३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राराको कोसेली सिमी र स्याउ

राजबहादुर शाही

(मुगु) — रारा घुम्न आउने पर्यटकको रोजाइमा यहाँको अर्गानिक सिमी र स्याउ पर्ने गरेको छ । यसको बिक्री बढेपछि स्थानीयले उत्पादनमा समेत जोड दिन थालेका छन् ।

राराको कोसेली सिमी र स्याउ

असोजदेखि मंसिरसम्म स्याउ र कात्तिकदेखि फागुनसम्म सिमी कोसेलीका रूपमा प्रयोग हुने गरेको छ । पर्यटकले मुर्मा, झ्यारी, पिना, माथितुम रताल्चालगायत बस्तीमै पुगेर लैजाने गरेका मुर्मागाउँका गोरखबहादुर रोकायाले बताए । स्थानीयले रारा विमानस्थल र ताल नजिकैसम्म पनि बेच्न पुर्‍याउने गरेका छन् । ‘सिमी र स्याउको बिक्री बढेपछि गाउँलेले धेरै कसरी फलाउने भन्नेमा चासो दिएका छन्,’ उनले भने, ‘यसले कृषि पेसामा आकर्षण पनि बढाएको छ ।’ मुगुमा सिमी प्रतिकेजी १ सय २० रुपैयाँ र स्याउ प्रतिकेजी ४५ रुपैयाँमा किनबेच हुने गरेको छ ।


विगतमा बिक्री नभएर स्याउ खेर जाने गरेको थियो । गाउँबाटै खरिदबिक्री हुन थालेपछि स्थानीय किसान दंग छन् । छायानाथ–रारा नगरपालिका–७ का वडाध्यक्ष हरिचन्द शाहीले रारामा पर्यटकको पहुँच बढेसँगै व्यापार व्यवसाय पनि बढेको बताए । आगामी दिनमा यहाँका उत्पादनलाई अझ सजिलोसँग बजारीकरण गर्नुपर्ने आवश्यकता उनले औंल्याए । ‘गाउँघरमै आफूले उब्जाएको चिजबिजले मूल्य पाएपछि खुसी हुने नै भयो,’ उनले भने, ‘आगामी दिनमा यसलाई अझ प्रभावकारी रूपमा बजारीकरण गर्नु आवश्यक छ ।’


यहाँ फल्ने गोल्डेन डेलिसियस प्रजातिको स्याउ रसिलो र गुलियो हुन्छ । अर्गानिक सिमीको दाल पनि स्वादिलो र पोसिलो हुने स्थानीयको भनाइ छ । रारा घुम्न आउने पर्यटकले किसानको बारीमै पुगेर स्याउ टिपेर आफ्ना परिवारलाई कोसेली लैजाने गरेका छन् । भण्डार गरेको भन्दा बोटबाटै टिपेर लिन पाउँदा पर्यटक खुसी हुने गरेका छन् । मुर्मागाउँको सिमी अधिक रुचाइएपछि यसपटक सरकारले मुर्मागाउँलाई सिमी जोन घोषणा गरेको छ । जिल्ला कृषि विकास अधिकृत केबी रोकायाका अनुसार मुगुमा बर्सेनी करिब ३ सय २० टन सिमी उत्पादन हुने गरेको छ । यहाँको उत्पादनलाई अझ बढी मूल्य दिलाउनका लागि प्याकिङमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।


७० घरधुरी भएको मुर्मागाउँमा गत वर्ष करिब ४ सय ९० क्विन्टल सिमी उत्पादन भएको थियो । त्यसमा आधा बिक्री गरेको स्थानीय धनसिंह रोकायाले बताए । बिक्री भएको सिमी पर्यटकले कोसेलीका रूपमा लगेका हुन् ।

सडकमार्ग हुँदै रारा घुम्न आउने पर्यटकले जुम्ला, सिँजाको मार्सी चामल पनि कोसेलीका रूपमा किनेर लैजाने गरेका छन् । देशका विभिन्न ठाउँबाट रारा घुम्न आउने पर्यटकले सिँजा उपत्यका भ्रमण गर्नुका साथै मार्सी चामल कोसेलीका रूपमा लैजाने गरेका हुन् । सिँजा, गोठीज्युलाका सार्की बुढाले गाउँमै पनि मार्सीर् चामल प्रतिकेजी १५० रुपैयाँमा बिक्री गर्ने गरेको बताए ।


प्रकाशित : कार्तिक ३, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?