२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पञ्चकोसी पर्यटकीय सडक : १८ महिनापछि सुबिस्ता

ज्योति कटुवाल

(दैलेख) — जिल्लाको प्रमुख पर्यटकीय तीर्थस्थल पञ्चकोसी क्षेत्रमा सडक कालोपत्रेको काम सुरु भएको छ  । १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कालोपत्रेको काम सुरु भएको हो  ।

सदरमुकाम हुँदै श्रीस्थानसम्मको ६ किमि सडक कालोपत्रे सुरु भएको हो । संघीय आयोजना कार्यान्वयन एकाइ, सुर्खेतका अनुसार पञ्चकोसी क्षेत्रका श्रीस्थान, नाभीस्थान, धुलेश्वर हुँदै पादुकासम्म जाने धार्मिक तथा पर्यटकीय सडकको कालोपत्रे गर्न लागिएको हो । सडक निर्माणका लागि एकाइले ५ करोड रुपैयाँको टेन्डर खोलेको थियो । सुपरस्टार कम्पनीले सडक कालोपत्रेको जिम्मा लिएको छ । कम्पनीले २९ प्रतिशत घटेर ४ करोड ७६ लाख रुपैयाँमा निर्माणको जिम्मेवारी लिएको छ । कार्यालयका अनुसार कम्पनीलाई नालीसहित ६ मिटर चौडा बनाएर कालोपत्रे गर्ने जिम्मा दिइएको हो ।

वडाध्यक्ष तीर्थनारायण श्रेष्ठका अनुसार सडकसँगै नाली व्यवस्थित गरे पञ्चकोसी आउने पर्यटकको संख्या वृद्धि हुने अपेक्षा छ । सडक समस्याका कारण धार्मिक तथा ऐतिहासिक महत्त्वको पञ्चकोसी क्षेत्रमा सोचेअनुसार पर्यटक भित्र्याउन नसकिएको उनले बताए । ‘निर्माण कम्पनीले निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी काम सुरु गरेको छ,’ उनले भने, ‘सडक कालोपत्रेको काम जतिसक्दो छिटो गर्न निर्माण कम्पनीलाई ताकेता गरेका छौं ।’ प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले दुई साताअघि निर्माण कार्यको शिलान्यास गर्दै गुणस्तरीय कामको लागि सबैको खबरदारी आवश्यक रहेको बताएका थिए । उनले काम समयमै सम्पन्न हुनसके पञ्चकोसी क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने जनाए ।

प्रतिनिधिसभा सदस्य रवीन्द्र शर्माले सदरमुकामदेखि श्रीस्थान सडक कालोपत्रे भए दैलेखको विकासले फड्को मार्ने जनाए । ‘पर्यटकले सडक जीर्ण हुँदा यात्रा सहज नभएको गुनासो गर्दै आइरहेका छन्,’ उनले भने, ‘सडक कालोपत्रे भएसँगै अन्य पूर्वाधार विकासमा सबै तहका सरकारले ध्यान दिन जरुरी छ ।’ कालोपत्रे गरिएसँगै सडकमा भल पसेर बाटो अवरुद्ध हुने समस्याको समाधान हुने उनी बताउँछन् । सडक स्तरोन्नतिका लागि नारायण नगरपालिकाले गत २ आवमा १ करोड ५० लाख रुपैयाँ खर्च गरिसकेको छ । सडक चौडा बनाउने, ग्राभेल गर्ने, मोड मिलाउनेलगायत काम गरिए पनि यात्रुले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । नगरपालिकाले केही स्थानमा पीसीसी गरे पनि काम गुणस्तरीय नभएको स्थानीयको गुनासो छ ।

ऐतिहासिक, पुरातात्त्विक र धार्मिक हिसाबले पञ्चकोसी क्षेत्र महत्त्वपूर्ण भए पनि पूर्वाधार अभावमा समस्या भएको नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले बताए ।

प्रकाशित : आश्विन २९, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?