बाली भित्र्याउने चटारो

स्थानीयका अनुसार कोजाग्रत पूर्णिमाकै दिनदेखि किसानको व्यस्तता बढेको हो, सबैको बाली एकैपटक पाकेकाले धान काट्ने मानिस पाइँदैनन्
राजबहादुर शाही

(मुगु) — सोरु गाउँपालिका ४, का गोपाल कामी बिहानैदेखि राति अबेरसम्म बारीमै व्यस्त बन्न थालेका छन्  । बारीमा कोदो, धान, चिनो, कागुनो र मकै पाकेसँगै उनलाई भ्याइनभ्याइ भएको हो  । छायानाथरारा नगरपालिका १० की मायादेवी बुढा पनि तीन दिनयता अन्न स्याहार्ने हतारोमा छिन् ।

बाली भित्र्याउने चटारो

उनीहरू मात्र होइन, दसैं सकिएसँगै अन्नबाली भित्र्याउने चटारोले अधिकांश किसानको दिन बारीमै बित्ने गरेको हो । तिहारको रौनक सुरु नहुँदै बाली भित्र्याइसक्ने योजनासहित बालबालिकादेखि बृद्धसम्म बारीमै व्यस्त छन् । ‘दुःख कष्ट गरी लगाएको बाली समयमै स्याहार्न नसके खेर जाने जोखिम हुन्छ,’ उनले भनिन्, ‘यस वर्ष अनुकुल वर्षा भएकाले अन्नबालीको उत्पादन राम्रो भएको छ ।’ उनका अनुसार लेकाली बस्तीमा कोदो र बेसींमा धान काट्ने लहर चलेको छ ।

किसान बारीमै व्यस्त बन्न थालेपछि सोरु, खत्याड, मुगमकार्मारोङ गाउँपालिका र छायाँनाथरारा नगरपालिकाका बस्तीहरू सुनसान बन्न थालेका छन् । यस वर्ष दसैं छिटो परेकाले ढुक्कले अन्न भित्र्याउन पाइएको खत्याड गाउँपालिका १० का तिलक रावलले बताए । ‘उत्पादन पनि सन्तोषजनक भएको छ, तिहार नलाग्दै अन्न भित्र्याइसक्ने योजना छ,’ उनले भने, ‘दसैं–तिहार बिदा भएकाले बालबालिकादेखि बृद्धसम्म खेतबारीमा व्यस्त बन्न थालेका हौं ।’

जिल्लाको खाद्य भण्डारको रुपमा चिनिने खत्याड गाउँपालिकाका किसान पनि धान काट्न जुटेका छन् । अगुवा कृषक राजबहादुर कार्कीले अधिकांश ज्युला धान पाकेर पहेँलै बनेको बताए । उनले बारीको सिमी र कोदो भित्र्याएर खेतको धान काट्न सुरु गरिसकेको जानकारी दिए । उनका अनुसार कोजाग्रत पूर्णिमाकै दिनदेखि किसानको व्यस्तता बढेको हो । सबैको बाली एकैपटक पाकेकाले धान काट्ने मानिस पाइन छोडेको उनी बताउँछन् ।

जिल्लामा सबैभन्दा कम अन्न उत्पादन हुने मुगुमकार्मारोङ गाउँपालिकाको माग्री, छाइल, मह, रिउसलगायत बस्तीमा भने कोदो, सिमी, फापर र आलु भिर्‍याउन सुरु गरिएको छ । ‘उत्पादन हुदैन भनेर जमीन बाँझै राख्नु भएन,’ मुगु गाउँका टाँसी लामाले भने, ‘त्यसैले जति उब्जनी भए पनि भित्र्याउन सुरु गरेका छौं ।’ उनका अनुसार गाउँपालिकाका अधिकांश क्षेत्रमा आलुको उत्पादन बढी हुन्छ । वर्षमा एक बालीमात्र पाक्ने भएकाले चिनियाँ खाद्यान्न र खाद्य संस्थानको भर पर्नुपर्ने उनको गुनासो छ ।

जिल्लाका किसानलाई तिहार सकिएसँगै हिउँदमा पशु चौपायालाई खुवाउनका लागि घाँस काट्ने चटारो हुन्छ । हिमपातको समयमा गाइभैसी चराउन नसकिने भएकाले किसानले कार्तिक–मंसिरमा नै घाँस काटेर गोठमा थन्क्याउने गरेका छन् ।

प्रकाशित : कार्तिक १, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?