कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपांग समाजलाई अनुदान

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर, सुर्खेत — कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विश्व खाद्य दिवसको खर्च कटाएर अपांगता भएकाको हितमा क्रियाशील संस्थालाई अनुदान दिएको छ । खाद्य दिवसको खर्च कटाएर सुर्खेतको अपांग समाजलाई आर्थिक सहयोग गरिएको हो । 

३९ औं विश्व खाद्य दिवसमा अपांगता भएका व्यक्तिलाई कृषि पेशामा आकर्षित गर्नेगरी आवश्यक सामग्री खरिद गर्न अनुदान दिइने घोषणा गरियो । मन्त्रालयले त्यसका लागि अपांग समाजसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । अपांग समाजमा आबद्ध १० घरधुरीका ६५ जनालाई च्याउखेती गर्न चाहिने सामग्री खरिदका लागि मन्त्रालयले उक्त सम्झौता गरेको हो । खाद्य दिवसको रकम कटौती गरी मन्त्रालयले समाजलाई ३ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न लागेको हो ।


भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बन्द कोठामा खाद्य दिवस मनाएर लाखौ रकम खर्च गर्ने दिन सकिएको बताइन् । ‘नामले मात्र अर्गानिक कर्णाली हुँदैन, त्यसका लागि कृषि क्षेत्रमा सबैको आवद्धता जरुरी छ,’ उनले भनिन्, ‘अपांगता भएका व्यक्ति पनि यही समाजका अंग हुन्, उनीहरूलाई कृषि पेशामा जोड्न खाद्य दिवसको खर्च कटाएर सहयोग गरिएको हो ।’ सबै किसानलाई प्रोत्साहित गरे कर्णालीमा खाद्य संकटको अवस्था टर्ने मन्त्री केसीको भनाइ छ ।


मन्त्रालयले चालु आर्थिक वर्षमा ‘मेरो किसान, मेरो अन्नदाता’ नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेको मन्त्री केसी बताउँछिन् । ‘कार्यक्रमअन्तर्गत किसानका समस्या उनीहरूकै घर दैलोमा पुगेर सुल्झाइनेछ,’ उनले भनिन्, ‘अर्गानिक प्रदेश निर्माणको अभियानमा सबैको साथ र सहयोगी जरुरी छ ।’


आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले किसान सबैको जीवनदाता भएको बताए । अर्गानिक प्रदेश निर्माणका लागि सबै किसानलाई प्रोत्साहित गर्न जरुरी रहेको उनको भनाइ छ । ‘प्रदेश सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमलाई प्राथमिकता दिइरहेको छ,’ उनले भने, ‘जसका लायि यस वर्ष पनि पर्याप्त रकम विनियोजन गरिएका छौं ।’ कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भन्डारीले कर्णालीका विकट जिल्लामा खाद्यान्न संकट टार्न कृषि व्यवसायमा आबद्धता बढाउन जरुरी रहेको बताए । ‘खाद्यान्नको संकट हटाउन जमिन, मल, उन्नत बिउको प्रयोग समुचित हिसाबले हुन जरुरी छ,’ उनले भने, ‘ सबै किसानले आधारभूत प्राविधिक ज्ञान हासिल गर्नसके कर्णाली खाद्यान्नमा आत्मनिर्भर हुनसक्ने अवस्था छ ।’


प्रकाशित : आश्विन ३०, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?