मजदुरी छाडेर घर

‘अरू बेला जहाँ गए पनि दसैंमा गाउँमा जमघट हुँदा रमाइलो लाग्छ, वर्षभरिको दुःख दसैंमा बिर्साउने काम हुन्छ’
विप्लव महर्जन

सल्यान — भारतका बिभिन्न ठाउँमा मजदुरीका लागि गएका पुरुषहरू दसैंको अवसरमा धमाधम घर फर्किन थालेका छन्  । यसले घरपरिवार र गाउँको माहोल रमाइलो बनेको छ  ।

मजदुरी छाडेर घर

दसैंतिहार मनाउन परदेश गएकाहरू घर फर्कन थालेपछि गाडी खचाखच भरिएर आउन थालेका छन् । गाउँमा पनि रमाइलो वातावरण बनेको छ । सल्यानका अधिकांश पुरुषहरू रोजगारीको लागि भारतका बिभिन्न ठाउँमा जाने गर्दछन् ।

६–७ महिना काम गरेपछि उनीहरू दसैंतिहारमा घर फर्किन्छन् । सिम्लामा काम गरेर फर्केका कुपिन्डेका नेत्रबहादुर रानाले गाउँका १० जनासँगै फर्किएको बताए । ‘अरु बेला जहाँ गए पनि दसैंमा गाउँमा जमघट हुँदा रमाइलो लाग्छ,’ उनले भने, ‘बर्षभरिको दुःख दसैंमा बिर्साउने काम हुन्छ ।’ तिहारपछि हिउँदे बाली लगाएर फेरि भारत फर्किने उनले बताए ।

चार महिनाअघि भारतको देहरादुन गएका चाँदेकरेन्जीका रमनलाल चलाउनेले कामको माया मारेर दसैं मनाउन घर फर्किएको बताए । ‘आउँदा–जाँदा दुःख निकै हुन्छ, तैपनि दसैंमा नआइ मन मान्दैन,’ उनले भने, ‘घर आएपछि साथीभाइसँग भेट हुन्छ, यसपाली पनि रमाइलै होला ।’

६ बर्षअघि परिवारसहित भारतको सिमला गएका ढोडचौर, राम्रीका कुलबहादुर रानाको दसैं विशेष हुनेवाला छ । लामो समयपछि घर फर्किएकोले मज्जाले दसैं मनाउने उनले बताए । ‘उता (भारतमा) दसैं–तिहार नमनाउने भएकाले पर्व आए/गएको थाहै हुँदैन,’ उनले भने, ‘अहिले गाउँमा आउँदा त माहोल निकै रमाइलो छ, यसपालिको दसैं मज्जासँग मनाउने योजा छ ।’

अशिक्षा, गरिबी र बेरोजगारी समस्याले स्थानीयलाई मजदुरी गर्न बाहिर जानुपर्ने बाध्यता छ । १५ बर्षको उमेरमा भारत जान थालेका ४० बर्षीय दीपक नेपालीले विदेशको मजदुरी जीवनबाट समय निकालेर दसैंमा घर आउँदा खुसी लाग्ने गरेको बताए ।

यद्यपि पछिल्लो समय दसैं महँगो हुँदा चिन्ता लाग्ने गरेको उनको भनाइ छ । ‘मजदुरी गरेर ल्याएको पैसाले किनमेल गर्नै सकिँदैन, दाल, चामल, चिनी र तेलको मुल्य पनि छोइनसक्नु छ,’ उनले भने, ‘तैपनि सुख, दुःख गरेर दसैं मनाउने योजना बनाएका छौं ।’ आफूजस्ता आर्थिक रुपमा बिपन्न व्यक्तिलाई दसैं मनाउन निकै सकस हुने गरेको उनले बताए ।

प्रकाशित : आश्विन १८, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?