२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

टिकट पाउनै मुस्किल

दसैंको चहलपहल
‘सुर्खेत–काठमाडौं रुटमा अग्रिम टिकट बुकिङ खुले पनि अन्यमा नखुल्दा दसैंका बेला यात्रुले टिकट पाउनै सक्दैनन्’

जाजरकोट/वीरेन्द्रनगर — कालीकोट, शुभकालीका गाउँपालिका–२ का हरिबिक्रम सिंह घर जाने टिकटका लागि सुर्खेत बसपार्कमा चार दिनदेखि लगातार धाइरहेका छन्  । सुर्खेत क्याम्पस (शिक्षा) मा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उनी डेढ वर्षपछि दसैं मनाउन घर जाने तयारीमा छन्  ।

टिकट पाउनै मुस्किल

कालीकोट, शुभकालीका गाउँपालिका–२ का हरिबिक्रम सिंह घर जाने टिकटका लागि सुर्खेत बसपार्कमा चार दिनदेखि लगातार धाइरहेका छन् । सुर्खेत क्याम्पस (शिक्षा) मा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उनी डेढ वर्षपछि दसैं मनाउन घर जाने तयारीमा छन् । तर समयमै घर जाने टिकट नपाएका कारण आफन्तलाई चाँडै भेट्ने चाहना उनको अधुरै भयो ।

‘आइतबारदेखि बसपार्क आइरहेको छु, टिकट पाइए छैन,’ उनले भने, ‘पोहोर साल दसैं मनाउन गइएन, त्यसैले अहिले चाँडै जाने योजना थियो, टिकट ढिलो भएपछि दसैंको अघिल्लो दिनमात्र घर पुगिएलाजस्तो छ ।’

हुम्ला अदानचुलीका तोरण रोकायाको पीडा पनि त्यस्तै छ । सुर्खेतमा पढ्ने भतिजोलाई लिन आएका उनले बल्लतल्ल १८ गतेको टिकट पाइएको बताए । ‘आउनेबित्तिकै फर्किनु पर्ला भनेर सोचेको थिएँ, तर भनेजस्तो भएन,’ उनले भने, ‘गाडीको टिकट पाइएन, भनसुन गरी बल्ल टिकट पाएको छु ।’

दसैंका बेला टिकट नपाएर सधैं ढिला पुग्ने गरेको यात्रुको गुनासो छ । यस्तो बेला बस व्यवसायी समितिले बस थप गर्नुपर्ने उनीहरूको भनाइ छ । बस व्यवसायीले टिकट बिक्री पनि व्यवस्थित गर्न सकेका छैनन् । सुर्खेत–काठमाडौं रुटमा अग्रिम टिकट बुकिङ खुले पनि अन्य रुटमा भने अग्रिम बुकिङ नखुल्दा दसैंको बेला टिकट पाउन निकै सास्ती हुने गरेको छ ।

सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले चाडबाडका बेला केही समस्या भए पनि व्यवस्थापन गर्न प्रयास भइरहेको बताए । ‘चाडपर्वको बेला केही ढिला त हुन्छ, तैपनि हामीसँग भएका गाडीलाई एकछिन पनि नरोकी यात्रुको चापअनुसार सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘अन्य बस व्यवसायीले पनि क्षमताअनुसार सेवा दिइरहेका छन् ।’

काठमाडौंबाट सुर्खेत आइपुग्ने यात्रुले तत्काल टिकट खोजेर बाहिरिन चाहनुले पनि यहाँका अन्य यात्रुलाई समस्या भएको उनले बताए । सुर्खेतदेखि कर्णालीका बिभिन्न जिल्लाका साथै प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा दैनिक ५ हजारसम्म यात्रु बाहिरिने गरेका यातायात व्यवसायीको भनाइ छ ।अध्यक्ष सापकोटाका अनुसार असोज २०, २१ र २२ गते गाडीहरूको ‘क्यू फ्रि’ खुला गरिनेछ । यस्तो बेला बसधनीले आफ्नो तजबिजीमा बस चलाउनेछन् । यस्तो बेला विशेषगरी दसैं नमनाउने व्यवसायीले यातायात सेवा प्रवाह गर्ने गर्दछन् ।

घर फर्किनै सास्ती
जाजरकोटमा दसैं मान्न घर फर्किनेको लर्को लागेको छ । दैनिक करिब २ हजारको संख्यामा स्थानीयवासी जिल्ला फर्किने गरेका छन् ।

सवारीसाधन सीमित हुँदा यात्रुलाई घर आउन भने निकै सास्ती हुने गरेको छ । जाजरकोट जिल्ला प्रहरी कार्यायलका डीएसपी श्यामबहादुर खत्रीले सदरमुकाम खलंगादेखि जिल्लाका बिभिन्न ठाउँमा जाने यात्रुको संख्या पनि ह्वात्तै बढेको बताए । बर्षातको बेला बन्द भएका सडक पुनः सञ्चालन नहुँदा यात्रुलाई झन् सास्ती भएको उनको भनाइ छ ।

सदरमुकामको शान्तिचौतारा, गैरखाली र थाप्लेचौरमा गाडी पर्खने यात्रुको भीड देखिन्छ । यात्रुहरू छिटो घर फर्कनको लागि महँगो भाडा तिर्नसमेत बाध्य छन् । स्थानीय शिव मल्लले रिजर्भ गर्न खोज्दासमेत गाडी नपाइने गरेको बताए । २० किलोमिटर दुरीको सडकमा ५ सय भाडा तिर्दासमेत गाडी नभेटिएको उनले गुनासो पोखे । ‘गाडी नपाइँदा दुर्गम गाउँका मान्छेहरू पैदल यात्रा गर्नुपर्ने बाध्यतामा छन्,’ उनले भने, ‘प्रहरी प्रशासनले कडाइका साथ अनगमन गरेको भए समस्या केही हदसम्म भए पनि कम हुन्थ्यो ।’

खलंगादेखि उत्तरी भेगका बारेकोट, कुशेलगायत गाउँसम्म पुग्न २/३ दिन पैदल हिँड्नुपर्छ । दसैंका लागि चाहिने चामल, चिनी, तेललगायत सामाग्री लैजान पनि समस्या हुने गरेको छ । बस सञ्चालन नहुँदा जुनीचाँदे, मजकोट, कार्कीगाउँ, ओखलपानी, पाँचकटिया, कार्कीगाउँ, सुवानाउलीलगायत गाउँका बासिन्दालाई पनि घर फर्कन थप सास्ती भएको छ ।

खलंगादेखि ग्रामीण क्षेत्र जाने मुख्य सडकहरू पाँचकाटीया, कार्कीगाउँ, स्याउली, भेरे, सिमा, दसेरा, सुवानाउली, नेटीकैना, खगेनकोट, भगवतीलगायत सडकको अवस्था खराब छ ।

ग्रामीण सडक व्यवस्थित गर्न नसक्दा बर्षेनि वर्षातपछि स्थानीय बासिन्दाले आवतजावतमा निकै सास्ती व्यहोर्नुपरेको थानबाडाका सिताराम गौतमले बताए ।जाजरकोट आउने यात्रुवाहक बस कम हुँदा नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायत ठाउँबाट फर्किनेलाई उत्तिकै सास्ती छ । बसको टिकट नपाउँदा भनेको बेला फर्किन सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । कतिपय यात्रु सहरी क्षेत्रमा अलपत्र परेका छन् ।

प्रकाशित : आश्विन १७, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?