१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जनप्रतिनिधि पुगे घरदैलोमै

तृप्ति शाही

(बैतडी) — पाटन नगरपालिका ९ का जनतिनिधिहरू घरदैलो अभियानमा जुटेका छन् । वडाका बासिन्दाका समस्या तथा गुनासा सुन्न वडाध्यक्षसहित सबै प्रतिनिधिहरू गाउँघरमा पुगेर घरदैलो अभियान सुरु गरेका हुन् ।

भदौ दोस्रो सातादेखि उनीहरूले घरदैलो सुरु गरेका हुन् । ‘गाउँलेहरूका समस्या बुझ्न र उनीहरूका गुनासा सुनेर उचित नीति तथा योजना बनाउँछौं,’ वडाध्यक्ष लोकबहादुर भण्डारीले भने, ‘सर्वसाधारणको घरमै बास बसेर छलफल गर्छौं ।’ निर्वाचित भइसकेपछि वडाका बासिन्दाको अनुभव, उनीहरूका दु:ख, गाउँघरको अवस्थाबारे छलफल गर्ने गरेको उनले बताए । ‘चुनावको बेला आफूहरूले गरेका वाचाबारे पनि समीक्षा गर्छौं,’ उनले भने, ‘कति पूरा भए कति बाँकी छन् भन्नेमा जनताका धारणा सुन्छौं ।’


वडाले हालसम्म गरेका कार्य, आगामी कार्ययोजनाबारे लक्षित वर्गसँग प्रत्यक्ष अनुभव आदानप्रदान गरिरहेको उनले बताए । साथै वडामा आएको बजेट र योजना कार्यान्वयको अवस्थाबारे पनि छलफल गर्ने गरिएको उनी बताउँछन् । यस क्रममा गाउँघरमा आफन्तबीच भए गरेका ससाना विवादहरूको समाधान गर्ने गरिएको पनि उनले बताए । यसबाट सर्वसाधारणका समस्या, गुनासा नजिकैबाट सुन्ने काम भइरहेको वडाध्यक्ष भण्डारीको भनाइ छ ।

वडाको कामले वडाबासी खुसी भएका वडासदस्य रामसिंह भाटले बताए । उनले भने, ‘जनप्रतिनिधिप्रति सर्वसाधारणले अपनत्व राख्छन् । गुनासाहरू पनि सुनाउँछन् ।’ अहिलेसम्म वडाका गैराखान, हुक्केडाँडा, सल्लेबासालगायतका ७ टोलमा भेटघाट गरिसकेको उनले बताए ।


बाँकी क्षेत्रमा जाने तयारी भइरहेको उनले बताए ।


चुनावी अभियान जस्तै गरी उनीहरू घरदैलोमा पुग्दा सर्वसाधारण पनि हौसिएका छन् । भोट मागिसकेपछि प्राय: नेताहरूलाई भेट्नै मुस्किल पर्ने गर्थ्यो । अहिले जनप्रतिनिधिहरू आफैं भेट्न घरदैलोमै आएकामा स्थानीय मानसिंह भाटले खुसी व्यक्त गरे । उनले भने, ‘यो असल प्रयास हो । अरूले गरेका छैनन् ।’ घरदैलो गर्ने जनप्रतिनिधिको कामलाई धेरैले सम्मान गरेको अर्का स्थानीय चन्द्रदेव भट्ट बताउँछन् ।

प्रकाशित : आश्विन ४, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?