खैराबाङमा भक्तजनको भीड

कान्तिपुर संवाददाता

सल्यान — शारदा नगरपालिका ११ मा अवस्थित धार्मिक पर्यटकीयस्थल खैराबाङ भगवती मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ  । दसैंको अवसरमा मन्दिरमा घटस्थापनादेखि मेला लाग्ने गर्छ  ।

मन्दिरमा पूजाका लागि सल्यानका विभिन्न ठाउँका साथै दाङ, नेपालगन्ज, सुर्खेत, बर्दिया, रुकुम, रोल्पा, जाजरकोटबाट समेत दर्शनार्थी आउने गर्दछन् । घटस्थापनादेखि सुरु हुने मेला नवमीसम्म चल्ने गर्छ । मन्दिर संरक्षण समितिका अध्यक्ष छविकुमार शर्माले दसैं सुरुवात भएपछि दैनिक ४०/५० गाडीमा भक्तजनहरू आउने गरेका बताए । उनका अनुसार भगवती मन्दिरमा पूजाआजा गरी बर मागेपछि सन्तान प्राप्त हुने जनविश्वास रहेको छ ।

‘मन्दिरमा भारतबाटसमेत धार्मिक पर्यटक आउने गर्दछन्,’ शर्माले भने, ‘त्यसैले खैरबाङ भगवती मन्दिरको महिला देश–विदेशसम्मै रहेको छ ।’ भगवती मन्दिरमा बोका, राँगा, हाँस, भेडा, भाले बलि चढाउने गरिन्छ । चतुर्थी, पञ्चमी, षष्टी र अष्टमीमा मात्रै मन्दिरमा करिब ८ सय बोका बलि दिइने गरेको अध्यक्ष शर्माको भनाइ छ ।


श्रद्धालुका लागि खानेबस्ने व्यवस्था छैन । यसले गर्दा दर्शनार्थीलाई सास्ती हुने गरेको छ । पछिल्लो समय खैराबाङ धार्मिक पर्यटकीयस्थलको रुपमा विकसित हुँदै गएको छ । मन्दिर संरक्षण समिति सचिव दीपक शर्माले दर्शनार्थीले मन्दिरमा चढाएको रकम र बोकाको टाउको बिक्री गरेको पैसा मन्दिरको विकासमा खर्च गर्ने योजना बनाइएको बताए । उनका अनुसार मन्दिरलाई अझ व्यवस्थित बनाउन र बाह्य पर्यटकलाई भित्र्याउन शारदा नगरपालिकाले सोलार बत्ति, खानेपानी र गाडी पार्किङको व्यवस्था गर्न थालेको छ ।

‘मन्दिरमा पूजाआजाका लागि आउने तीर्थयात्रीलाई समस्या नहोस् भनेर सुरक्षाको प्रबन्धसमेत गरेका छौं,’ उनले भने ।
किम्बदन्तीअनुसार मन्दिर आसपासमा एक सुन्दर युवती बाघमा चढेर घुम्ने गर्थिन् । एक दिन ग्वालाहरूले उनलाई देखेपछि पछ्याउँदै जाँदा उनी गुफामा छिरेर हराइन् ।

पछि गाउँलेले त्यही गुफामा मन्दिर बनाएर पूजाआजा गर्न थालेका हुन् । खैराबाङ भगवती मन्दिरलाई खड्गेश्वरी, पाटेश्वरी र भुवनेश्वरीको नामले समेत चिन्ने गरिन्छ । मन्दिरमा एक खड्ग भएकाले खड्गेश्वरी, मूर्ति राखेको ठाँउमा ठूलो प्वाल भएकाले भुवनेश्वरी र भगवती पाटे बाघमा चरेर घुम्ने भएकीले पाटेश्वरी नाम राखिएको मन्दिर संरक्षण समितिका अध्यक्ष शर्माले बताए ।

प्रकाशित : आश्विन १७, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?