कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्यो युवा आकर्षण

व्यावसायिक भैंसीपालन
निर्वाहमुखी भैंसीपालन गरिरहेका किसानका गोठमा भैंसी थपिने क्रम बढ्यो
विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका ५, रातामाटाका ६० वर्षीय लोकेन्द्रबहादुर श्रेष्ठको गोठमा ७ भैंसी छन् । ३ दुहुना भैंसीबाट दैनिक २२ लिटर दूध उत्पादन गर्दै आएका उनले मासिक ४५ हजार रुपैयाँ आम्दानी गर्छन् । स्थानीय बजारमा दूधको माग बढ्दै गएपछि उनकै छिमेकी फत्तेजंग घर्तीले ५ भैंसी पालेका छन् । उनको आम्दानी पनि मासिक २० हजारभन्दा बढी छ ।

बढ्यो युवा आकर्षण

माग र मूल्य बढ्दै गएपछि रातामाटाका किसान व्यावसायिक भैंसीपालनतर्फ आकर्षित भएका हुन् । घर्तीले भैंसीपालनमार्फत ६ जनाको परिवार सजिलै पाल्दै आएको जनाए । ‘भाउ बढ्दा आम्दानी बर्सेनि बढिरहेको छ, घर खर्च चलाएर मासिक बचतसमेत गर्दै आइरहेको छु,’ उनले भने, ‘बजारको समस्या नभएकाले व्यवसायमा हौसला मिलिरहेको छ ।’ उनले दुई दुहुना भैंसीबाट १२ लिटर दूध दिनहुँ उत्पादन गरिरहेको जानकारी दिए ।


बालकृष्ण यरीको गोठमा ५ भैसी छन् । भर्खरै व्यवसाय सुरु गरेका उनले दैनिक १० लिटर दूध बिक्री गरी मासिक १८ हजार रुपैयाँ आम्दानी गरिरहेको जानकारी दिए । रातामाटाका २३ घरमा अहिले व्यावसायिक भैंसीपालन भइरहेको छ । निर्वाहमुखी भैंसीपालन गरिरहेका किसानका गोठमा भैंसी थपिने क्रम बढिरहेको छ । रातामाटास्थित छहरेखोला कृषि कम्पनी प्रालिमार्फत दूधको बजारीकरण भइरहेको हो । भैंसीपालन बढेसँगै किसान व्यावसायिक घाँस उत्पादनमा पनि जुटेका छन् ।


श्रेष्ठले व्यावसायिक भैंसीपालनमार्फत किसानको जीवनस्तर उकासिएको जनाए । अहिले सबै किसानको दूध मासिक ६० रुपैयाँ प्रतिलिटरका दरले बिक्री भइरहेको उनले जानकारी दिए । उनको २ भैंसी यसै वर्ष ब्याउने क्रममा छन् । गोठका सबै भैंसीले दूध दिन थालेपछि आम्दानी दुईगुणा बढ्ने श्रेष्ठ बताउँछन् । ‘दशकअघिसम्म जीविकोपार्जनका लागि भारतका विभिन्न ठाउँमा मजदुरी गर्न जाने कृषक आत्मनिर्भर बन्दै गएका छौं,’ उनले भने, ‘व्यावसायिक भैंसीपालनले केही किसान सदरमुकाम र जिल्लाबाहिर घरघडेरी जोड्न सफल भएका छौं ।’ श्रेष्ठले गोठ सुधार गरेपछि गाउँघर सफा बन्दै गएको सुनाए ।


रातामाटा छहरेखोला कृषि कम्पनी अध्यक्षसमेत रहेका घर्तीले व्यावसायिक पालन गरिरहेका भैंसीको बिमासमेत गरिएकाले उत्साह मिलेको बताए । उनका अनुसार भैंसीगोठको सुधार गरी व्यावसायिक बनाउनेको संख्या आसपासका गाउँमा समेत बढिरहेको छ । व्यावसायिक भैंसीपालन गरिरहेका परिवारका नाममा कम्पनीमा १/१ लाख रुपैयाँको सेयरसमेत रहेको उनको भनाइ छ । ‘कम्पोस्ट मल उत्पादन गरी खेतीमा समेत सहयोग पुगेको छ,’ उनले भने, ‘केही किसान व्यावसायिक तरकारी खेती गर्ने मनसायमा पुगेका छौं ।’ उनले गत वर्षदेखि गाउँमा रासायनिक मल भित्रन छोडेको सुनाए । किसानले केही रकम घरायसी प्रयोजनमा खर्च गर्छन् भने केही रकम कम्पनीमा नियमित बचत गर्दै आइरहेका छन् ।


राष्ट्रिय कृषि विकास कम्पनी प्रालिका प्रमुख किरण शाहीले छिट्टै गाउँमा ५० भैंसी थप्ने योजना बनाइएको जानकारी दिए । ‘किसानले भैंसीपालनलाई व्यावसायिक बनाएपछि गाउँ नजिकै डेरी उद्योगसमेत सञ्चालन गरेका छौं,’ उनले भने, ‘कम्पनीको सहजीकरणमा कम्पोस्ट मलको बजारीकरण भइरहेको छ, अर्ग्यानिक खेतीको लहर बढेको छ ।’

उनले व्यावसायिक भैंसीपालनले युवालाई विदेश जानबाट रोकेको जानकारी दिए । उनका अनुसार पढेलेखा युवासमेत भैंसीपालनमा आकर्षित भइरहेका छन् । उनले विभिन्न सरकारी निकायबाट अनुदान माग गरी गाउँलाई भैंसीपालन पकेट क्षेत्रका रूपमा विकास गर्न खोजिएको बताए । रातामाटाका अधिकांश किसानले मुर्राजातका भैंसीपालनमा जोड दिइरहेका छन् । रातामाटामा पछिल्लो समय पशुपालनसँगै खेतीलाई व्यावसायिक बनाउने क्रम बढिरहेको छ ।

प्रकाशित : आश्विन ६, २०७६ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?