रामीडाँडा मेलामा देउडा र पैसेरी

कान्तिपुर संवाददाता

जाजरकोट —  बारेकोट गाउँपालिका १, मा रामीडाँडा मेलाको रौनक सुरु भएको छ  । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रामीडाँडामा बर्सेनि कोजाग्रत पूर्णिमादेखि तीन दिन ऐतिहासिक मेला लाग्दै आएको छ  ।

मेला भर्न आएका हजारौं स्थानीयको भीडले रामीडाँडाको शिर्पाचौर, आगर, धौलाकोट, कोटेली, लिम्सालगायत गाउँ भरिभराउ भएका छन् । मेलामा बर्सेनि धामी नाच्ने गरिएको छ । मेलाको अवसरमा भलिबल, चेस, छेलोलगायत प्रतियोगिता सञ्चालन गरिएको हो । स्थानीय यज्ञराज ज्योतिका अनुसार समयजी र महादेव देवताको पूजा गर्ने परम्पराअनुसार बर्सेनि मेलाको आयोजना गर्ने गरिएको हो ।

‘महिला तथा पुरुष घण्टा, त्रिशूल, ध्वजा, अक्षता, चौंरीको पुच्छरलगायत सामग्री हातमा लिएर दमाहा र झ्यालीको तालमा धामी नाच्ने परम्परा छ,’ उनले भने, ‘धामी नाच र विशेष पूजासँगै मेलाको समापन गरिन्छ ।’ मेलाको अवसरमा मन्दिरमा बलिसमेत चढाउने गरिएको उनले जानकारी दिए । मेला करिब ३ सय वर्ष अघिदेखि लाग्दै आएको उनले जनाए ।

मेलामा धामीसहित देउडा, सरंगे, सिकारु, ख्याली, पैसेरीलगायत नाच प्रदर्शन हुने गरेको छ । मेला भर्न जाजरकोटका साथै सल्यान, रुकुम, डोल्पा, जुम्लालगायत जिल्लाका बासिन्दा आउने गरेका छन् । मेलामा दैनिक १५ हजार बढीे तीर्थालु आइरहेको मेला आयोजक समिति संयोजक द्वारिकाप्रसाद बुढाले बताए । उनका अनुसार मेलामा ५ करोड बढीको आर्थिक कारोबार हुने अनुमान छ । उनका अनुसार अर्ग्यानिक खाना, बारेकोटी गाभा, निगालोको डोको डाला, जडीबुटी, मठ मन्दिर, चाखुरे हिमाल, ठाकुरजीलगायत कारण मेलाको महत्त्व बढ्दै गएको हो ।

जिल्लामा दसैंपछि लाग्ने सबैभन्दा पहिलो मेला भएकाले दर्शनार्थीको घुँइचो बढिरहेको उनी बताउँछन् । जिल्लाका ग्रामीण क्षेत्रमा असोज अन्तिम सातादेखि पुस मसान्तसम्म तीन दर्जन बढी परम्परागत मेला लाग्ने गरेका छन् । जाजरकोटमा जिन्ताला भुवा, धारपानी, रमाइलो, चिनगुम्दा, काप्ती, पजारु, बाटुले, शिवालय, सुवानाउलीलगायत मेला महत्त्वपूर्ण मानिन्छन् ।

प्रकाशित : आश्विन २८, २०७६ ११:३७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोपीडितलाई वर्ष दिनमै घर

भूकम्पपीडित साढे ४ वर्षदेखि भत्किएकै घरमा बसिरहेका बेला जलजलाका पहिरोपीडितले भने नयाँ घर पाएका छन्
कान्तिपुर संवाददाता

पर्वत — अघिल्लो साउनमा १६ वर्षीय छोरा गुमाएका जलजला–८ बरेनेटाका बमबहादुर परियारको बस्ने बासै थिएन  । छोरा गुमाएको पीडासँगै एक वर्षसम्म कहिले त्रिपाल त कहिले छिमेकीको सहारामा बिताए  ।

उनले यसपालीको दसैंमा नयाँ घरमा टीका लगाउन पाएका छन् । बमबहादुरजस्तै यहाँका १९ परिवारले नयाँ घरमा दसैं मनाए । सबै परिवारले पुरानो दुःख बिर्सिएर दसैंदेखि नयाँ खुसीको सुरुवात गर्न पाएकोमा उत्साहित भएका छन् । भूकम्पपीडित साढे ४ वर्षसम्म भत्किएकै घरमा बसिरहेका बेला जलजलाका पहिरोपीडितले भने एक वर्षमै नयाँ घर पाएका छन् ।

