सांसदले ल्याए औषधि

जाजरकोट — औषधि अभाव भएको दुई महिनापछि जाजरकोट अस्पतालमा औषधि पुगेको छ । यहाँबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभाका सांसदयद्वय गणेशप्रसाद सिंह र कृष्णा शाह औषधि बोकेरै अस्पताल आएका छन् । अस्पतालमा औषधि अभाव भई बिरामीको उपचारमा समस्या भएको भन्ने गुनासो बढेपछि आफैंले लिएर आएको उनीहरूले बताए ।

औषधि शुक्रबार अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेत र अस्पतालका प्रमुख डा. केशर कार्कीलाई शुक्रबार हस्तान्तरण गरियो । औषधि अभावमा अस्पतालले दैनिक प्रवाह गर्ने स्वास्थ्य सेवालाई प्रभावित हुन नदिन औषधिको गाडीसहित जिल्ला अस्पताल पुगेको सांसद शाहले बताइन् । उनका अनुसार सामाजिक विकास मन्त्रालयको आपूर्ति महाशाखाबाट २४ प्रकारका अत्यावश्यक औषधि र अन्य ९ प्रकारका सामग्री ल्याएर अस्पताललाई हस्तान्तरण गरिएको हो । सरकारले नि:शुल्क उपलब्ध गराउने सामान्य रोगका औषधि पनि अस्पतालमा पाइन छाडेपछि स्थानीय बासिन्दा आक्रोशित बनेका थिए । औषधि अभावमा दिनहुँ भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकीलगायत बिरामीको उपचारमा समस्या भएको थियो । सिटामोलसमेत अस्पतालमा नभएपछि बिरामीले निजी मेडिकलमा किन्न बाध्य थिए ।


अस्पतालले चालु आर्थिक वर्ष सुरु भएको दुई महिना बित्दासमेत औषधि खरिद नगर्दा अभाव भएको हो । औषधि अस्पतालमा आएपछि बिरामीको उपचारमा सहज भएको डा. कार्कीले बताए । नियमित कार्यक्रमको औषधि खरिदका लागि बजेट निकासा भइसकेको भए पनि लेखापाल नहुँदा खरिद गर्न नपाएको उनको भनाइ छ । अस्पतालमा दुई वर्षदेखि लेखापाल छैनन् । कर्मचारी नभएकाले लेखा ब्यवस्थापन भद्रगोल छ ।

प्रकाशित : आश्विन ५, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?