लघुवित्तको चर्को ब्याज : किस्ता तिर्नै धौ–धौ

जाजरकोट — होटेल चलाउँदै आएकी बारेकोट गाउपालिका १, धौलाकोटकी एलिना बोहरालाई मासिक २६ हजार रुपैयाँ किस्ता तिर्न धौधौ परेको छ । उनले ४ वटा लघुवित्तबाट साढे १८ प्रतिशत ब्याज तिर्नेगरी ६ लाख रुपैयाँ ऋण लिएकी छिन् । उनलाई प्रत्येक महिनाको निर्धन लघुवित्तमा ५ हजार २ सय, ज्योति लघुवित्तमा ६ हजार, एनआइसी एसियामा १० हजार ६ सय र किसान माइक्रोफाइनान्समा ५ हजार रुपैयाँ किस्ता तिर्नुपर्छ । 

त्यस्तै भेरी नगरपालिका १३ की संगिता रोकायलाई मासिक ३९ हजार ५ सय किस्ता तिर्न हैरान छ । संगिताको पनि १९ प्रतिशतसम्म ब्याज दिनेगरी ५ लघुवित्तबाट ७ लाख ऋण छ । जिल्लामा लघुवित्तलाई चर्को ब्याज तिरेर ऋण लिनेको संख्या ८ हजार नाघेको छ । लघुवित्तबाट लिएको ऋणले व्यवसाय गरेर आयस्रोत बढाउने उद्देश्य राखेका स्थानीयलाई चर्को ब्याजको सन्त्रास भएको छ । लघुवित्तले मनोमानी ब्यादर लिँदा ऋणी मारमा परेका हुन् ।

समूहमा रहेका ऋणीले समयमा किस्ता र ब्याज नबुझाएपछि लघुवित्तले मानसिक तनाव दिनुको साथै घर, जग्गासमेत लिलाम गर्न थालेका छन् । लघुवित्तले ऋणीका घरमा भएका बाख्रा, कुखुरालगायत पशुचौपाया र अन्य जिन्सीबाट असुली गर्न थालेपछि स्थानीय आतंकित बनेका छन् । लघुवित्तबाट लिएको ऋण पुँजीलाई परिचालन गरी आयस्रोत बढाउने उद्देश्य बोकेका स्थानीय उल्टो टाट पल्टिएका छन् ।


आर्थिक उपार्जन गर्ने र रोजगारी पाउने उद्देश्यले लिएको ऋणको ब्याज तिर्न नसक्दा टाट पल्टिएको भेरी नगरपालिका २ का टेकबहादुर ओलीले बताए । लघुवित्तका कर्मचारीले तोकेको समयमा किस्ता र ब्याज नतिर्नेलाई हप्काउने, रिसाउने, गाली गर्नेलगायत तनाव दिनुका साथै घरजग्गा र पशुचौपाया कब्जा गर्ने गरेको उनले गुनासो गरे । लघुवित्तको चर्को ब्याजका कारण उल्टो टाट पल्टिने मेसो आएको उनको भनाइ छ । ‘लघुवित्तका कर्मचारी सुरुमा सस्तो ब्याज छ, विना धितो ऋण पाइन्छ, १२/१५ जनाको समूह बनाएर ब्यत्तिगत आर्थिक उपार्जनका लागि ब्यवसाय गर्नुहोस् भन्दै गाउँगाउँ पुग्छन्,’ उनले भने, ‘ऋण लिएर किस्ता तिर्न एक दिन ढिला हुन नपाउँदै घरमै झगडा गर्न पुग्छन् ।’


जाजरकोटमा दर्जन वित्तीय संस्थाले चर्को ब्याज लगाउदा स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । गाउँका बासिन्दाले पालेको कुखुरा, खसी बाख्रा, भैंसी, तरकारी खेती, मजदुरीबाट कमाएको रकम लघुवित्तको ब्याज तथा किस्ता तिर्न नपुग्दा समस्या भएको स्थानीय अन्तु खत्रीले बताइन् । लघुवित्तको आर्थिक नियम पनि ऋणीको प्रतिकूल भएको उनको भनाइ छ । एउटा समूहमा १२/१५ जनाको सदस्य हुनुपर्ने, एउटा सदस्यले ऋण लिएर नतिरे १५ जनाकै दायित्व हुने गर्दा थप समस्या भएको उनले गुनासो गरिन् । लघुवित्त वित्तीय संस्थाले निक्षेपमा दिने र कर्जा तथा सापटमा लिने ब्याजदरमा ५/६ प्रतिशत अन्तर हुन नहुने नेपाल बैंक जाजरकोट शाखाका प्रबन्धक राजीव कार्कीले बताए । राष्ट्र बैंकले सम्बन्धित संस्थालाई कोष तथा प्रशासनिक लागतमा ६ प्रतिशत विन्दसम्म लिन पाउने व्यवस्था गरेको उनको भनाइ छ । ‘जाजरकोटमा सञ्चालित लघुवित्तले मनोमानी चर्को ब्याज लिएको गुनासो मैले पनि सुनेको छु,’ उनले भने, ‘चर्को ब्याज थाहा पाउँदा–पाउँदै लघुवित्तबाट ऋण लिएकाहरू टाट पल्टिएका छन् । लघुवित्तले जिल्लाको पुँजीलाई बाहिर लैजाने गरेको पाइएको छ ।’


प्रकाशित : आश्विन ४, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?