चौरजहारीमा ८ महिनापछि नगर बस

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — चौरजहारी नगरपालिकाले नगर बस चलाउने अन्तिम तयारी गरेको छ  । अघिल्लो आवमा खरिद गरिएका बस चलाउने तयारी अन्तिम चरणमा पुगेको हो  ।

स्थानीयको सुविधाका लागि बस खरिद गरिएको नगरपालिकाले जनाएको छ । नगर कार्यपालिका बैठकले विभिन्न वडाबाट नगरपालिकाको केन्द्रसम्म आउजाउ सहज बनाउन बस खरिदको निर्णय गरेको थियो । नगरपालिकाले ३ मिनीबस खरिद गरिसकेको छ । गत फागुन २८ गते चौरजहारीमा बस आइपुगेका थिए । ब

स ल्याइसकेपछि आवश्यक प्रक्रिया पूरा नहुँदै वर्षा लागेपछि सञ्चालनमा समस्या भएको थियो । ‘अरु प्रक्रिया लगभग सकियो, अब बर्खामा बिग्रिएका सडक सफा गरेपछि बस चल्छन्,’ नगर प्रमुख विशाल शर्माले भने, ‘विभिन्न प्रक्रिया पूरा गर्दागर्दै वर्षा सुरु भएकाले समस्या भएको थियो ।’ नगरका बासिन्दालाई सुलभ भाडामा गाडी चढाउने उद्देश्यसहित बस खरिद गरिएको उनको भनाइ छ ।

महंगो भाडा तिर्दा पनि समयमा गाडी नपाइने र समयमै गन्तव्यमा पुग्न नसक्ने बाध्यताबाट स्थानीयलाई छुटकारा दिन बस खरिदको निर्णय गरिएको उनी बताउँछन् । नगरपालिकाले १ करोड ४ लाख रुपैयाँमा बस खरिदको टेन्डर आह्वान गरेको थियो । ८२ लाख १५ हजार रुपैयाँको टेन्डर स्वीकृत गरी बस खरिद गरिएको कार्यालयले जनाएको छ । नगरपालिकाका अनुसार ३२ सिट भएका २ बस ३१ लाख १० हजार र २६ सिट भएको अर्को बस २७ लाख ९५ हजार रुपैयाँमा खरिद गरिएको थियो । नगर कार्यपालिकाले रुटअनुसार बसको भाडासमेत कायम गरिसकेको छ ।

विभिन्न १८ चोक, बजार र क्षेत्रको भाडा निर्धारण गरिएको छ । कार्यपालिकाले निर्धारण गरेको भाडाअनुसार चौरजहारीदेखि नाउलीसम्मको भाडा २ सय छ । स्थानीयले अहिले उक्त रुटमा ४ देखि ५ सय रुपैयाँसम्म भाडा तिर्दै आइरहेका छन् । चौरजहारी नगरपालिकाको बजार क्षेत्रमा २० रुपैयाँ भाडा तोकिएको छ ।

प्रकाशित : आश्विन २८, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?