आफै विष सेवन गरी आरोप लगाउनेलाई जरिवाना
(रुकुम पश्चिम) — आफै विष सेवन गरेर अर्कैलाई आरोप लगाउने महिला दण्डित भएकी छिन् । आठबीसकोट नगरपालिका–४, की एक महिलाले आफै विष सेवन गरेर बिनाकारण अर्कैलाई दोष लगाएको स्वीकारेपछि उनलाई अदालतले दण्डित गरेको हो । ती महिलाले आफैले विष सेवन गरेको स्वीकारेपछि उक्त अरोपमा पक्राउ परेका व्यक्तिले भने अदालतबाट सफाई पाएका छन् ।
रुकुम जिल्ला अदालतले सानीभेरी गाउँपालिका–११, का विष्णु खड्कालाई सफाई दिएको हो । जिल्ला न्यायाधीश आत्मदेव जोशीको बिहीबारको इजलासले महिलालाई ५ हजार जरिवाना गर्दै खड्कालाई सफाई दिएको निमित्त श्रेष्तेदार लक्ष्मण विकले बताए ।
आठबीसकोट नगरपालिकामा पशु प्राविधिकका रुपमा करारमा कार्यरत खड्कामाथि ती महिलाले जबरजस्ती विष सेवन गराएर ज्यान मार्ने प्रयास गरेको आरोप लगाएर मुद्दा दर्ता गराएकी थिइन् । उनको जाहेरीका आधारमा प्रहरीले खड्कालाई गत साउन २७ गते पक्राउ गरेको थियो । घटनाको थप अनुसन्धान गर्नुपर्ने भएको भन्दै खड्कालाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको थियो । खड्काले जिल्ला अदालतबाट सफाई पाएपछि कारागार मुक्त भएका छन् ।