पञ्चेबाजा संरक्षणमा युवा

विप्लव महर्जन

(सल्यान) — जिल्लामा लोप हुँदै गइरहेका नौमति तथा पञ्चेबाजा जोगाउन स्थानीय युवाले अभियान थालेका छन्  । शारदा नगरपालिका ६, बरलाका परियार समुदायका युवा लोप हुँदै गएका बाजा संरक्षणमा जुटेका हुन्  ।

जिल्लाका ग्रामीण क्षेत्रमा समेत नौमति र पञ्चेबाजा बज्न छोडेको छ । आधुनिक बाजा तथा मोवाइलको विकासले परम्परागत बाजा लोप भएको भन्दै संरक्षण अभियान चलाइएको हो । घरेलु तथा साना उद्योग विकास समितिले अनुदानस्वरुप दिएको एक लाख ३० हजार रुपैयाँमा बाजा खरिद गरी युवा संरक्षणमा जुटेका हुन् ।

शारदा नगरपालिकाको सहयोगमा युवाले पोखराबाट ल्याइएका प्रशिक्षकमार्फत बाजा बजाउने तालिम लिएका थिए ।


युवाले ८ जनाको समूह बनाएर बाजा संरक्षण थालेका हुन् । उनीहरू औपचारिक पोशाकसहित विभिन्न सार्वजनिक कार्यक्रममा उपस्थित हुन्छन् र बाजा बजाउँछन् । कार्यक्रमका आयोजकले पारिश्रमिक नै दिएर युवालाई बोलाउन थालेपछि समूहको आम्दानी बढिरहेको छ । मौलिक संस्कृति बोकेका बाजा हराउन थालेपछि संरक्षणमा जुटेको स्थानीय दिलबहादुर परियारले बताए । ‘बाजा हराए हाम्रो कला, संस्कृति र संस्कार हराउने भएकाले संरक्षणमा जुटेका हौं,’ उनले भने, ‘विभिन्न औपचारिक कार्यक्रममा सामुहिक रुपमा बाजा बजाउदै आइरहेका छौं ।’ उनले विभिन्न समूहका बैठकमा समेत बाजाबारे जानकारी दिने आफूहरूको योजना रहेको सुनाए । उनले कसैले बाजा बजाउने सीपबारे तालिम लिन खोजे आफूहरू प्रशिक्षण दिन तयार रहेको जानकारी दिए ।


आधुनिक बाजा र संगीतका कारण परम्परागत बाजा संकटमा परेको अर्का युवा विजय नेपालीले बताए । ‘अहिलेको आधुनिक युगमा यसको के महत्व होला जस्तो लागेको थियो, बाँजा बजाउन सिकेपछि यसको महत्वबोध गरेका छौं,’ उनले भने, ‘अहिले विभिन्न औपचारिक कार्यक्रम, मेला, पर्व र प्जुाआजामा हाम्रो माग बढिरहेको छ ।’ गाउँदेखि सदरमुकामसम्म माग बढेपछि आम्दानी बढ्न थालेको उनी बताउँछन् । उनका अनुसार जिल्लाभरि शारदा नगरपालिकाको बरलामा मात्र पञ्चे र नौमती बाजाको टोली छ ।


परम्परागत कला र संस्कृतिको संरक्षणका लागि व्यवसायिक रुपमा बाजा बजाउँदै आइरहेको अर्का अभियान्ता सन्देश परियार बताउँछन् । ‘हामीले बाजा संरक्षणको सुरुवात गरेपछि स्थानीय सरकारको पनि ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘बाजासँगै विभिन्न सांस्कृतिक परम्परा जोगाउन विभिन्न अभियान सञ्चालन गर्ने समूहको योजना छ ।’

प्रकाशित : आश्विन १०, २०७६ ११:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सामाजिक विकृतिविरुद्ध प्रहरी अभियान

