रारामा घुम्ने मौसम सुरु : बढ्दै पर्यटक

तालमा सयर गर्ने र आसपासका गाउँ घुम्ने पर्यटक बढेसँगै डुंगा र घोडा व्यवसायी पनि व्यस्त बन्न थाले
राजबहादुर शाही

(मुगु) — मौसममा सुधार आएपछि रारा घुम्ने मौसम सुरु भएको छ । नाग्मा–गमगढी सडक सञ्चालन भएसँगै रारा आउने पर्यटक बढ्न थालेका हुन् । 

रारामा घुम्ने मौसम सुरु : बढ्दै पर्यटक

असारदेखि सुनसान बनेको रारामा मानवीय चहलपहल बढ्दै गएको छ । डाँफे गेस्ट हाउस, भिलेज हेरिटेज रिसोर्ट, माझघट्ट होमस्टेलगायतमा पर्यटक भरिभराउ हुन थालेका छन् । दैनिक करिब २० आन्तरिक पर्यटकले होटेल बुक गर्न थालेको भिलेज हेरिटेज रिसोर्टका प्रबन्धक दीपक रावतले बताए । उनका अनुसार २ महिनासम्म खाली रहेका कोठाहरू पर्यटकले भरिन थालेका छन् ।


तालमा सयर गर्ने र आसपासका गाउँ घुम्ने पर्यटक बढेपछि डुंगा र घोडा व्यवसायी पनि व्यस्त बन्न थालेका छन् । पर्यटकलाई घुमाउन स्थानीयले करिब र्२ सय घोडा रारा क्षेत्रमा ल्याउने गरेका छन् । मुर्मा, झयारी, पिना, कोटीलालगायत गाउँका स्थानीय पर्यटकको स्वागतका लागि व्यस्त बन्न थालेको प्रबन्धक रावतको भनाइ छ ।


असोज र कात्तिकमा रारा घुमफिरका लागि आउने पर्यटकको चाप बढी हुन्छ । खुला आकास, हरियाली वातावरण र समयानुकूल मौसम हुने भएकाले रारा घुम्न यो मौसम उपयुक्त मानिएको हो । अहिले रारा घुम्न आउने पर्यटकले रुखबाटै टिपेर स्याउ खान सक्छन् । ताल घुम्ने सहजताका लागि २ रबरका डुंगा थपिएपछि डुंगाको संख्या ४ पुगेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।


दसैं तिहारलगायत चाडपर्वको बिदाको सदुपयोग गरी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेको निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए । उनका अनुसार पर्यटकको सुविधाका लागि यस वर्ष केही पूर्वाधार थप गरिएको छ । यस वर्ष रारा क्षेत्रमा मचान, सार्वजनिक शौचालय र सूचना केन्द्र थप गरिएको उनले जानकारी दिए । रारामा नियमित सरसफाइको व्यवस्थासमेत गरिएको उनी बताउँछन् । ‘सार्वजनिक बिदा पनि २ महिनाको समयमा धेरै हुने गरेकाले पर्यटक यो मौसममा रारा आउन रुचाउँछन्,’ उनले भने, ‘पर्यटकको संख्या बढ्दै गएपछि रारामा रौनकता थपिएको छ ।’ पर्यटकको आगमन बढेपछि रारा विमानस्थलमा तारा, गोमा र सीता एयरलाइन्सको दैनिक ६ देखि ८ वटासम्म उडान गर्दै आएका छन् । सबैजसो उडानमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको एयरलाइन्सका कर्मचारी बताउँछन् । मोटरसाइकल, जिपलगायत निजी सवारी साधनमा रारा आउनेको संख्यासमेत बढिरहेको छ ।


रारा घुमफिर गर्न आउने पाहुनाको लागि मुर्माटप क्षेत्रलाई थप व्यवस्थित गराइएको छ । रारादेखि करिब २ घण्टा उकालो हिँडेर आसपासका क्षेत्रको दृश्यावलोकनका लागि पर्यटक मुर्माटप पुग्ने गर्छन् । पर्यटकहरू जंगलको बाटो हुँदै चरा, वन्यजन्तु र वनजंगलको अवलोकन गर्न मुर्माटप जाने गरेका हुन् । मुर्माटप जाने पर्यटकका लागि स्थानीयले घोडाको व्यवस्था गरेका छन् । मुर्माटप अवलोकनका लागि विहान ७ देखि दिउँसो २ बजेसम्मको समय उपयुक्त हुने अधिकृत भण्डारीले जनाए ।


स्थानीय बिर्ख रोकायाका अनुसार पर्यटकले गाउँबाट सिमी, आलु, फापर, स्याउलगायत उत्पादन कोसेलीका रुपमा लैजाने गरेका छन् । मुर्माटपमा स्थानीयले आधा दर्जन खाजा/नास्ता पसल सञ्चालनमा ल्याएको उनले जानकारी दिए । मुर्मा पुगेपछि शैपाल हिमाल, बाजुरा, अछाम, हुम्ला, कालिकोटलगायत जिल्लाको दृष्यावलोकन गर्न पाइने उनले जनाए । ‘मुर्माबाट रारा तालको पुरै दृश्य देख्न सकिन्छ,’ उनले भने, ‘छायाँनाथ, ऋणीमोक्षलगायत तीर्थस्थल अवलोकन गर्नका लागि पनि मुर्मा उपयुक्त ठाउँ हो ।’

प्रकाशित : आश्विन ७, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?