रारा जाने पर्यटक बढे

कान्तिपुर संवाददाता

कालीकोट — जिल्ला समन्वय समिति, कास्कीका प्रमुख बैनबहादुर क्षत्री नेतृत्वको १८ सदस्यीय टोली कर्णाली राजमार्ग हुँदै रारा पुगेर फर्कियो  । फर्कने क्रममा यो टोलीले विभिन्न स्थानीय तहको अवलोकन गर्दै जनप्रतिनिधिसँग समेत अन्तर्क्रिया पनि गर्‍यो  ।

यो टोली मात्र होइन, बर्खा सकिएसँगै अधिकांश पर्यटक सडक मार्गबाट रारा जान थालेका छन् । सडक मार्गबाट आउने पर्यटकको संख्या बढेपछि कर्णाली राजमार्गमा आर्थिक गतिविधि बढ्दै गएको छ । सिजनमा एक दिन एउटै होटलमा सय बढी पर्यटक आउने गरेको व्यवसायीको भनाइ छ । कर्णाली राजमार्ग हुँदै सुर्खेत, बाँके, कैलाली, दाङ, बुटवल, काठमाडौ, चितवन, नवलपरासीलगायत जिल्लाबाट आन्तरिक पर्यटक आउने क्रम बढिरहेको हो । साना गाडी र जिप रिजर्भ गरी आन्तरिक पर्यटक रारा जाने गरेको व्यवसायीको भनाइ छ ।

केही पर्यटक मोटरसाइकलबाटै रारा पुग्ने गरेका छन् । ताडीस्थित होटल एभरेस्ट कर्णालीका सञ्चालक देवेन्द्र पाण्डेले असोज लागेपछि दिनहुँ करिब २ सय पर्यटक रारा जान थालेको बताए । ‘विगतमा दसैं–तिहारमा सबैजसो होटेल सुनसान हुन्थे,’ उनले भने, ‘अहिले राजमार्ग आसपासका सबैजसो होटेल भरिभराउ छन् ।’ उनले विराटनगर, बुटवल, सल्यान, चितवनलगायत जिल्लाका पर्यटकले कात्तिक ९ गतेसम्मका लागि होटेल बुक गरेको जनाए ।

रारा वरिपरि विभिन्न प्रजातिका फूल फूल्ने र चिसो धरै नहुने भएकाले राराको सिजन असोजदेखि सुरु हुने कर्णाली पर्यटन विकास समिति सदस्य मर्मजंग बमले बताए । उनका अनुसार हिमपात नहुँदासम्म रारा घुम्न उपयुक्त मानिन्छ । ‘जुम्ला र मुगु विमानस्थलमा जहाज सेवा नियमित नभएकाले सडकबाटै अधिकांश पर्यटक रारा आउने गरेका छन्,’ उनले भने, ‘सडकको स्तरोन्नति र अन्य पूर्वाधार विकास भए पर्यटकको संख्या बढ्दै जाने अपेक्षा छ ।’

घटस्थापनापछि दैनिक २ सयको संख्यामा पर्यटक सडक मार्गबाट रारा गएको होटल व्यवसायी संघका अध्यक्ष जनकबहादुर शाहीले बताए । ‘गत वर्षभन्दा यस वर्ष बढी आए,’ होटल चन्द्रसूर्यका संचालकसमेत रहेका उनले भने, ‘पाहुनाले होटल भरिभराउ हुन थालेका छन् ।’ उनले दसैं बिदाको सदुपयोग गर्दै पर्यटक रारा घुम्न आएको सुनाए । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि आन्तरिक पर्यटक कालिकोटको बाटो हुँदै जुम्लाको सिंजाबाट रारा जाने क्रम बढेको उनी बताउँछन् ।

विभिन्न जिल्लाका जनप्रतिनिधि, कर्मचारी, व्यापारीलगायत अन्य पर्यटक कर्णाली राजमार्गबाटै रारा पुग्ने गरेका हुन् । तर सबैले सडक साघुँरो र अप्ठ्यारो भएको गुनासो गर्दै आइरहेका छन् । रारा जान बुटवलबाट आएका नमराज केसीले सडक अप्ठ्यारो भए पनि ठाउँ निकै रमाइलो लागेको सुनाए । उनी मोटरसाइकलमा दुई दिनअघि बुटवलबाट हिडेर शनिबार बेलुकी मान्म पुगेका हुन् । उनीसँग १६ जनाको टोली छ । सबै मोटरसाइकलमा आएका हुन् ।

प्रकाशित : आश्विन २९, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?