२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

डुंगामार्फत माछा

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका ३ र ५ मा फैलिएको स्यार्पुतालमा हरेक बिहान डुंगा खियाइन्छ । त्यसरी बिहानै डुंगा खियाउनुको उद्देश्य घुम्न आउने पर्यटकलाई घुमाउन भने होइन । तालमा विगत ७ वर्षदेखि डुंगा चढेर माछा मार्ने गरिएको छ ।

डुंगामार्फत माछा

स्यार्पुतालमा माछापालन थालेदेखि स्थानीयले माछा मार्न बिहानै डुंगा खियाउने गरेका हुन् । २०६९ देखि स्यार्पुताल कृषि सहकारी संस्था लिमिटेडले माछा पाल्न थालेको हो । सहकारीका अनुसार २०७० मा २ लाख ५० हजार रुपैयाँका माछा बिक्री भएका थिए । सहकारीले बर्सेनि आम्दानी बढिरहेको जनाएको छ । सहकारीका अनुसार गत आवमा ८ लाख ३३ हजार रुपैयाँका माछा बिक्री भएका थिए । चालु आवमा ४ लाख ६२ हजार रुपैयाँमा एक स्थानीयले माछा मार्ने जिम्मा लिएका छन् ।


वर्षा सकिएसँगै जालमा बढी माछा पर्ने गरेका छन् । तालमा सिल्भर कार्प, विगहेड, कमन कार्प र ग्रास प्रजातिका माछा पालिएको सहकारीले जनाएको छ । सिल्भर कार्प र बिगहेड प्रतिकिलो २ सय ७० मा बिक्री हुन्छ भने कमन कार्प र ग्रास प्रतिकिलो ३ सय रुपैयाँमा बेच्ने गरिएको छ ।


माछा खरिदका लागि कतिपय ग्राहक तालकै छेउमा पुग्छन् । सदरमुकाम मुसीकोट र आसपासका व्यापारिक केन्द्रमा पनि माछा बिक्रीका लागि पठाइने गरिएको सहकारीका अध्यक्ष प्रकाश केसीले बताए । उनका अनुसार तालबाट स्थानीयले लामो समयदेखि आम्दानी लिइरहेका छन् । उनले प्राकृतिक तालको अवलोकनका साथै लगानी नगरेरै स्थानीयको आम्दानी बढाउन माछा पालिएको जनाए । तालमा पालिएका माछाको आम्दानी पनि सहकारीले बोनसमार्फत स्थानीयलाई वितरण गर्दै आइरहेको छ ।


स्यार्पुका माछा स्वादिला हुने भएकाले सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा माग बढिरहेको छ । युनाइटेड मिसन टु रुकुम क्लस्टरले स्यार्पुतालमा माछा उत्पादनको सम्भाव्यता अध्ययन गरी माछापालनका लागि सहयोग गरेको थियो । स्यार्पुमा उन्नत जातका माछा पाल्न थालिएपछि रैथाने माछा भने देखिन छाडेका छन् ।


‘माछापालनले आम्दानी बढाएको छ नै, तालको सौन्दर्य पनि बढेको छ,’ उनले भने, ‘पर्यटकलाई आफैं माछा मार्ने सुविधासमेत दिएका छौं ।’ अध्यक्ष केसीले ताल आसपासका क्षेत्रमा पूर्वाधार विकास हुन थालेपछि पर्यटकको संख्या पनि बढ्दै गएको जानकारी दिए ।

प्रकाशित : आश्विन २७, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?