कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्यो डेंगु र स्क्रब टाइफस संक्रमण

सुर्खेत — पछिल्लो समय सुर्खेतसहित कर्णाली प्रदेशका पहाडी जिल्लामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिएको छ  । सरकारी निकायले भने संक्रमण सामान्य भन्दै आत्तिन नपर्ने बताएका छन्  ।

बढ्यो डेंगु र स्क्रब टाइफस संक्रमण

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म डेंगुका ३१ बिरामी फेला परेका छन् । तीमध्ये एकजनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ ।

निर्देशनालयका अधिकृत श्यामलाल आचार्यका अनुसार सबैभन्दा बढी सुर्खेतमा १९ जनामा डेंगु भेटिएको छ । सल्यान, कालीकोट, दैलेख र रुकुम पश्चिममा ३/३ बिरामी भेटएको उनले बताए । ‘हामीले सावधानी अपनाइरहेका छौं, रोग पहिचान हुनेबित्तिकै उपचारमा कमी हुँदैन,’ उनले भने, ‘प्रदेशका सबै स्वास्थ्य निकायलाई डेंगुबारे उच्च सतर्कता अपनाउन भनिएको छ ।’

पछिल्लो समय डेंगुसँगै स्क्रब टाइफसको संक्रमण पनि देखापरेको छ । विशेषगरी पश्चिम सुर्खेतबाट उपचारका लागि आउने बिरामीमा टाइफस देखिएको चिकित्सकको भनाइ छ । वीरेन्द्रनगरस्थित बालरोग अस्पतालका डा. नवराज केसीले पछिल्लो केही दिनयता स्क्रब टाइफस करिब २ दर्जन बालबालिकामा देखिएको बताए । ‘पश्चिमतिर स्क्रब टाइफसको संक्रमण अलि बढी नै भएजस्तो लागेको छ, बेलैमा रोगको पहिचान नहुँदा बालबालिका सिथिल अवस्थामा अस्पताल पुग्छन्,’ उनले भने, ‘समस्या सानो भए पनि ढिलाइले निकै जटिल बनाइसकेको हुन्छ, धन्न उपचारपछि निको भएर घर फर्किएका छन् ।’

स्क्रब टाइफसको संक्रमण सरकारी निकायको जानकारीमा भने निकै कम छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म प्रदेशभरि ७ जनामा मात्र स्क्रब टाइफस देखापरेको छ । पञ्चपुरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले स्क्रब टाइफसका बिरामी भेटिएकोबारे अहिलेसम्म आधिकारिक जानकारी स्वास्थ्य संस्थाबाट प्राप्त नभएको बताए । ‘ज्वरोका बिरामी त देखिन्छन्, तिनीहरूमा स्क्रब टाइफस नै हो भन्ने पुष्टि भएको छैन,’ उनले भने, ‘स्वास्थ्य संस्थाहरूले पनि यसबारे रिपोर्टिङ गरेका छैनन् ।’ मुसाबाट सर्ने स्क्रब टाइफसको उपचार सामान्य भए पनि पहिचानमा ढिलाइ हुँदा समस्या देखिने गरेको उनले बताए ।

प्रकाशित : आश्विन ८, २०७६ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?