए ।


गत आर्थिक वर्षमा लक्ष्यअनुसार बीउ उत्पादन नभएपछि केन्द्रले चालु आर्थिक वर्षमा भने तरकारीको उत्पादन बढाउने गरी लक्ष्य राखेको छ । केन्द्रले चालु आर्थिक वर्षमा प्रजनन् बीउ १८ दसमलब २ केजी, मुल बीउ १ हजार ६ सय ५० केजी र उन्नत बीउ ८ सय केजी उत्पादनको लक्ष्य कायम गरेको छ । असिनापानीबाट जोगाउन सके लक्ष्यअनुसार बीउ उत्पादन गर्न सकिने श्रेष्ठले बताए । असिनाको रोकथाम तथा अरु किराहरू नियन्त्रण गरेर बीउ उत्पादन बढाउने गरी कार्यक्रम तय गरिएको उनको भनाइ छ । उत्पादित तरकारीको बीउ बिक्री गरेर गत आर्थिक वर्ष केन्द्रले १३ लाख ८६ हजार ५ सय ९३ रुपैयाँ राजश्व संकलन गरेको छ । उक्त वर्षमा १६ लाख २९ हजार ७ सय ४४ रुपैयाँ राजश्व संकलन भएको थियो ।


२०३५ सालमा समशीतोष्ण तरकारी बीउ उत्पादन केन्द्रको नामबाट स्थापना भएको यो केन्द्र हाल तरकारी बीउ उत्पादन केन्द्र मात्रै छ । चालु आर्थिक वर्षमा केन्द्रका लागि ४ करोड ५६ लाख ३१ हजार बजेट विनियोजन भएको छ । यो बजेट केन्द्र स्थापना भययताकै ठूलो भएको केन्द्रले जनाएको छ । केन्द्रबाट उत्पादित बीउ रुकुम पश्चिमको साथै रुकुम पूर्व, सल्यान, दाङ, रोल्पा, प्यूठान, जाजरकोट, सुर्खेत, नेपालगन्ज र काठमाडौंलगायत जिल्लामा पुग्छ । पछिल्लो समय स्रोतसाधन अभाव तथा अन्य व्यवस्थापन, निर्दिष्ट योजनासँगै पूर्वनिर्धारित कार्यक्रम कार्यान्वन हुन नसक्दा केन्द्रको उत्पादन घटिरहेको जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले बताए । ‘केन्द्रको उत्पादन बढाउन समयानुकूलका कार्यक्रम र केन्द्रलाई स्रोतसाधनयुक्त बनाउनुपर्छ,’ उनले भने ।

प्रकाशित : कार्तिक ३, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?