गिट्टी कुट्न छाडेर च्याउ खेती

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका १, शान्तिनगरका बादी महिला व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् । बादी समुदायको बसोबास रहेको शान्तिनगरका अधिकांश घरधुरीमा च्याउखेती हुन थालेको छ । मजदुरी गर्दा जीविकोपार्जनमा समस्या भएको भन्दै बादी महिलाले च्याउखेती सुरु गरेका हुन् ।

गिट्टी कुट्न छाडेर च्याउ खेती

४ वर्षदेखि सामूहिक खेती गर्दै आएका दुई दर्जन बादी महिलाले गत वर्ष च्याउखेतीलाई एकल बनाएका हुन् । कम लगानी र परिश्रममा राम्रो आम्दानी हुन थालेपछि च्याउ खेतीमा आकर्षित भएको उनीहरूको भनाइ छ । उनीहरूले उत्पादन गरेको च्याउ स्थानीय बजारमा २ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । च्याउको माग र भाउ बर्सेनि बढ्दै गएपछि बादी महिलाहरू पनि हौसिएका छन् ।


च्याउ खेती सुरु गर्नुअघि उनीहरूले शारदा खोला किनारमा बालुवा संकलन र गिट्टी कुट्ने काम गर्थे । दिनभर मजदुरी गरे पनि परिवारको खर्च टार्न समस्या भएपछि च्याउ खेतीमा लागेको पुष्पा बादी बताउँछिन् । उनका अनुसार एकल रुपमा च्याउखेती सुरु गरेपछि आम्दानी बढ्न थालेको छ । ‘बालुवा संकलन र गिट्टी कुट्दा मुस्किलले २ सय रुपैयाँ कमाइ हुन्थ्यो, दुःख धेरै भए पनि कम ज्याला पाउँदा समस्यामा थियौं,’ उनले भनिन्, ‘च्याउबाट एकै सिजनमा ४० हजारसम्म कमाउन थालेका छौं ।’ उनका अनुसार आफूहरूको आम्दानी देखेर अन्य समुदायका महिलाले समेत च्याउखेती गर्न थालेका छन् ।


शान्तिनगरमा २९ बादी परिवार बस्दै आएका छन् । त्यसमध्ये दुई दर्जन बढी घरधुरीमा च्याउ उत्पादन हुन्छ । बादी समुदायका अधिकांश पुरुषले श्रीनगर र आसपासका क्षेत्रमा मजदुरी गर्छन् । मजदुरी गरेको आम्दानी मदिरा सेवनमै सक्ने भएकाले घरखर्च महिलाले नै जुटाउनुपर्ने बाध्यता छ ।


स्थानीय सुनीता बादीले घरमै च्याउका ४० पोका राखेको बताइन् । ‘परम्परागत पेसा संकटमा परेपछि मजदुरी गर्ने, गिट्टी कुट्ने र बालुवा संकलन गर्ने कामले घरखर्च चलाउन हम्मे भयो,’ उनले भनिन्, ‘केही वर्ष सामूहिक च्याउखेती गर्‍यौं, आफ्नै जग्गा नह्ुँदा फस्टाएन, त्यसैले छुट्टिएर घरघरमा च्याउखेती गर्ने निर्णयमा पुगेका हौं ।’ उनले सिजनमा ५० हजार रुपैयाँम्म आम्दानी गरिरहेको बताइन् । उनका अनुसार च्याउ खेती गर्न थालेपछि घरखर्च टार्न र छोराछोरी पढाउन सजिलो भएको छ ।


आफ्नै जग्गा नहुँदा ठूलो परिणाममा च्याउखेती गर्न नसकिएको बादी महिलाको गुनासो छ । जनता आवास कार्यक्रममार्फत निर्माण गरिएका दुई कोठे भवनमध्ये एउटा कोठामा च्याउखेती गर्ने गरिएको स्थानीय निर्मला बादीले बताइन् । स्थानीय देवी बादीले च्याउबाट आम्दानी हुन थालेपछि सामूहिक रुपमा केही रकम बचत गर्दै आइरहेको बताइन् । उनका अनुसार सरकारी सहयोग नहुँदा च्याउखेती फस्टाउन सकेको छैन ।

प्रकाशित : कार्तिक २, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?