सकियो जहाजको टिकट

कान्तिपुर संवाददाता

हुम्ला — सडक सञ्जालसँग नजोडिएको देशको एकमात्र जिल्ला हुम्लामा हवाइ यातायातको विकल्प छैन  । त्यही हवाइ उडान पनि नियमित नहुँदा दसैंमा घर आउने स्थानीय समस्यामा परेका छन्  ।

सकियो जहाजको टिकट

दसैं मान्नको लागि घर आउने हुम्लीहरू नेपालगन्ज एयरपोर्टमा अलपत्र परेका छन् । जति गर्दा पनि टिकट नपाएपछि नेपालगन्जमै बस्नुपरेको सिमकोट गाउँपालिका–७, ठेहेका समिर बोहोराले बताए । एक हप्ताको पर्खाइपछि बुधबार बल्ल सिमकोट पुगेको बोहोराले बताए ।

उनका अनुसार अध्ययन र कामको लागि काठमाडौं, नेपालगन्ज, सुर्खेतलगायत ठाउँ गएका व्यक्तिहरू टिकट नपाउँदा एक हप्तादेखि नेपालगन्ज एयरपोर्टमै बसिरहेका छन् । ‘कुर्दाकुर्दै दसैं नै गइहाल्ला भन्ने चिन्ता पो लाग्न थाल्यो,’ उनले भने, ‘दसैंमा समेत यस्तो सास्ती हुँदा हाम्रो पीडा कसैले सुन्दैनन् ।’

सिमकोट विमास्थलका निमित्त प्रमुख उजल तिवारीका अनुसार एक हप्ता अघिसम्म तारा एयरको एउटात्र जहाजले सेवा दिइरहेको थियो । अहिले ताराका साथै समिट र सीता एयर पनि हुम्ला आउन थालेका छन् । तर यात्रुको बढ्दो चापलाई धान्न सकिरहेका छैनन् । ‘दसैंको मुखमा बल्लतल्ल निजी कम्पनीका जहाजले उडान भर्न थालेका छन्,’ उनले भने, ‘तैपनि यात्रु धेरै हुँदा भनेको बेला यात्रुहरू जिल्ला पुग्न सकिरहेका छैनन् ।’

नेपालगन्ज–हुम्ला सहुलियत उडान हुने भए पनि दसैंको बेला यो उडान भएको छैन । सहुलियतमा नेपालगन्ज–हुम्ला हवाइभाडा ६ हजार १ सय रहेकोमा सामान्य भाडादर १० हजार ५ सय छ । त्यही पैसा तिरेर पनि यात्रुले टिकट पाउन नसकेका तिवारीले बताए । हुम्लाबाट सुर्खेत वा नेपालगन्जको भाडा भने करिब आधा सस्तो छ । तिवारीका अनुसार हुम्लाबाट तलतिर झर्ने यात्रुको चाप भने खासै छैन । दसैं आउनुअघि नै कर्मचारीहरू बिदा लिएर झरेकाले समस्या नभएको उनले जानकारी दिए ।

मानसरोवर यात्राको सिजनमा हुम्लामा दैनिक करिब ३० वटा उडान हुने गर्थे । अहिले दैनिक उडान तीन–चारवटा मात्र हुने गरेको छ । नागरिक समाजका बसन्त रोकायाले निजी हवाइ कम्पनीहरू व्यापारमुखी हुँदा जनताले चाडपर्वको बेला पनि दुःख पाउने गरेका बताए ।

यस्तो बेला सरकारले पनि खासै चासो नदिएको उनको भनाइ छ । ‘सरकारले आफ्नो स्वामित्वमा भएको नेपाल एयरलाइन्सको जहाजलाई उडाएको भए यो समस्या निकै कम हुन्थ्यो,’ उनले भने, ‘तर हुम्लीको दुःखमा कसैको चिन्ता र चासो छैन ।’

प्रकाशित : आश्विन १८, २०७६ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?