अन्तर्राष्ट्रिय पर्वत समाजमा आवद्ध पर्वत समाज यूके, जापान, बेल्जियम, कतार, यूएई, जलजला गाउँपालिकालगायतको सक्रियतामा पीडितका घर एक वर्षमै निर्माण भएका हुन् । अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललगायतले पीडित परिवारलाई घर हस्तान्तरण गरे । विभिन्न संस्थाको आर्थिक सहयोग र जलजला–८ नाग्लीवाङको सहकार्यमा पीडितका घर बनाएर नयाँ घर हस्तान्तरण गरिएको हो ।

अध्यक्ष गिरीले विदेशमा रहेका नेपाली स्वदेशमा परेका हरेक अप्ठ्यारो र समस्यामा संधै साथमा रहेको बताए । ‘भूगोल जति टाढा भए पनि मन नजिक भएपछि समस्यामा साथ दिन सकिन्छ,’ गिरीले भने, ‘हामीले यहाँ गरेको सहयोग त्यसकै प्रतिविम्ब हो ।’ मल्लले पीडित परिवारलाई घर बनाउन सहयोग गर्ने संघसंस्थाप्रति आभार व्यक्त गरे । ‘भूकम्पले घर भत्किएकाले चार वर्षसम्म नयाँ घरमा बस्न पाएका छैनन्,’ मल्लले भने, ‘हामीलाई पनि त्यही चिन्ता थियो । तर, सबैको सक्रियताले एक वर्षमै पीडितलाई नयाँ घरमा सार्न पाइयो । विकासमा सबैतिर यस्तै छरितो भैदियोस् ।’

पीडित परिवारको बसोबास व्यवस्थापन गर्न र आगामी दिनमा क्षति नहोस् भनेर बस्ती संरक्षणका लागि संघ र प्रदेश सरकारसँग सहयोग माग गरेको उनले बताए । पहिरोले बस्ती नासेको एक वर्षमै फर्किएको खुसी सधैं टिकाइराख्न यस्तै साथ सहयोगको अपेक्षा गरिएको पीडितले बताए । ‘एक वर्षमै नयाँ घरमा बस्ने कल्पना पनि गरेकी थिइन्,’ पीडित रुपा परियारले भनिन्, ‘सबैको साथसहयोगले खुसी फिरेको छ ।’ नयाँ घरमा दसैं मनाउन पाउँदाको खुसी वर्णन गर्नै नसकिएको पीडितले बताए ।

पहिरोले चारैतिरबाट पुरिएको बस्तीलाई सम्याएर नयाँ बनाइएको हो । प्रतिपरिवार ३ लाख रुपैयाँका दरले सहयोग रकम छुट्याइएको थियो । बाँकी स्थानीयले श्रमदान गरेका हुन् । त्यसबाहेक केही लायन्स क्लबले पनि सहयोग गरे । एउटा घर निर्माण गर्दा कम्तीमा ७ लाख खर्च हुने अनुमान गरिएकोमा स्थानीयको श्रमदानले करिबव आधा रकम कम खर्चमा भएको गाउँपालिकाले जनाएको छ । ‘पीडित आफैं सक्रिय भएकाले थोरै रकममा बस्ती बनाउन सकियो,’ वडा–८ का अध्यक्ष हरिविकास जिसीले भने, ‘नत्र धेरै खर्च हुन्थ्यो । हाम्रो अनुमान प्रतिघर ७ लाख खर्च हुने थियो । समय पनि धेरै लाग्थ्यो ।’

पीडितले नयाँ घरसँगै अब पुरानो समस्या दोहोरिने चिन्ता भने हराएको छैन । पीडितहरूले अन्यत्र जग्गा खोजेर एकीकृत बस्तीको माग गरेका थिए । तर, गाउँपालिकाले बस्ती आसपासमा सुरक्षित जग्गा नभेटेपछि पुरानै ठाउँमा यताउता सारेर बस्ती पुनर्निर्माण गरेको हो । ‘सबै बस्ती सार्न पुग्ने जग्गा कतै नभेटेपछि पहिरो रोकथाम गरेर नयाँ घर बनाइएको हो,’ मल्लले भने, ‘अब पहिलाको जस्तो घटना दोहोरिन्न । धेरै रोकथाम भइसकेको छ । अझै गर्दै छौं ।’

प्रकाशित : आश्विन २८, २०७६ ११:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×