सानीभेरीमा ग्राम अस्पताल

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — सानीभेरी गाउँपालिकाले ग्राम अस्पताल सञ्चालनका लागि तयारी गरेको छ । गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनका लागि छोटेबगरमा भवनसमेत निर्माण गरिसकेको छ । 

सानीभेरीमा ग्राम अस्पताल

ग्राम अस्पतालमा यसै आर्थिक वर्षदेखि चिकित्सकसहितको उपचार सेवा प्रवाह गर्नेगरी काम भइरहेको छ । अस्पताल सञ्चालनका लागि थप भवन, जनशक्ति व्यवस्थापनलगायत काम भइरहेको गाउँपालिकाले जनाएको छ । आगामी कार्यपालिका बैठकबाट अस्पताल सञ्चालनका लागि थप निर्णय हुने र अन्य कामले तीव्रता पाउने जनप्रतिनिधिको भनाइ छ । अस्पताल सञ्चालनका लागि म्ख्यु भवनको निर्माण सकिएकाले अन्य प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले बताए ।


चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भए अनुसार १५ शय्याको अस्पताल बनाउन लागिएको संयोजक केसीले जानकारी दिए । ‘अस्पताल सञ्चालनका लागि चाहिने संरचना र अरू तयारी धमाधम भइरहेका छन्,’ उनले भने, ‘जतिसक्दो छिटो अस्पताल सञ्चालनमा ल्याउने हाम्रो योजना छ ।’ गाउँपालिकाले अस्पतालका लागि यस वर्ष एक करोड पाँच लाख रुपैयाँ विनियोजन गरेको उनको भनाइ छ । मुख्य भवन बनिसकेकाले विरामी भर्नाका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापन गरेलगत्तै अस्पताल सञ्चालनमा आउने उनी बताउँछन् ।


अस्पताल सञ्चालनका लागि एक जना चिकित्सकसहित स्टाफ नर्स, एचए तथा अहेव र अनमी करारमा नियुक्ति गर्ने गाउँपालिकाको तयारी छ । समायोजन भएर आएका स्वास्थ्यकर्मी पनि अस्पतालमा खटिने भएकाले जनशक्ति व्यवस्थापनमा खास समस्या नपर्ने जनप्रतिनिधिको भनाइ छ । करारमा भर्ना गरिने जनशक्तिका लागि गाउँपालिका र संघीय सरकारबाट आएको बजेटबाट व्यवस्थापन गरिने अध्यक्ष नरबहादुर पुनले बताए ।

प्रकाशित : आश्विन ३०, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?