१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शीतलपोखरी–तिलाडाँडा खण्ड : स्थानीयको अवरोधपछि रोकियो सडक स्तरोन्नति

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — शीतलपोखरी–चुनवाङ सडकअन्तर्गत शीतलपोखरी–तिलाडाँडा खण्ड स्तरोन्नतिको काम रोकिएको छ । स्थानीयको अवरोधपछि सडक स्तरोन्नतिको काम रोकिएको हो ।

मुसीकोट नगरपालिका ९, होलताराका बासिन्दाले सडक निर्माणमा अवरोध गरेका हुन् । निर्माणका क्रममा झरेको पहिरोले गाउँ तथा स्वास्थ्यचौकी जोखिममा परेको भन्दै त्यसको दिगो समाधान गर्नुपर्ने माग उनीहरूको छ । वडा ९ का अध्यक्ष नवीन ओलीले सडक निर्माणका क्रममा आएको पहिरोले क्षति पुगेपछि स्थानीयले क्षतिपूर्ति माग गरेको बताए । उनका अनुसार स्तरोन्नतिका क्रममा ठूलो पहिरो गएकाले त्यसमा जाली लगाउनुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग स्थानीयको छ ।


मुसीकोट नगरपालिका ४, ६, ७, ९ र १० सम्मको १८ किमि आस्फाल्ट कंक्रिट गर्ने गरी पीएच/शंकरमाली निर्माण सेवालाई जिम्मा दिइएको छ । आस्फाल्ट कंक्रिटअन्तर्गत ३० एमएम बाक्लो पिच गर्नेगरी ठेकेदार कम्पनी र ग्रामिण सडक सञ्जाल सुधार आयोजनाबीच सम्झौता भएको थियो । विभिन्न कारणले वर्षाअघि रोकिएको काम अझै सुचारु हुन नसकेको आयोजना प्रमुख, डिभिजन इन्जिनियर गौरीकुमार श्रेष्ठले बताए । ‘समस्या समाधानका लागि प्रयास गरिरहेका छौं,’ उनले भने, ‘केही दिनमै सडक स्तरोन्नतिको काम सुरु हुने हाम्रो अपेक्षा छ ।’


ठेकेदार कम्पनीको लापरबाहीले सडक निर्माणमा ढिलाइ भइरहेको स्थानीयको आरोप छ । स्थानीयका अनुसार ठेकेदार कम्पनीले भुक्तानी नदिँदा सडक निर्माणमा संलग्न कामदारले ज्याला पाउन सकेका छैनन् । ठेकेदार कम्पनीले भने ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले नै भुक्तानी नदिएपछि समस्या भएको जनाएको छ ।


सडकमा १ वर्षअघि सडक स्तरोन्नतिको काम सुरु भएको हो । आयोजनाका अनुसार वर्षा लाग्नुअघि नै सडकमा कटिङ, तारजाली, ग्याबिन तथा फुक्का पर्खाललगायत ग्राभेलको काम सक्नुपर्ने थियो । तर आधा काम सकिनुपर्ने बेलासम्म २० प्रतिशत निर्माण मुस्किलले भएको इन्जिनियर श्रेष्ठले बताए । सडक निर्माणलाई तीव्र बनाउन ५ खण्ड बनाएर काम सुरु गरिएको उनको भनाइ छ । ठेकेदार कम्पनीको ढिलाइले अधिकांश काम अलपत्र रहेको उनी बताउँछन् । उनका अनुसार एउटा खण्डमा ठेकेदार कम्पनीले कामै सुरु गर्न सकेको छैन । निर्माणमा संलग्न प्राविधिकका अनुसार ठाँटीखोलादेखि तिलाडाँडासम्मको खण्डमा काम अझै सुरु हुन नसकेको हो ।


विभिन्न खण्डमा काम गरेका मजदुरलाई ज्याला नदिएपछि काम प्रभावित भएको आयोजनाले जनाएको छ । २ वर्षमा काम सक्ने भन्दै निर्माण कम्पनीले भ्याटबाहेक ४८ करोड ९४ लाख रुपैयाँमा सडक स्तरोन्नतिको सम्झौता गरेको छ । डिभिजन इन्जिनियर श्रेष्ठका अनुसार यो सडक प्राविधिक हिसाबले उच्च गुणस्तरीय र प्राविधिक हिसाबले महँगो हो । ‘२ वर्षमा सडकको आधारभूत काम सकिनेछ,’ उनले भने, ‘३ वर्षमा बाँकी सुधारका काम हुनेछन् ।’

प्रकाशित : कार्तिक २, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?