१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कारागारमै उपचार

कान्तिपुर संवाददाता

सल्यान — लामो समयदेखि स्वास्थ्य सेवाबाट वञ्चित भएका कारागारका कैदीबन्दीको जेलभित्रै उपचार गरिएको छ  । स्वास्थ्य उपचारका क्रममा अधिकांश कैदीबन्दीमा रक्तचाप र मधुमेहको समस्या बढी देखिएको छ  ।

नेपाल विद्यार्थी संघले शारदा मेट्रो अस्पतालको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा सय बढी कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको जेलर बलबहादुर केसीले बताए । कारागारमा कार्यरत स्वास्थ्यकर्मी समायोजनका क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दीको उपचारमा समस्या भएको थियो ।

चौकीदार मोहन थापाका अनुसार स्वास्थ्यकर्मीको सरुवापछि कैदीबन्दीले ३ महिनादेखि उपचार सेवा पाएका थिएनन् । ‘कारागारमै स्वास्थ्यकर्मी कार्यरत हुँदा सातामा दुईपटक स्वास्थ्य परीक्षण गरिन्थ्यो,’ उनले भने, ‘स्वास्थ्यकर्मीको सरुवाले केही स्वास्थ्य समस्या देखिए पनि उपचारबाट वञ्चित थियौं, शिविरले धेरै राहत पुगेको छ ।’

स्वास्थ्यकर्मीका अनुसार शारिरीक व्यायाम नगर्दा कैदीबन्दीमा मोटोपनासँगै रक्तचाप र मधुमेहको समस्या बढी देखिएको हो । नेविसंघका अध्यक्ष प्रकाश भण्डारीले कैदीबन्दीले लामो समयदेखि स्वास्थ्य उपचार नपाएको गुनासो बढेपछि कारागारभित्रै शिविर सञ्चालन गरिएको जानकारी दिए । ‘कारागारमा विभिन्न नसर्ने रोगको समस्या बढी देखियो, कैदीबन्दीको रक्तपरीक्षणसमेत गरिएको छ,’ उनले भने, ‘उनीहरूलाई रोग निदानका लागि औषधिसमेत वितरण गरेका छौं ।’

शारदा मेट्रो अस्पतालका डा. मानबहादुर केसीले विरामी कैदीबन्दीलाई विभिन्न परामर्शसहित उपचार र औषधि प्रदान गरिएको जानकारी दिए । ‘लामो समयदेखि उपचार नपाएका कारण केही कैदीबन्दीमा धेरै स्वास्थ्य समस्या एकैसाथ देखियो, विरामीलाई निःशुल्क औषधि र परामर्श दिएका छौं,’ उनले भने, ‘स्वास्थ्य सेवा सबैका लागि आधारभुत र अनिवार्य छ, कारागारमा स्वास्थ्यकर्मी नआउँदासम्म कैदीबन्दीका लागि निःशुल्क उपचार दिन तयार छौं ।’

प्रकाशित : आश्विन २८, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?