कान्तिपुर संवाददाता

(कालीकोट) — बालविवाह, बहुविवाह, जुवातास, महिला हिंसा, बालश्रम अन्त्य, लैंगिक विभेदलगायत सामाजिक विकृति रोक्न जिल्ला प्रहरी कार्यालयले अभियान थालेको छ  । प्रहरीले छाउपडी प्रथा, अवैध मदिरा, जातीय छुवाछुतलगायत सामाजिक विकृति अन्त्यका लागि जिल्लाभर अभियान सुरु गरेको हो  ।

सदरमुकाम मान्मसहित ९ वटै स्थानीय तह र प्रहरी चौकी रहेका वडामा जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, शिक्षक, विद्यार्थी र स्थानीयको सहभागितामा अभियान सुरु गरिएको हो । समाजमा मौलाउँदै गएका विकृति रोक्न समुदाय–प्रहरी साझेदारी अभियान सफल हुने पूर्वसांसद तुलाराज विष्टले भने ।

समाजमा मदिरा पिएर झैझगडा गर्ने, महिलामाथि हिंसा गर्ने, जुवातास खेल्ने, लागूऔषध कारोबार गर्नेविरुद्ध सबै एकजुट हुन जरुरी रहेको जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाहीले बताए । मदिरालाई व्यवस्थित नगरेसम्म अपराधका घटनामा कमी नआउने उनको भनाइ छ । जिल्लामा मदिराकै कारण ५० प्रतिशत अपराधका घटना हुने गरेको सुनाउँदै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले अवैध मदिरा बन्द गर्न अपरिहार्य रहेको जनाए । डिएसपी श्यामबाबु ओलियाले सबै प्रहरी एकाइ परिचालन गरेर अभियान सुरु गरिएको जानकारी दिए ।

प्रहरीले पहिलो चरणमा सचेतनामूलक अभियान गर्ने र अटेर गर्नेलाई कानुनी कारवाही गर्ने उनको भनाइ छ । तिलागुफा नगरपालिकाको केन्द्र गाल्जेमा पनि खल्लागाड प्रहरी चौकीको सहजीकरणमा सामाजिक विकृतिविरुद्ध अभियानको घोषणा गरिएको नगर प्रमुख रतनवहादुर शाहीले बताए । पिली, मोल्फा, सेरावाडा, बाली, नाग्म, हुल्म, सान्नीगाड, रास्कोट आरसिपी, मुम्रा, जारकोट, थिर्पु, कुमालगाउ, हाउडी, पादुमघाटलगायत बजारमा सचेतनामूलक र्‍याली निकालिएको उनले जानकारी दिए ।

जिल्लाका सबै सरोकारवालासहित गत साता रास्कोटबाट सुरु गरिएको समुदाय–प्रहरी साझेदारी अभियान गाउँ गाउँसम्म पुर्‍याइने प्रहरीको प्रतिबद्धता छ । कालीकोट प्रहरीले बालविवाह न्यूनीकरण, महिला हिंसा अन्त्य, जातीय छुवाछुत, लागूऔषध तथा कुलत मुक्त समाज बनाउन एक वर्षे कार्ययोजना निर्माण गरी बुधवार सार्वजनिक गरेको छ ।

‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नारासहित समाजिक विकृति न्यूनीकरणका लागि सरोकारवालासँग त्रैमासिक समिक्षा बैठक बस्ने, प्रत्येक महिना विद्यालय स्तरमा बालविवाह न्यूनीकरण, छाउपडी प्रथा, जातीय छुवाछुत, घरेलु हिंसा, बालबालिका विरुद्ध हुने हिंसा अन्त्य गर्न सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार सामाजिक विकृतिले पार्ने नकारात्मक असरबारे समुदायमा पुगेर जनप्रतिनिधि, राजनैतिक दल, बालक्लब, महिला समुहलगायतसँग अन्तर्क्रिया गरिनेछ । हालै गरिएको एक सर्भेक्षण अनुसार कालीकोटमा अझै पनि ५९ प्रतिशत बालविवाह छ । ५७ प्रतिशत महिला हिंसा हुने गरेको छ। गत वर्ष १५ जनाले आत्महत्या गरेका छन् ।

प्रकाशित : आश्विन १०, २०७६ ११:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×