३३ किमि कालोपत्रे हुँदै

चिसापानी–राडी खण्डका लागि २१ करोडको बजेट स्टिमेट तयार, जसका लागि चालु आवमा प्रदेश सरकारबाट ८ करोड विनियोजन
हरि गौतम

(रुकुम पश्चिम) — राडी–रिम्ना सडक कालोपत्रे हुने भएको छ  । जाजरकोट–डोल्पा खण्डअन्तर्गत सडकको जिरोप्वाइन्ट आठबीसकोट नगरपालिकाको चिसापानीसम्मको ३३ किमि सडक कालोपत्रे हुने भएको हो  ।

३३ किमि कालोपत्रे हुँदै

कालोपत्रेका लागि आधारभूत काम सकिएको छ । कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएको हो । जिरो प्वाइन्टदेखि चिसापानीसम्मको सडक संघीय सरकारले कालोपत्रे गर्न थालेको हो । त्यस्तै चिसापानी–राडी खण्डको कालोपत्रेको काम कर्णाली प्रदेश सरकारले गर्ने भएको छ । प्रदेश सरकारले कालोपत्रे गर्न थालेको सडक ७ किमि लामो छ । जाजरकोट–डोल्पा सडकको पहिलो खण्ड चौरजहारी सडक डिभिजनमार्फत संघीय सरकारले कालोपत्रे गर्न थालेको हो । सडकका लागि झन्डै एक अर्ब बजेट अनुमान गरिएको छ । सडक कालोपत्रेका लागि ठेक्का आह्वान गर्ने अन्तिम तयारी भइरहेको डिभिजनले जनाएको छ । कार्यालयका अनुसार चालु आवमै कालोपत्रेको काम सुरु हुनेछ ।

चिसापानी–राडी सडकका लागि २१ करोड रुपैयाँको बजेट स्टिमेट तयार भएको छ । जसका लागि चालु आवमा कर्णाली प्रदेशले ८ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । बहुवर्षीय ठेक्काअन्तर्गत उक्त सडकको काम हुन थालेको हो । उक्त सडक कालोपत्रेका लागि पनि ठेक्का आह्वानको तयारी भइरहेको हो ।

कालोपत्रे हुन लागेको सडकमध्ये २० किमि जाजरकोट र २० किमि रुकुम पश्चिममा पर्छ । आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले धेरै प्रयास र पहलपछि रिम्ना–राडी सडक कालोपत्रे हुने पक्का भएको बताए । उनका अनुसार आठबीसकोट र जाजरकोटको नगलगाड नगरपालिकामा कालोपत्रेको काम हुनेछ । सडक कालोपत्रेका लागि आवश्यक कागजात तथा सिफारिस नगरपालिकाले दिइसकेको उनको भनाइ छ । जाजरकोट–डोल्पा सडकको ट्र्याक खुलेको लामो समयपछि ३३ किमि सडकखण्ड कालोपत्रे हुने भएको हो ।

चिसापानीसम्मको सडक संघीय सरकारमार्फत कालोपत्रे हुने भएपछि आठबीसकोटको केन्द्रसम्मको ७ किमि सडक कालोपत्रे गर्न गराउन कर्णाली प्रदेश सरकारसमक्ष नगरपालिकाले अनुरोध गरेको थियो । सडक कालोपत्रे भएपछि रुकुम र जाजरकोट हुँदै डोल्पा आउजाउ गर्ने यात्रुलाई सुविधा हुनेछ । सडक कालोपत्रे भएपछि बाह्रैमहिना यातायात सञ्चालन हुने अपेक्षा छ ।

प्रकाशित : आश्विन २९, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?