मेयर–उपमेयरको चेपुवामा छायानाथ–रारा
(मुगु) — छायानाथ–रारा नगरपालिकामा मेयर र उपमेयरको आन्तरिक विवादका कारण विकास निर्माणदेखि प्रशासनिक कामकाज प्रभावित भएका छन् । विवादकै कारण गत आर्थिक बर्षमा सञ्चालित योजनाको भुक्तानीसमेत हुन सकेको छैन ।
मेयर हरिजंग शाही र उपमेयर सुन्तला रोकायाबीच जहिले पनि विवाद हुने गरेको छ । उनीहरूबीच बोलचालै बन्द छ । यसको असर विकास निर्माणमा परेको अन्य जनप्रतिनिधिहरू बताउँछन् । मेयर–उपमेयरको मनमुटावको कारण नगरपालिकाका १४ वटै वडामा गत आर्थिक बर्षमा सञ्चालित १ सय ४२ वटा योजनाको अनुगमन हुन सकेको छैन । वडा नं. २ का वडाध्यक्ष परेकराज चौलागाईँले दैनिक करिब ४०–५० जना उपभोक्ताले भुक्तानीको लागि नगरपालिका धाउने गरेका बताए । ‘कसैले पनि हलो अड्काएर गोरु चुट्ने काम गर्नु हुँदैन,’ उनले भने, ‘नगरका अगुवाले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर विवाद गर्दा विकासमा असर परेको छ ।’
उपभोक्ताहरू पनि भुक्तानी नपाउँदा आक्रोशित छन् । आजभोलि भन्दै दसैंको बेलासमेत भुक्तानी नपाएपछि मजदुर मर्कामा परेका निगागाउँका नौलासिंह रोकायाले बताए । ‘उहाँहरूबीच के विवाद छ हामीलाई थाहा छैन, तर काम गरेको पैसा नपाउँदा निकै सास्ती भएको छ ।’ उपमेयरको संयोजकत्वमा रहेको अनुगमन समितिले योजनाहरूको अनुगमन नगर्दा भुक्तानीमा समस्या भएको कार्यालयका कर्मचारी बताउँछन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले अनुगमन प्रतिवेदन पेश नभएकै कारण भुक्तानी रोकिएको बताए । उनका अनुसार असोज १ गतेको बोर्ड बैठकले अर्को अनुगमन समिति बनाई असोज १० भित्र अनुगमन प्रतिवेदन दिएर भुक्तानी प्रक्रिया सुरु गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन । उक्त बैठकको निर्णयमा उपमेयर रोकायाले सही नगरेरै बाहिरिएकी थिइन् । ‘उपमेयरज्यू नै अनुगमनमा सरिक नभएपछि अनुगमन हुने कुरै भएन,’ उनले भने, ‘विवादको कारण विकास निर्माणमा समेत परेको छ ।’
मेयर शाही पनि उपमेयरको असहयोगले काम गर्न समस्या भएको बताउँछन् । हालसम्म ३ सय ७६ वटा बोर्ड बैठक बसे पनि उपमेयर रोकायाले पाँचवटा बैठकको माइन्यूटमा मात्र सही गरेकी उनको भनाइ छ । ‘हरेक बैठकमा बस्नुहुन्छ, निर्णय भएपछि भने सही नगरेरै हिँड्नुहुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी काम गनए सकिन्छ ।’
उपमेयर रोकाया भने मेयरले आफ्नो अधिकार क्षेत्रमाथि हस्तक्षेप गर्न खोज्दा समस्या भएको बताउँछिन् । उपमेयरको संयोजकत्वमा अनुगमन समिति रहने प्रावधान रहे पनि मेयरले अर्को सदस्यको संयोजकत्वमा समिति गठन गरेको उनले बताइन् ।
प्रकाशित : आश्विन १६, २०७६ ११:३६